
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दनुवारसँगै आयोगले हरिपूर्वा नगरपालिकामा कार्यरत कार्यालय सहायक अरुण कुमार यादव उपर पनि गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालय सहायक यादवलाई १८ वर्ष उमेर नपुग्दै कार्यालय सहायक पदमा बिनादरबन्दी नियुक्ति गरेको भन्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
१८ वर्ष पूरा हुनुपर्नेमा १७ वर्ष २५ दिन मात्र उमेर भएको अवस्थामा नियुक्ति दिएको, उक्त समयमा नेपाली नागरिकता नै प्राप्त नगरेको अवस्थामा गलत लिखत तयार गरी यादवलाई स्थायी नियुक्ति भएको पत्र बनाउने, सच्याउने, केरमेट गर्ने, थपघट गर्ने कार्य गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो ।