१९ असार २०८३, शुक्रबार

‘माटो’को आठौं स्टोर सञ्चालन, किसानका उत्पादनलाई सहज प्लेटफर्म

पुस २१, २०८२
काठमाडौं
‘माटो’को आठौं स्टोर सञ्चालन, किसानका उत्पादनलाई सहज प्लेटफर्म

जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल)ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’को आठौं स्टोर तथा गोदाम ललितपुरको थैबमा स्थापना गरेको छ ।

जेएफएले किसानप्रति गरिएको प्रतिबद्धताको प्रतीकको रूपमा उनीहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

१५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रूपैयाँमा सञ्चालनमा आएको हो । यसले प्रशोधन केन्द्रको रूपमा समेत कार्य गर्ने र त्यहाँ आधुनिक मेसिनरी तथा प्रणाली जडान गरिएको जेएफएलले जनाएको छ । 

‘माटोले रासायनिक कीटनाशक, मल तथा संरक्षक पदार्थको प्रयोग नगरी उत्पादन गरिएका स्थानीय वस्तुहरूको प्रबर्द्धन गर्दै आएको छ, जसले उपभोक्तालाई शुद्धता र ताजापनले चिनिएका उत्पादन प्रदान गर्दछ,’ जेएफएलका अध्यक्ष पवनकुमार गोल्याणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला उद्यमीहरूलाई प्राथमिकता दिइने भएकाले समावेशी उद्यमशीलता र दीर्घकालीन दिगोपनलाई प्रोत्साहन गर्नेछ, यस प्लेटफर्ममार्फत् महिला उद्यमीहरूलाई समेत खरिद प्रत्याभूति प्रदान गर्नेछ ।’

यस सुविधाले साना तथा मझौला उद्यमका लागि कार्यस्थल उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्ने जेएफलले जनाएको छ । जसको कारण सम्पूर्ण मूल्य श्रृंखलामा कार्यक्षमता, प्रभावकारिता, गुणस्तर र पहुँच अभिवृद्धि गर्ने उसको भनाइ छ ।

जेएफएल नेपालको कृषि तथा वन क्षेत्रलाई रूपान्तरण र सशक्त बनाउने दीर्घकालीन प्रतिबद्धता बोकेको सार्वजनिक कम्पनी हो । राष्ट्रको हितलाई केन्द्रमा राखी दिगो विकास र समृद्धिका मूल्यमा दृढ रूपमा आधारित रही कम्पनीले आफ्नो बलियो कृषि आधारमार्फत् दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्दै आएको जनाएको छ । 

कम्पनीले उच्च मूल्यका कृषि उत्पादन तथा जैविक कृषि अभ्यासमा आधारित पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ । 

‘जेएफएलको मूल सिद्धान्त तथा सबैभन्दा पुरानो प्रतिबद्धता किसानहरूको उत्थान गर्नु र उनीहरूको उत्पादनलाई खरिद प्रत्याभूतिसहित बजारसम्म पुर्‍याउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सशक्त आपूर्ति श्रृंखला निर्माणमार्फत् कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्था, विभिन्न निजी क्षेत्रका सरोकारवाला तथा अनुसन्धान संस्थासँग सहकार्य गर्दै देशभरका किसानलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।’

कम्पनीका सम्पूर्ण लगानी दिगो विकास लक्ष्यमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेका जेएफलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्