२५ जेठ २०८३, सोमबार

नेपालमा स्पा–वेलनेस उद्योग : अनैतिक अभ्यासले पेशागत छवि ध्वस्त, सही कसरी चिन्ने ?

पुस २२, २०८२
काठमाडौं
नेपालमा स्पा–वेलनेस उद्योग : अनैतिक अभ्यासले पेशागत छवि ध्वस्त, सही कसरी चिन्ने ?
  • रामदेव महतो

पछिल्ला केही वर्षयता नेपालमा स्पा तथा वेलनेस व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ। सहरका मुख्य सडकदेखि साना गल्ली र चोक–चोकसम्म स्पा तथा मसाज सेन्टरका साइनबोर्ड सहजै देख्न सकिन्छ। शारीरिक थकान, मानसिक तनाव र अस्वस्थ जीवनशैलीबाट राहत खोज्नेहरूको संख्या बढेसँगै यो क्षेत्र धेरैको रोजाइमा पर्न थालेको हो।

आयुर्वेद, मसाज, योग, ध्यान र प्राकृतिक उपचारप्रति बढ्दो आकर्षणका कारण स्पा तथा वेलनेस व्यवसाय स्वास्थ्य प्रवर्द्धन, पर्यटन विकास र रोजगारी सिर्जनासँग प्रत्यक्ष रूपमा जोडिएको एक सम्भावनायुक्त उद्योगका रूपमा उभिएको छ। तर यही सम्भावनालाई दुरुपयोग गर्दै केही व्यक्तिहरूले स्पा र मसाजको नाममा गैरकानुनी, अनैतिक र आपराधिक गतिविधि सञ्चालन गर्न थालेपछि सम्पूर्ण क्षेत्र विवाद र नकारात्मक छविको शिकार बनेको छ।

सञ्चारमाध्यममा 'स्पामा अनैतिक गतिविधि', 'यौन धन्दा', 'यौन शोषण' र 'मानव तस्करी'जस्ता शब्दसँग जोडिएका समाचारहरू बारम्बार सार्वजनिक भैरहदा यस्ता समाचारले समाजमा गहिरो नकारात्मक प्रभाव पारेको छ। परिणामस्वरूप, सबै स्पा तथा मसाज सेन्टर एउटै हुन् भन्ने गलत धारणा फैलिएको छ, जसको प्रत्यक्ष असर इमानदारीपूर्वक व्यवसाय सञ्चालन गरिरहेका स्पा केन्द्रहरूमा परेको छ।

छोटो नाफाको लोभमा खोलिएका स्पा
छोटो समयमै ठूलो आर्थिक प्रतिफल पाइन्छ भन्ने भ्रमका कारण आधारभूत ज्ञान, तालिम र पेशागत समझबिना नै धेरै स्पा तथा मसाज सेन्टर सञ्चालनमा आएको देखिन्छ। स्थानीय तहमा सामान्य दर्ता प्रक्रियाबाट मात्र अनुमति लिएर सञ्चालन गरिएका यस्ता केन्द्रहरूले न सेवाको गुणस्तर सुनिश्चित गरेका छन्, न त उपभोक्ताको स्वास्थ्य र सुरक्षाप्रति गम्भीर देखिएका छन्। 

यस्ता स्पाहरू दीर्घकालीन सोच, पेशागत मर्यादा र सेवाको गुणस्तरभन्दा पनि छिटो पैसा कमाउने उद्देश्यमा केन्द्रित छन्। आकर्षक अफर, भ्रामक प्रचार र कहिलेकाहीँ अनैतिक गतिविधि गरेर छोटो समयमै नाफा उठाउने प्रवृत्ति बढ्दो छ। यस्तो अवस्थामा त्यहा दिने सेवाको स्तर कमजोर हुन्छ, ग्राहक गुनासो बढ्छ, वा स्थानीय तहको निगरानी कडा हुन थाल्छ, अनि यस्ता स्पाहरू ठाउँ सरेर फेरि नयाँ नाममा खुल्ने उपाय अपनाउँछन्। एक स्थानमा छवि बिग्रिएपछि अर्को स्थानमा सरेर उही अभ्यास दोहोर्‍याउने यो चक्रले नियमन प्रणालीलाई चुनौती दिएको छ।

अझ गम्भीर कुरा के छ भने नेपालमा स्पा तथा मसाज सेन्टर सञ्चालनका लागि स्पष्ट, एकीकृत र प्रभावकारी राष्ट्रिय मापदण्ड छैन। त्यस्तै, न त त्यहाँ कार्यरत जनशक्तिले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण, तालिम प्रमाणपत्र वा पेशागत योग्यता पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था पनि प्रभावकारी रूपमा लागू छ। यही कमजोरीका कारण गलत नियत भएका व्यक्ति तथा समूहले स्पा व्यवसायलाई आवरणका रूपमा प्रयोग गर्दै गैरकानुनी गतिविधि सञ्चालन गर्ने अवसर पाएका छन।

अनैतिक अभ्यासले पेशागत आकर्षण घट्दै 
मसाज थेरापी, आयुर्वेदिक उपचार र वेलनेस काउन्सेलिङ स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएका पेशा हुन्। तर केही स्पा सेन्टरहरूले ह्यान्ड सर्भिस, ह्याप्पी इन्डिङ, यौनजन्य सेवा, मसाजपछि नुहाइदिने जस्ता अनैतिक अभ्यासलाई सामान्य बनाउँदा पेशागत छवि गम्भीर रूपमा ध्वस्त भएका छन्। यसको पहिलो असर स्पामा काम गर्ने पेशागत थेरापिस्टहरूमा स्पष्ट देखिएको छ। लामो समय काम गरेका धेरै जनशक्ति प्रारम्भिक चरणमै पेशा छाड्न बाध्य भएका छन् भने नयाँ पुस्ता यस क्षेत्रमा प्रवेश गर्न हिच्किचाइरहेको छ। 'सबै स्पा उस्तै हुन्' भन्ने सोच समाजमा व्याप्त छ भने यस क्षेत्रलाई शंकाको नजरले हेरिएको छ।'स्पामा काम गर्छु' भन्नै नसक्ने अवस्था आफैंमा गम्भीर सामाजिक समस्या बनेको छ।

मानव शरीर र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील सेवा भए पनि स्पा तथा मसाज क्षेत्र क्यासिनो वा होटलजस्तै स्पष्ट राष्ट्रिय मापदण्डविहीन रहँदा सेवा गुणस्तर, उपभोक्ता सुरक्षा र उद्योगकै विश्वसनीयतामा गम्भीर प्रश्न उठ्न थालेका छन्।

 धेरैले परिवार वा समाजमा आफ्नो कामबारे स्पष्ट भन्न हिच्किचाउँछन्। परिवार र समाजबाट आउने नकारात्मक प्रतिक्रिया थेरापिस्टहरूको पेशागत आत्मसम्मानमा चोट पुर्‍याइरहेको छ। यस्ता अनैतिक र गलत अभ्यासका कारण यी पेशाहरूलाई समाजले नकारात्मक रूपमा हेर्न थालेपछि यस क्षेत्रमा जनशक्ति आकर्षण न्यून हुँदै गएको छ।

थेरापिस्ट पाउन कठिन, विदेश पलायनको बढ्दो खतरा
नयाँ स्पा खुल्ने क्रम बढे पनि अनुभवी र तालिमप्राप्त थेरापिस्ट पाउन दिनप्रतिदिन कठिन बन्दै गएको छ। धेरै स्पामा नयाँ जनशक्ति तालिममै सीमित छन् भने अनुभवी थेरापिस्ट केही समयमै विदेश जाने तयारीमा देखिन्छन्। माग बढिरहँदा पनि दक्ष थेरापिस्ट पाउन कठिन हुँदै गएको अवस्था गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ। 

यसको प्रमुख कारणमध्ये एक हो—दक्ष जनशक्तिको तीव्र विदेश पलायन। खाडी मुलुक, दक्षिण–पूर्वी एसिया र युरोपका स्पा तथा वेलनेस सेन्टरहरूमा नेपाली थेरापिस्टको माग बढ्दो छ। त्यहाँ निश्चित करार, राम्रो तलब, सामाजिक सम्मान र सुरक्षित कार्य वातावरण पाइने भएकाले थेरापिस्टहरू विदेश रोज्ने गरेका छन्। 

विदेश पलायनले एकातिर व्यक्तिगत आर्थिक अवस्था सुधार गरे पनि देशभित्र भने गम्भीर जनशक्ति संकट सिर्जना गरिरहेको छ। इमानदार रूपमा सञ्चालन भइरहेका स्पा तथा वेलनेस केन्द्रहरू योग्य थेरापिस्ट नपाउँदा सेवा गुणस्तरमा असर परेको छ। 

कतिपय व्यवसायले बाध्यतावश अनुभवहीन वा अल्प तालिम प्राप्त जनशक्ति प्रयोग गर्नु परेको अवस्था पनि देखिन्छ, जसले ग्राहकको विश्वासमा समेत असर पुर्‍याइरहेको छ।

शारीरिक स्पर्श र पेशागत मर्यादाको सीमा
स्पा थेरापीमा शारीरिक स्पर्श अनिवार्य तत्व हो। शारीरिक स्पर्श बिना स्पा उपचार सम्भव हुँदैन। मसाज, अरोमा थेरापी, वा बडी थेरापी जस्ता सेवाहरूमा थेरापिस्टले ग्राहकको शरीरमा प्रत्यक्ष स्पर्श गरेर काम गर्नुपर्छ। 

यही कारण यो सेवा स्वाभाविक रूपमा अत्यन्त संवेदनशील प्रकृतिको सेवा हो। यसमा पेशागत सीमाको सम्मान अत्यन्त जरुरी हुन्छ भने व्यावसायिक आचरणको मर्यादा, नैतिकता र विश्वास अत्यन्त महत्वपूर्ण हुन्छ।

ग्राहक र थेरापिस्टबीचको सम्बन्ध केवल विश्वास र पेशागत आचारसंहितामा आधारित हुनुपर्छ। ग्राहकले आफू सुरक्षित, सम्मानित र सहज महसुस गर्नुपर्छ भने थेरापिस्टले आफ्नो व्यवहार, हाउभाउ, भाषा र गतिविधि सधैं पेशागत सीमाभित्र राख्नुपर्छ। कपडा, टावल वा ड्रेपिङ प्रणालीको सही प्रयोगले ग्राहकको गोपनीयता जोगाउने र सेवा वातावरणलाई सुरक्षित बनाउने काम गर्छ।

तर, यथार्थमा कतिपय स्पा र मसाज सेन्टरहरूले यस्ता नैतिक सीमाहरू तोड्ने कार्य गरेका छन्। 'ह्यापी इन्डिङ मसाज' जस्ता गैरकानुनी अभ्यासहरूले स्पा उद्योगकै साखमा दाग लागेको छ। यसले न केवल ग्राहकको विश्वास घटाएको छ, बल्कि इमानदार रूपमा पेशागत सेवा दिइरहेका स्पा तथा थेरापिस्टहरू पनि शंकाको घेरामा परेका छन्। यस्ता अव्यवसायिक गतिविधिले स्पा थेरापीलाई उपचारभन्दा गलत दृष्टिकोणबाट हेर्ने प्रवृत्ति बढाएको छ, जसले सम्पूर्ण वेलनेस उद्योगलाई नकारात्मक असर पुर्‍याएको छ।

स्पा मसाजमा कडा नियमनको खाचो
स्पा तथा वेलनेस क्षेत्रलाई स्वास्थ्य, पर्यटन र रोजगारीको बलियो आधार बनाउने हो भने सरकारले स्पा तथा मसाज व्यवसायका लागि स्पष्ट कानुनी मापदण्ड तय गर्नुपर्छ। दर्ता प्रक्रिया, थेरापिस्टको न्यूनतम तालिम तथा प्रमाणपत्र, सेवा दिने क्रममा पालना गर्नुपर्ने आचारसंहिता र नियमित अनुगमन अनिवार्य हुनुपर्छ। 

स्थानीय तह, पर्यटन निकाय र सम्बन्धित संघ–संस्थाबीच समन्वय गरी अवैध गतिविधिमा संलग्न केन्द्रहरूलाई कडा कारबाही गर्न जरुरी छ। नेपालमा क्यासिनो सञ्चालन गर्न कानुनले कडा र स्पष्ट मापदण्ड तोकेको छ। 
पूँजी, पूर्वाधार, सुरक्षा, लाइसेन्स, नियमित अनुगमन—सबै पक्षमा निश्चित नियम लागू गरिएको छ। क्यासिनो, होटल वा स्वास्थ्य क्षेत्रमा स्पष्ट नियम भए जस्तै प्रत्यक्ष रूपमा मानव शरीर र स्वास्थ्यसँग जोडिएको स्पा तथा मसाज क्षेत्रका लागि एकीकृत राष्ट्रिय मापदण्ड हुनु अत्यन्त जरुरी छ। 
सिंगापुर, थाइल्याण्ड र जापान जस्ता देशहरूमा स्पा र मसाज उद्योगलाई स्वास्थ्य र वेलनेस क्षेत्रको रूपमा कडा नियमनसहित सञ्चालन गरे जस्तै नेपालमा पनि गर्नु आवश्क छ। यस्तो नियमनले सेवा गुणस्तर बढाउने छ र उद्योगलाई थप विश्वासिलो बनाउने छ। इमानदार व्यवसायी र पेशागत थेरापिस्टको संरक्षण र सामाजिक सम्मान सुनिश्चित नगरी यो क्षेत्रको दीर्घकालीन विकास सम्भव छैन।

स्पा छनोट गर्दा ध्यान दिनु पर्ने कुरा
बाहिरबाट हेर्दा अधिकांश मसाज पार्लरहरू उस्तै देखिन्छन्, जसका कारण कुन स्पा राम्रो हो र कुन गैरकानुनी गतिविधिमा संलग्न छ भन्ने कुरा छुट्याउन आम नागरिकका लागि कठिन हुन सक्छ। यस्ता अवस्थालाई मध्यनजर गर्दै, केही महत्वपूर्ण संकेतहरूको जानकारी हुनु अत्यन्त आवश्यक छ। यी संकेतहरूले कर्मचारी, सेवाग्राही र समाजलाई समयमै सचेत गराउन सक्छन्।

गलत स्पा तथा मसाज सेन्टरको पहिचान गर्ने पहिलो संकेत यसको प्रचार–प्रसार शैली हो। अश्लील, भ्रामक वा यौनजन्य संकेत दिने विज्ञापन, थेरापी वा स्वास्थ्य सेवासँग कुनै सम्बन्ध नभएका तस्वीर वा भिडियो प्रयोग गरिनु गम्भीर शंका पैदा गर्ने आधार हुन्। फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाल प्लेटफर्ममा लाइभ स्ट्रिमिङ वा भिडियोमार्फत् अस्वाभाविक व्यवहार प्रदर्शन गर्नु पनि पेशागत स्पा संस्कृति विपरीत हो। साथै, कुनै अनलाइन उपस्थिति नै नहुनु वा समीक्षा (रिभ्यु) पूर्ण रूपमा नदेखिनु पनि विश्वसनीयतामाथि प्रश्न उठाउने कारण हुन सक्छ।

सेवा संरचना र मूल्य निर्धारणबाट पनि धेरै कुरा बुझ्न सकिन्छ। सेवा सूची अस्पष्ट हुनु, 'सबै प्रकारका सेवा' जस्ता शब्द प्रयोग गर्नु, अत्यधिक सस्तो मूल्य वा सौदाबाजीको प्रस्ताव गर्नु वास्तविक स्पा सेवाको मान्यतासँग मेल खाँदैन। पेशागत स्पामा मूल्यभन्दा गुणस्तर, तालिम र स्वच्छतालाई प्राथमिकता दिएको दिएको हुन्छ।

स्पा तथा मसाज सेन्टरको भौतिक वातावरण पनि महत्त्वपूर्ण संकेत हो। फोहोर कोठा, प्रयोग भइसकेका तौलिया पुनः प्रयोग गर्नु, दुर्गन्ध आउनु, अव्यवस्थित वा अस्वच्छ उपकरण प्रयोग हुनु स्वास्थ्यका लागि जोखिमपूर्ण मात्र होइन, गलत सञ्चालनको स्पष्ट चिन्ह हो। ढोका भित्रबाट बन्द गर्ने व्यवस्था, अत्यधिक गोपनीयता वा असहज वातावरणले पनि शंका थप गहिरो बनाउँछ।

थेरापिस्टको आचरण र पहिरनले पेशागत स्तर झल्काउँछ। अत्यन्तै कम कपडा लगाउनु, स्पा युनिफर्म नहुनु, नङ अत्यन्त लामो हुनु, औँठी, चुरा, घडी जस्ता गहना लगाएर मालिस गर्नु, उपचारका क्रममा फोनमा कुरा गर्नु वा मेसेज गर्दै रहनु सबै पेशागत मर्यादाविपरीत हुन्। 
यस्ता व्यवहारले सेवाको उद्देश्यप्रति नै प्रश्न खडा गर्छ। सही स्पा सेवामा ग्राहकको स्वास्थ्यलाई केन्द्रमा राखिन्छ। इन्टेक फारम वा स्वास्थ्य विवरण नलिनु, एलर्जी, चोटपटक वा स्वास्थ्य अवस्थाबारे नसोध्नु गैरजिम्मेवार अभ्यास हो। 
त्यस्तै, दर्ता प्रमाणपत्र देखिने ठाउँमा नराख्नु, सञ्चालन समय अनियमित हुनु, सामाजिक छवि र सार्वजनिक प्रतिक्रिया नकारात्मक हुनु पनि गलत स्पा चिन्ने महत्वपूर्ण आधारहरू हुन्।

आर्थिक पारदर्शिताको अभाव अर्को गम्भीर समस्या हो। केवल नगद मात्र स्वीकार गर्नु, बिल दिन अस्वीकार गर्नु, भुक्तानीको कुनै अभिलेख नराख्नु वा डिजिटल भुक्तानीबाट टाढा रहनु अवैध कारोबारको संकेत हुन सक्छ। वैध स्पा तथा वेलनेस सेन्टरले बिलिङ प्रणाली, कर रेकर्ड र कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्छ।

स्पा तथा मसाज सेवा स्वास्थ्य, विश्राम र उपचारका लागि हो—अनैतिक वा अवैध गतिविधिका लागि होइन। ग्राहक, सञ्चारमाध्यम र सरोकारवाला निकाय सबै सचेत भई यी संकेतहरू बुझ्न सके मात्र पेशागत स्पा उद्योगको मर्यादा जोगिन सक्छ र समाजमा सुरक्षित, विश्वसनीय तथा सम्मानित वेलनेस संस्कृतिको विकास सम्भव हुन्छ।

- महतो स्पा संघ नेपालका सचिव हुन् । 

salt training

कमेन्ट गर्नुहोस्