२८ जेठ २०८३, बिहीबार
संगठनात्मक संख्या अदलबदल

प्रहरीमा दरबन्दी हेरफेर: सिंहदरबार गणमा एसपीको नेतृत्व, सम्पत्ति शुद्धीकरणमा थुप्रै कटौती

पुस २३, २०८२
काठमाडौं
प्रहरीमा दरबन्दी हेरफेर: सिंहदरबार गणमा एसपीको नेतृत्व, सम्पत्ति शुद्धीकरणमा थुप्रै कटौती

नेपाल प्रहरीमा लामो प्रतीक्षा र प्रयासपछि दरबन्दी हेरफेर भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयले पेश गरेको दरबन्दी हेरफेरको प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो ।

त्यसो त गृहले प्रहरीको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) समिति बनाएको थियो ।

गृहका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुलीको संयोजकत्वमा बनेको ओएन्डएम समितिले एक प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थपसँगै अन्य दरबन्दी हेरफेर र थप गर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले डीआईजी बाहेकका पदमा मात्रै सहमति प्रदान गरेको थियो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरेको दरबन्दी सूचीअनुसार जनपदतर्फ तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) थप हुने भएको छ ।

थप भएका एसएसपीलाई प्रहरी महानिरीक्षकको सचिवालय, कानून तथा मानव अधिकार महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमा जिम्मेवारी दिने भनिएको छ । यो दरबन्दी थपिँदा सवारी महाशाखा र केनाइन कार्यालयमा एसएसपीको दरबन्दी कटौती गरिएको छ ।

एसएसपीसँगै जनपदतर्फको प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी थपिएको छ ।

थपिएका चार एसपीलाई प्रहरी प्रधान कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखा, केन्द्रीय अनुसन्धान ब्यूरो, सिंहदरबार सुरक्षा गण र नेपाल प्रहरी अस्पतालमा जिम्मेवारी दिइने उल्लेख छ ।

जनपदतर्फ चार एसपीको दरबन्दी थप हुँदा सम्पत्ति शुद्धीकरणका एसपीको दरबन्दी भने कटौती गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार, मन्त्रिपरिषदले स्वीकृत गरेको ओएन्डएम समितिको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

प्राविधिकतर्फ ९ एसपीको दरबन्दी थपियो

मन्त्रिपरिषदले स्वीकृत गरेको ओएन्डएम प्रतिवेदनअनुसार प्राविधिकतर्फ ९ जना एसपीको दरबन्दी थप भएको छ । ९ मध्ये ८ एसपीलाई प्रहरी अस्पतालमा र एक जनालाई प्रहरीको विधिविज्ञान प्रयोगशालामा जिम्मेवारी दिइने उल्लेख छ ।

प्राविधिकतर्फ ९ एसपी थपिँदा नेपाल प्रहरी संगीत विद्यालयमा एसपीको दरबन्दी कटौतीमा परेको छ ।

कटौतीमा नगरी ३ डीएसपीको दरबन्दी थपियो

ओएन्डएम समितिको प्रस्तावअनुसार गृहले मन्त्रिपरिषद् बैठकमा पेश गरेको सूचीअनुसार जनपदतर्फ तीन डीएसपीको दरबन्दी थप्ने कुरा स्वीकृत भएको छ ।

स्वीकृत दरबन्दीमध्ये नेपाल प्रहरी प्रधान कार्यालयको कानून शाखामा १ जना, अन्वेषण योजना तथा विकास निर्देशनालयमा १ जना र केन्द्रीय अनुसन्धान ब्यूरोमा १ जना गरी तीन डीएसपीलाई खटाइने उल्लेख छ ।

जनपदतर्फ डीएसपीको दरबन्दी थप हुँदा अन्यतर्फ दरबन्दी कटौतीमा परेको छैन ।

तर, प्राविधिकतर्फ दुई डीएसपीको दरबन्दी थप हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा रहेको फरेन्सिक युनिटका एक डीएसपीको दरबन्दी कटौतीमा परेको छ ।

थपिएका प्राविधिक डीएसपीलाई सवारी महाशाखा र प्रहरी प्रधान कार्यालयमा रहेको डीएफएल शाखामा जिम्मेवारी दिइने भएको छ ।

जनपदतर्फ ६ प्रहरी निरीक्षक थप

स्वीकृत ओएन्डएम प्रतिवेदनअनुसार जनपदतर्फ ६ जना प्रहरी निरीक्षक थपिएको छ ।

थपिएका प्रहरी निरीक्षकहरूलाई क्रमश: कानून महाशाखामा दुईजना, अन्वेषण योजना तथा विकास निर्देशनालयमा २ जना र केन्द्रीय अनुसन्धान ब्यूरोमा दुई जनालाई जिम्मेवारी दिइने उल्लेख गरिएको छ ।

त्यस्तै, प्राविधिकतर्फ अन्वेषणमा एकजना प्रहरी निरीक्षक थपिँदा प्रहरी अस्पतालतर्फका ८ प्रहरी निरीक्षकको दरबन्दी कटौती गरिएको छ ।

वरिष्ठ सईदेखि प्रकाससम्मको दरबन्दी थपघट

मन्त्रिपरिषद्ले स्वीकृत गरेको ओएन्डएम प्रतिवेदन अनुसार जनपद र प्राविधिकतर्फ २/२ जना प्रहरी नायब निरीक्षक (सई) को दरबन्दी थपिएको छ ।

सम्पत्ति शुद्धीकरणको वरिष्ठ सईको दरबन्दी कटौती गरिएको छ ।

त्यस्तै, जनपदतर्फ प्रहरी सहायक निरीक्षक (असई) को एउटा दरबन्दी पनि थप गरिएको छ । प्राविधिकतर्फ एकजना प्रहरी वरिष्ठ हवल्दार, एक सहायक हवल्दार र जनपदतर्फ ५ जना जवानको दरबन्दी थप भएको छ । यो दरबन्दी जिल्ला प्रहरी परिसर काठमाडौंमा थपिने छ ।

जनपदतर्फ सम्पत्ति शुद्धीकरण विभागको प्रहरी शाखाका दुई सई, तीन हवल्दार, ८ जना सहायक हवल्दार, १५ जवान र एकजना प्रहरी कार्यालय सहयोगीको दरबन्दी कटौती गरिएको छ ।

प्राविधिकर्फ भने सवारी महाशाखाको हवल्दारको तीनवटा दरबन्दी कटौती भएको छ ।

त्यस्तै, जनसम्पर्क शाखा र श्रव्यदृश्य शाखाको सईको दरबन्दी पनि कटौती गरिएको छ । प्राविधिकतर्फकै श्रव्यदृश्य शाखाको सहायक हवल्दारको दरबन्दी कटौती गरिएको छ ।

थपिएको पद

एसएसपी– ३

एसपी– ४

एसपी (प्राविधिक) – ९

डीएसपी – ३

डीएसपी प्राविधिक – २

प्रहरी निरीक्षक – ६

प्रहरी निरीक्षक (प्राविधिक) – १

सई – २

सई (प्राविधिक) – २

असई – १

वरिष्ठ हवल्दार (प्राविधिक) – १

सहायक हवल्दार (प्राविधिक)– १

जवान – ५

कटौती गरिएको दरबन्दी

एसएसपी (प्राविधिक) – २

एसपी (प्राविधिक) – १

एसपी  – १

डीएसपी (प्राविधिक) – १

प्रहरी निरीक्षक – १

प्रहरी निरीक्षक (प्राविधिक) – ८

वरिष्ठ सई – १

सई  – १

सई (प्राविधिक) – २

वरिष्ठ हबल्दार (प्राविधिक) – १

हवल्दार – ३

हवल्दार (प्राविधिक) – ३

सहायक हवल्दार – ८

सहायक हवल्दार (प्राविधिक) – १

प्रहरी जवान – १५

 

 

 

प्रहरी कार्यालय सहयोगी – १

salt training

कमेन्ट गर्नुहोस्