
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन आह्वान गरे । उनीहरूले पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै विज्ञप्ति जारी गरेपश्चात् कांग्रेसभित्र यसको ठूलो तरङ्ग प्रवाह भएको छ।
संयुक्त आह्वानमा उनीहरूले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने र सोही विधानअनुसार पार्टीका सम्पूर्ण गतिविधि सञ्चालन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (दशौँ संशोधन २०७८) अनुसार केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय भएको र विशेष केन्द्रीय महाधिवेशन बोलाउने स्पष्ट व्यवस्था रहेको उनीहरूको भनाइ छ। यसलाई संस्थापन समूहले पटक्कै रुचाएको छैन । आम कार्यकर्ता माझ पार्टी विभाजनमा जाने सम्मको बहस भइरहँदा अब सभापति देउवा र उनको समूहले के गर्छ भन्ने चासो छ । यसै विषयमा केन्द्रित रहेर लोकान्तरले पार्टी प्रवक्ता तथा सभापति शेरबहादुर देउवा विश्वासपात्र प्रकाशशरण महतलाई केही प्रश्न राखेको छ। प्रस्तुत छ उक्त प्रश्न र उत्तरको सम्पादित अंश:-
भर्खरै पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर विशेष महाधिवेशन बोलाउनुभयो । यो विषय पार्टी कार्यालय वा संस्थापनलाई जानकारी छ?
- मलाई व्यक्तिगत रूपमा यो कुरा भर्खरै थाहा भयो। पार्टी कार्यालयका मुख्य सचिवलाई जानकारी हुन सक्छ।
पार्टी कार्यालयलाई थाहा नहुने, प्रवक्तालाई थाहा नहुने गरी महामन्त्रीद्वयको आह्वान आयो ?
- पार्टी कार्यसम्पादन समितिको निर्णय नमानेर उहाँहरू हिँड्नुभयो। फरक मत राख्न पाइयो। तर, पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय मान्दिन भन्न महामन्त्रीहरूले पाउनु हुन्न। पार्टी अनुशासन लतारेर उहाँहरू हिँड्नुभएको छ भने विज्ञप्ति निकालेर पार्टी हित विपरीत हुनेगरी विज्ञप्ति निकाल्ने कुरा कुन नौलो भयो र !
पार्टीलाई थाहा नदिई विशेष महाधिवेशन महामन्त्रीद्वयले बोलाउनु अनुशासन सम्मत भएन भन्ने तपाईँको तर्क हो ?
- अवश्य हो। पार्टीमा अनुशासनहीतनताको पराकाष्ठा छ। सामाजिक सञ्जाल मिडियामा समाजमा कतै नबिक्ने मान्छेहरू प्रयोग गरेर पार्टी अफिस अघि जथाभाबी गालीगलोज गराउने उहाँहरूनै हो। नेताहरू विरुद्ध विष वमन गराउने गरी सूचना तथा सामाग्री सम्प्रेषण गराउने उहाँहरूनै हो।त्यी मान्छे प्रयोग गर्ने को हुन् छर्लङ्गै छ। हामी त कहिले पनि कोही मान्छेको विरुद्ध नचाहिदे यस्तो कुरा गर्दै गर्दैनौँ । संस्थागत हित र पार्टीको कुरा गर्छौँ।
तपाईँ संस्थापन समूहकै कारणले यो अवस्था आएको हैन र ?
कार्यसम्पादन समितिले नियमित अधिवेशनको कार्यपालिका संशोधन गर्यो। पुसमा नियमित महाधिवेशनको कार्यपालिका सम्भव छैन भन्दा उहाँहरूलेनै मौखिक रूपमा कोसिस मात्र गरौँ नभए संशोधन गरौला भनेर मौखिक रूपमा भनेको हो। कार्यपालिका बनाउने प्रमुख जिम्मेवारी उहाँहरू सहित हामी सबैको जिम्मेवारी हो। अनि त्यो अधिवेशन समयमा हुन सकेन भनेर विशेष अधिवेशनका लागि उहाँहरूले आह्वान गरेको हो भने त्यो भन्दा विडम्बना के हुन्छ ? आफै नियमित अधिवेशन गर्ने जिम्मेवारीमा हुनुहुन्छ, अनि आफै विशेष अधिवेशन माग गर्नुहुन्छ । अनि कस्को विरुद्धमा हो विशेष अधिवेशन? हामीले गर्न नसकेको भनेर हो विशेष महाधिवेशन?
नियमित महाधिवेशन गर्न नसकेर कार्यपालिका संशोधन भएको हो । आम निर्वाचन पश्चात् वडा अधिवेशन गर्ने भनेको हो । अनि आम निर्वाचनमा लाग्नुको सट्टा आम देशभरका कार्यकर्ताहरूलाई दिग्भ्रमित गरेर, सामाजिक सञ्जालबाट डिसइन्फर्मेसन क्याम्पेन गरेर हुन्छ ?
के गर्न खोजेको उहाँहरूलाई थाहा होला। हामी त यो बेला पार्टी एक भएर आम निर्वाचनमा केन्द्रित हुनुपर्छ भनिरहेका छौँ ।
विशेष महाधिवेशन पक्षधर त सभापति वा कार्यवाहक सभापति गएर अधिवेशन उद्घाटन गर्ने दाबी गरिरहेका छन्। यो सम्भव छ ?
- कसरी सम्भव हुन्छ। कुनै पनि हालतमा सम्भव छैन। केन्द्रीय समितिले विशेष अधिवेशनको औचित्य छैन भनेर निर्णय पास गरिसकेको छ। त्यस अवस्थामा पार्टी निर्णयविरुद्ध गएर सभापति वा कार्यवाहक सभापति त्यहाँ जानुहुन्छ। मेरो जानकारी छैन तर पार्टीको निर्णय विरुद्ध उहाँहरू गएर कार्यक्रम उद्घाटन गर्नुहुन्छ भन्ने मलाई चाहिँ लाग्दैन ।
तपाईँ स्वयं पार्टी प्रवक्ताको हैसियतले विशेष महाधिवेशनमा जानुहुन्छ कि जानुहुन्न ?
- म पार्टीको लोयल कार्यकर्ता हुँ। पार्टीको आधिकारिक निर्णय जहाँ हुन्छ, म पक्षमा त्यहीँ उभिन्छु। पार्टी प्रवक्ता र जिम्मेवार सदस्यको नाताले म पार्टी निर्णयको पक्षमा स्पष्ट रूपमा उभिन्छु। भेलासेला गरेर असहमति जनाउनु एउटा कुरा हो, तर विशेष अधिवेशन भन्दै अघि बढ्नु उचित होइन।
यसले नेपाली कांग्रेसको छवि र आम कार्यकर्तामा कस्तो सन्देश गएको छ ?
- निर्वाचनको मुखमा अहिले कांग्रेसको पक्षमा माहौल बन्दै थियो । जनताले एमाले माओवादी वा नयाँ दललाई बिस्तारै अविश्वास गर्दै नेपाली कांग्रेसमा भरोसा जताउँदै थिए। नयाँ दलमा प्रधानमन्त्री वा पदका लागि म पार्टीमा छुइन भन्दै प्रचार गरेको अवस्थामा जनताले नेपाली कांग्रेसलाई खोजिरहेको बेला यस्तो अराजक र ताण्डव मच्चियो । जनताले कांग्रेसलाई भोट दिऊँ भनी विश्वास गर्ने वातावरण पनि रहेन । किनभने कांग्रेसभित्र यो तहको किचलो ।
सभापति कार्यवाहक सभापति वा अन्य कसैप्रति असन्तुष्टि छ भन्ने निहुँमा यो तहको गिर्दो हरकत गर्नु स्वाभाविक हैन । पार्टी अनुशासन हित भित्र पर्दैन। बेमौसमको बाजा बजाउनु ठिक होइन।
विशेष गरी विशेष गर्न भन्दै जिल्ला जिल्लाबाट हिँडे भन्दै सामाजिक सञ्जालमा यो तहको हर्कत कसरी भइरहेको छ? यो मान्य हुन सक्दैन।
यसले पार्टीलाई कमजोर बनाउँदै विभाजनतर्फ बनाएको हो ?
- हामी विभाजनको कल्पना पनि गर्न सक्दैनौँ। पार्टीलाई एकताबद्ध र बलियो बनाउने चाहना हो।
त्यसो भए संस्थापन अर्थात् तपाईँहरूको आरोप चाहिँ उहाँहरूले पार्टी विभाजन गर्न लाग्नुभएको हो भन्ने नै हो?
उहाँहरूले के गर्न चाहेको हो त्यसको जवाफ उहाँहरूले दिनुपर्छ। उहाँहरूले पनि विभाजन गर्न चाहेको होइन भन्नुहुन्छ भने- किन यस्तो गर्न चाहिरहनुभएको छ त? किन केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विरुद्ध गएर विशेष माग्नुभएको हो त? प्रश्न उठ्छ।
संस्थापन तपाईँहरू र महामन्त्रीहरू दुवैको हठले पार्टी कसरी एक ढिक्का रह्यो र?
- फेरि बुझ्नुहोस्, पार्टी नेतृत्वले कांग्रेस विभाजन र छिन्न भिन्न होस् भन्ने कोसिस गरेकै छैन। उहाँहरू हो पार्टीलाई विभाजन तर्फ लैजाने भनेपश्चात् त यसको आशय के हो? किन विभाजन चाहेको भन्ने त उहाँहरूले जवाफ दिनुपर्यो नि। आफै अधिवेशन समयमा गर्न सकिएन भने पछि गरौला भन्ने अनि फेरि विशेष भन्ने ? यो कुन तहको अनुशासन हो?
विशेष किन? तपाईँहरूको बुझाइ के हो?
- सिधा कुरा- यस्तो तालले जो कोही कुनै पदमा पुगे पनि पार्टीलाई के फाइदा भयो र!मैले नै एउटा पार्टी बनाएर म अध्यक्ष हो भनेर घोषणा गर्न सक्छु नि। त्यस्तो पार्टी बनाएर के हुन्छ। पार्टी एकजुट बनाएर अघि गए पो परिणाम आउँछ त । परिणाम आए पो म प्रधानमन्त्री वा केही बन्छु भन्ने होला। परिणामै नआए को के बन्ने हो र?
तपाईँहरूले महामन्त्रीद्वय र विशेष माग्नेलाई कारबाही गर्दै हुनुहुन्छ भन्नेहल्ला छ, त्यो सत्य हो ?
- यसबारे कुनै छलफल पार्टीमा भएको छैन । तर, जुन गतिविधि उहाँहरूले पार्टीमा बसेर गर्नुभएको छ त्यो पार्टी हितमा छैन।
कसरी मिल्छ त कुरा ? के हो मिलन बिन्दु?
- म नै सम्पूर्ण निर्णायक मान्छे हैन र मेरो भूमिका सीमित छ । तर अहिले जे भइरहेको छ त्यसले चिन्तित बनाएको छ। यस्तो चिन्ता उहाँहरूले पनि राख्नुपर्ने थियो र हो तर किन राख्नुभएन थाहा छैन। महाधिवेशन प्रतिनिधिहरूले पनि किन पार्टी कमजोर बनाउन खोजेको हो त्यो सोच्नुपर्ने थियो । तर सोचेको देखिएन।
निकास चाहिँ के हो त ?
निर्वाचनको मुखमा महाधिवेशन प्रतिनिधि साथीहरूलाई बोलाएर महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउन धेरै ठुलो क्याम्पेन चलाउनु भएको छ यसले अन्योल सिर्जना गर्यो । मेरो अहिले पनि अनुरोध अझै पनि समय छ। छलफल, सरसल्लाह र संवादबाट समाधान खोज्नुपर्छ। के कुरामा असन्तुष्टि छ, त्यसलाई औपचारिक रूपमा पार्टीभित्र राख्नुपर्छ नेतृत्व सँग बसेर संवाद गरौँ भन्ने हो। सकिन्छ भने यसलाई स्थगन गरौँ । हैन सकिन्न भने एउटा सामान्य भेला गरेर आफ्नो भनाई राखेर समाधान उन्मुख बनाउन सकिन्छ महामन्त्रीहरूले चाहे भने। हैन विशेष नै हो हामी नै पार्टी र सबै हो भन्ने हो भने यसको केही औषधी छैन ।