
फ्रेन्च सुपर कप फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पीएसजी)ले नै चुमेको छ ।
पीएसजीले बिहीबार राति कुवेतमा खेलिएको रोमाञ्चक फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी मार्सेलीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले हराउँदै उपाधि चुमेको हो ।
पीएसजीले लगातार चौथोपटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । समग्रमा भने पीएसजीले जितेको यो १४औं फ्रेन्च सुपर कप उपाधि हो ।
निर्धारित र थप गरिएको समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि हार–जितको छिनोफानो पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।
निर्धारित समयको १३औं मिनेटमा प्रभावशाली खेलाडी उस्मान डेम्बेलले पीएसजीका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा पीएसजी अगाडि रह्यो ।
निर्धारित समयको ७६औं मिनेटमा मार्सेलीका मासन ग्रिनउडले पेनाल्टीमार्फत जवाफी गोल गरे । ८७औं मिनेटमा पीएसजीका विलियन पाचोबाट आत्मघाति गोल भयो ।
विलियनको आत्मघाति गोलपछि मार्सेली २–१ ले अगाडि बढ्यो । तर, इन्जुरी समयको पाँचौं मिनेटमा पीएसजीका गोन्कालो रामोसले आकर्षक गोल गर्दै खेललाई २–२ को बराबरीमा पूर्याए ।
पेनाल्टी सुटआउटमा पीएसजीका रामोस, भिटिन्हा, नुनो मेन्डेस र डिजायर डुले गोल गरे । मार्सेलीका लागि भने माइकल मुरिल्लोले मात्र गोल गर्न सके ।
पीएसजीले सन् २०१३ देखि सन् २०२० सम्म लगातार फ्रेन्च सुपर कपको उपाधि जित्दै आएको थियो । बीचमा एकपटक सन् २०२१ को उपाधि लिलेले जित्यो ।
त्यसयता फेरि पीएसजीले नै लगातार यो प्रतियोगिताको उपाधि उचाल्दै आएको छ । मार्सेलीले भने हालसम्म तीनपटक यो प्रतियोगिताको उपाधि जितेको छ ।