
आयोजक मोरक्को र सेनेगल आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मोरक्कोले शुक्रबार राति सम्पन्न क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी क्यामरुनमाथि २–० गोलको जित हासिल गर्यो । सेनेगल भने मालीलाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
मोरक्कोले खेलको दुवै हाफमा एक–एक गोल गर्यो । खेल शुरू भएको २६औं मिनेटमा ब्राहिम डियाजले टोलीलाई अग्रता दिलाएका थिए ।
निर्धारित समयको ७४औं मिनेटमा स्माइल साइबारीले टोलीका लागि दोस्रो गोल गरेका थिए । ब्राहिम डियाजले जारी प्रतियोगितामा गरेको पाँचौं गोल हो ।
मोरक्को र सेनेगलले एक–एकपटक यो प्रतियोगिताको उपाधि जितेका छन् । मोरक्कोले सन् १९७६ मा र सेनेगलले पनि सन् २०२१ मा उपाधि जितेको थियो ।