२१ असार २०८३, आइतबार
इरानमा तनाब बढ्दै

इरानमा प्रदर्शनकारीमाथि घातक दमन- ‘सिधै गोली चलाइयो, जहाँ उभिएका थिए त्यहीँ ढले’

पुस २९, २०८२
काठमाडौं
इरानमा प्रदर्शनकारीमाथि घातक दमन- ‘सिधै गोली चलाइयो, जहाँ उभिएका थिए त्यहीँ ढले’

इरानमा जारी सरकारविरोधी प्रदर्शनका क्रममा सुरक्षा बलले निहत्था प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली चलाउँदा ठूलो संख्यामा मानिसको ज्यान गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

बीबीसीसँग कुरा गरेका प्रत्यक्षदर्शीहरूका अनुसार सुरक्षा बलले प्रदर्शनकारीको लाइनमै लक्षित गरी गोली प्रहार गरेका थिए ।

दक्षिणी इरानको एक सानो सहरमा प्रदर्शनमा सहभागी ओमिद (नाम परिवर्तन)ले आफूले आफ्नै आँखाले प्रदर्शनकारीमाथि सिधै गोली चलाएको देखेको बताए । उनका अनुसार कालास्निकोभ शैलीका स्वचालित हतियार प्रयोग गरी निहत्था प्रदर्शनकारीमाथि आक्रमण गरिएको थियो ।

‘हामी खाली हातले क्रूर शासनसँग लडिरहेका छौं’, उनले भने ।

पछिल्ला दिनमा देशभर फैलिएको प्रदर्शनपछि इरानी सरकारले इन्टरनेट सेवा बन्द गरेको छ, जसका कारण इरानभित्रको अवस्था बाहिर ल्याउन झनै कठिन भएको बीबीसीले जनाएको छ । इरान सरकारले बीबीसी पर्सियनलाई देशभित्र रिपोर्टिङ गर्न प्रतिबन्ध लगाएको छ ।

गत बिहीबार देशव्यापी रूपमा सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शन भएको थियो । १९७९ को इस्लामिक क्रान्तिपछि निर्वासित भएका अन्तिम शाहका छोरा रेजा पहलवीको आह्वानपछि प्रदर्शनमा ठूलो संख्यामा मानिस सहभागी भएको बताइएको छ ।

त्यसको भोलिपल्ट इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईले ‘इस्लामिक गणतन्त्र पछि नहट्ने’ चेतावनी दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार उक्त चेतावनीपछि नै सबैभन्दा रक्तपातपूर्ण दमन भएको हो ।

तेहरानकी एक युवतीले बिहीबारको दिनलाई ‘प्रलयको दिन’ जस्तो अनुभव भएको बताइन् ।

‘शुक्रबार सुरक्षा बलले मार्न मात्रै मार्‍यो । त्यो दिन अत्यन्तै रक्तरञ्जित थियो’, उनले भनिन् । उनका अनुसार त्यसपछि मानिसहरू सडकमा ननिस्की घरभित्र र गल्लीबाट नाराबाजी गर्न थालेका छन् ।

तेहरान युद्धभूमि जस्तै बनेको बताउँदै उनले भनिन्, ‘युद्धमा दुवै पक्षसँग हतियार हुन्छ । यहाँ जनता नारा लगाउँछन् र मारिन्छन् । यो एकतर्फी युद्ध हो ।’

तेहरान नजिकैको फार्दिस सहरमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) अन्तर्गतको बसिज अर्धसैनिक बलले अचानक प्रदर्शनकारीमाथि आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 

मोटरसाइकलमा आएका सुरक्षा बलले सिधै गोली चलाएको र पहिचान नखुलेका सवारीसाधनबाट समेत बस्तीभित्र गोली प्रहार गरिएको आरोप लगाइएको छ । ‘प्रत्येक गल्लीमा दुई–तीन जनाको मृत्यु भयो,’ एक प्रत्यक्षदर्शीले दाबी गरे ।

नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ संस्थाका अनुसार हालसम्म कम्तीमा ६४८ प्रदर्शनकारी मारिएका छन्, जसमा १८ वर्ष मुनिका नौ जना पनि छन् । यद्यपि बीबीसीले यी तथ्यांक स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी सरकारले प्रदर्शनकारीको मृत्युबारे कुनै पारदर्शी आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन ।

इरानी सरकारी सञ्चारमाध्यमले भने प्रदर्शनका क्रममा १०० जना सुरक्षा कर्मीको मृत्यु भएको र ‘दंगाकारी’ले मस्जिद र बैंकमा आगजनी गरेको दाबी गरेका छन् ।

बीबीसी पर्सियनले प्रमाणित गरेका भिडियोहरूमा विभिन्न स्थानमा प्रहरी सवारीसाधन र सरकारी भवनमा आगजनी भएको देखिन्छ । साथै अस्पताल र शवगृहमा ठूलो संख्यामा शव राखिएको दृश्य पनि सार्वजनिक भएका छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार धेरै सहरका अस्पताल घाइते प्रदर्शनकारीले भरिएका छन् र टाउको तथा आँखामा गम्भीर चोट लागेकाहरूको उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन् । कतिपय शव परिवारलाई नबुझाइ थुपारिएको आरोप पनि लगाइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीद्वारा गरिएको अत्यधिक बल प्रयोगप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । इरानका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार विशेष प्रतिवेदक माइ साटोले पनि सुरक्षाबलद्वारा घातक बल प्रयोग हुनु गम्भीर विषय भएको बताएकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्