
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आजदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबीच रातभर चलेका विभिन्न चरणका वार्ता निष्कर्षविहीन भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।
सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि सहमति जुट्न नसकेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अब निर्वाचनमार्फत् नै पार्टीको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया शुरू गरिएको हो । विशेष महाधिवेशनले यसअघि नै नयाँ नीति पारित गरिसकेको छ । महामन्त्रीद्वयले पेश गरेका दुई प्रतिवेदन बन्दसत्रबाट मंगलबार पारित गरिएको थियो ।
यद्यपि, वार्ताको ढोका भने बन्द भएको छैन । विशेष महाधिवेशन पक्षका एक नेताले वार्ता पनि जारी रहने बताए । उनका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सभापति शेरबहादुर देउवासँग वार्ता गर्ने तयारी छ ।
वार्ता तय भने भैसकेको छैन । 'मुख्यगरी नेतृत्वको विषय पेचिलो बन्यो । हामीले सभापतिको एक्जिट पनि खोजेको होइन । कार्यबाहक दिएकोलाई कार्यान्वयन गर्नेगरी जाऔँ भनेका हौं,' ती नेताले लोकान्तरसँग भने, 'अब समय धेरै बाँकी छैन तर, छलफल त जारी नै छ । अब सभापतिजीसँगै छलफल गर्ने प्रयासमा छौं । केही टुंगिएको त छैन तर, महामन्त्रीजीहरू पनि सायद छलफलमा जानुहुन्छ ।'
विशेष महाधिवेशन प्रचार-प्रसार उपसमिति संयोजक सुवास पोखरेलले संस्थापन पक्षले अझै पनि अन्तिम वार्ताको प्रयास गरिरहेको बताए । यद्यपि, वार्ताको ढोका खुला राख्दै निर्वाचनलाई निरन्तरता दिइएको उनले बताए । संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व हस्तान्तरण गर्न तयार नहुँदा सहमति नजुटेको पोखरेलले बताए।
यसअघि मंगलबार साँझ महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्द सत्र समापन गरिएको थियो । विशेष महाधिवेशन पक्षधर नेताहरूले नयाँ पदाधिकारीको खाकासमेत तयार पारिरहेको बुझिएको छ ।
वार्ताको सम्भावनालाई मध्यनजर गर्दै निर्वाचन समितिले मनोनयन दर्ताको समय हेरफेर गरेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन दर्ताका लागि आज बिहान ८:१५ बजेदेखि ९:१५ बजेसम्मको समय थप गरिएको छ।