३२ असार २०८३, बिहीबार

टी-२० विश्वकप खेल्ने अमेरिकी टोलीका खेलाडीले भारतको भिसा नपाएपछि अर्को विवाद

पुस ३०, २०८२
काठमाडौं
टी-२० विश्वकप खेल्ने अमेरिकी टोलीका खेलाडीले भारतको भिसा नपाएपछि अर्को विवाद

आईसीसी टी-२० विश्वकपको १० औं संस्करण शुरू हुन एक महिनाभन्दा पनि कम समय बाँकी छ । विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

विश्वकपको मिति नजिकिँदै गर्दा भारत र बंगलादेशबीच शुरू भएको विवाद अझै सुल्झन सकेको छैन । भारत र बंगलादेशबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमको छायाँ क्रिकेटमा परेपछि विवाद शुरू भएको हो ।

सुरक्षाको कारण देखाउँदै बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले आफ्नो टोली विश्वकप खेल्न भारत नपठाउने भएको छ । भारतले भने सुरक्षाको कुनै समस्या नरहेको बताउँदै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समस्याको समाधान निकाल्न सकेको छैन ।

त्यसमाथि, आगामी विश्वकपलाई लिएर अर्को विवाद शुरू भएको छ । अमेरिकी टोलीमा रहेका चारजना खेलाडीले भारतमा विश्वकप खेल्न भिसा (प्रवेशाज्ञा) नपाएको गुनासो गरेका छन् ।

अमेरिकी टोलीमा रहेका पाकिस्तानीमूलका चारजना खेलाडीले भिसा नपाएको गुनासो गरेका छन् । अमेरिकाले प्रारम्भिक टोलीमा रहेका खेलाडीलाई समेटेर भिसाका लागि आवेदन दिए पनि चारजना खेलाडीले भिसा नपाएको दाबी समाचारमा गरिएको छ ।

अमेरिकाका तिब्रगतिका बलर अली खानले टेलिकम एसिया स्पोर्टसँगको कुराकानीमा आफूसहित चारजना अमेरिकी खेलाडीलाई भारतले भिसा नदिएको गुनासो गरेका छन् ।

‘अमेरिकी टोलीमा रहेका हामी चारजना खेलाडीलाई भारतले भिसा दिन अस्वीकार गरेको छ । यसको अर्थ हामीले आगामी टी–२० विश्वकप खेल्न पाउने छैनौं,’ उनले भनेका छन् ।

२० सदस्यीय अमेरिकी टोली हाल श्रीलंकाको कोलम्बोमा आगामी विश्वकपको तयारी गरिरहेको छ । तिब्रगतिका बलर अली खान पनि कोलम्बोमै छन् ।  उनका अनुसार, शायन जहाँगीर, मोहम्मद मोहसिन र एहसान आदिललाई पनि भारतले भिसा दिएको छैन ।

यी चारैजना अमेरिकी खेलाडीको जन्म पाकिस्तानमा भएको हो । तर, अहिले उनीहरू अमेरिकी नागरिक हुन् । भारतको भिसा नियम अनुसार, पाकिस्तानमा जन्मिएका कुनै पनि व्यक्तिले भारतको भिसा पाउन आफू जन्मिएकै देशको पासपोर्ट (राहदानी)बाट भिसा आवेदन गर्नुपर्ने हुन्छ ।

यसअघि पनि क्रिकेटमा यस्तो समस्या आइसकेको छ । सन् २०१९ मा पाकिस्तानमा जन्मिएका क्रिकेटर सिकन्दर जुल्फिकार र साकिब जुल्फिकारलाई भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकप खेल्न पाकिस्तानमा जन्मिएका सिराज अहमदले पनि निकै पछिमात्र भारतको भिसा पाएका थिए ।

सन् २०१७ मा अस्ट्रेलियन टोलीका ओपनर उस्मान ख्वाजा तथा सन् २०२४ मा इङ्ल्यान्डका स्पिनर रेहान अहमद र शोएब बशीरले पनि भारत प्रवेशका लागि भिसाको समस्या झेल्नु परेको थियो ।

आगामी टी–२० विश्वकपको प्रारम्भिक चरणमा अमेरिकाको तीनवटा खेल भारतमा र एउटा खेल श्रीलंकामा परेको छ ।

आगामी विश्वकपमा सहभागी ओमान, यूएई, इटालीलगायतका टोलीमा पनि पाकिस्तानमा जन्मिएका खेलाडी छन् । उनीहरूको विषयमा पनि यस्तै समस्या आउने अनुमान गरिएको छ । अब यो समस्यालाई आईसीसीले कसरी समाधान गर्छ त्यो भने हेर्न बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्