
नेशनल लाइफ इन्स्योरेन्सले ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बुधबार सम्पन्न ३८ औं वार्षिक साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि चुक्ता पुँजी ५ अर्ब ४७ करोड २७ लाख ३९ हजार ७३६ रूपैयाँको आधारमा ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रूपैयाँ पुगेको छ ।
साधारणसभामा अध्यक्ष प्रेमा सिंहले समीक्षा वर्ष २०८१/८२ मा विश्व अर्थतन्त्र विविध चुनौतीका बाबजुद लचिलो अवस्थामा रहेको उल्लेख गरिन् ।
कोभिड महामारी र भूराजनीतिक कारणले बढेको विश्व मुद्रास्फीति घट्दै गएकाले अधिकांश केन्द्रीय बैंकहरूले लचिलो मौद्रिक नीति अवलम्बन गरेको उनको भनाइ थियो ।
उनले नेपालको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान अनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान भए पनि बढ्दो राजनीतिक र सामाजिक अनिश्चितताका कारण चालु आर्थिक वर्ष २०८२/८३ मा वृद्धिदर संकुचनमा जान सक्ने आकलन रहेको बताइन् ।
कम्पनीका अनुसार समीक्षा वर्षमा व्यवसाय सन्तोषजनक रह्यो । कूल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख रूपैयाँ पुगेको छ ।
सञ्चालनबाट १ अर्ब ४९ करोड ८८ लाख रूपैयाँ खुद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ । यससँगै कूल बीमा करार दायित्व अघिल्लो वर्षको तुलनामा १८.८३ प्रतिशतले वृद्धि भई ९ अर्ब ४५ करोड ८८ लाख रूपैयाँ पुगेको छ ।
समीक्षा वर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, समर्पण मूल्य तथा अन्य दाबी शीर्षकमा ९ अर्ब ४८ करोड ६५ लाख रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ ।
लगानीतर्फ, कम्पनीले नेपाल बीमा प्राधिकरणले निर्देशित क्षेत्रभित्र पारदर्शी र दीर्घकालीन लगानी गर्दै आएको जनाएको छ ।
समीक्षा वर्षमा कूल लगानी ११.०४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७९ करोड २ लाख रूपैयाँ पुगेको छ । कम्पनीको औसत वार्षिक लगानी प्रतिफल दर ८.७६ प्रतिशत कायम रहेको छ ।
कम्पनीले लगानी विविधीकरणअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर ३ अर्ब ३३ करोड १ लाख १९ हजार ७५२ रूपैयाँमा खरिद गरेको छ ।
यससँगै उक्त बैंकमा कम्पनीको सेयर स्वामित्व १३.६१ प्रतिशत पुगेको छ । साथै, सहायक कम्पनी नेशनल क्यापिटल लिमिटेडले आवश्यक इजाजतपत्र प्राप्त गरी सञ्चालन शुरू गरेको र पहिलोपटक ७ प्रतिशत नगद लाभांश वितरण गरेको जानकारी दिइएको छ ।
कम्पनीको इटहरी शाखाका लागि आफ्नै स्वामित्वको जग्गामा आधुनिक व्यावसायिक भवन निर्माण प्रक्रिया अघि बढाइएको तथा प्रविधिमैत्री सेवा विस्तार र कर्मचारी तालिममा लगानी बढाइएको जानकारी दिइएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले खुद नाफाको १ प्रतिशत बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तरण गरेको छ ।
समीक्षा वर्षमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र बाल स्वास्थ्य उपचारसम्बन्धी परियोजनाका लागि विभिन्न संस्थालाई गरी ७० लाख २५ हजार ५०० रूपैयाँ सहयोग प्रदान गरिएको छ ।
सभामा अध्यक्ष सिंहले आगामी दिनमा नेशनल लाइफ इन्स्योरेन्स आम सर्वसाधारणको जीवन बीमाको आवश्यकता पूरा गर्ने प्रमुख बीमकका रूपमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।