
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयले सबै प्रतिवादीको हकमा पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोग फिर्ता लिएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार अन्य सबै प्रतिवादीहरूको हकमा पनि अभियोग दाबी बढी लिइएको पाइएकाले संशोधन गरिएको लोकान्तरलाई जानकारी दिइन् ।
उनका अनुसार यसअघि महान्यायाधिवक्ता कार्यालयको वेब साइटमा राखिएको निर्णयमा टाइप मिस्टेक भएकोले आज पुनः अर्को निर्णय राखिएको छ । ‘अस्ति वेबसाइटमा अपलोड गरिएको निर्णयमा टाइप मिस्टेक भएर रवि लामिछानेको हकमा मात्र फिर्ता लिइएको भन्ने ब्यहोरा उल्लेख भएर त्रुटि भएको थियो,’ उनले लोकान्तरसँग भनिन्, ‘आज त्यसलाई सच्याएर रवि लामिछानेसँगै मुछिएका अन्य सबै प्रतिवादीका हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी नलिने गरी अभियोग संशोधन गर्ने निर्णय गरिएको हो ।’
अन्य प्रतिवादीले निवेदन नदिए पनि लामिछानेले दिएको निवेदनलाई नै आधार मानेर अन्य प्रतिवादीको हकमा उक्त निर्णय गरिएको उनको भनाइ छ ।
मुद्दा फिर्ता लिने निर्णयलाई लिएर चौतर्फी विरोध भइरहेको छ । नेपाल बार एसोसिएसनले उनको निर्णयको विरोध गरेको छ भने सर्वोच्चमा रिटहरू परेका छन् ।
तर महान्यायाधिवक्ता भण्डारीले यस विषयमा आफूले कुनै प्रतिक्रिया नदिने बताइन् । ‘यस विषयमा म केही पनि भन्दिनँ, म हेर्छु मात्र,’ उनले लोकान्तरसँग भनिन् ।