१२ साउन २०८३, मंगलबार

चुनावका लागि सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

माघ ३, २०८२
धनगढी
चुनावका लागि सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन् । 

प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिए । 

अतिसंवेदनशील मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी सङ्ख्यामा परिचालन गरिने उनले बताए ।

प्रदेशका १६ निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेकामा ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ मतदानस्थल अतिसंवेदनशीलमा रहेका प्रहरीले जनाएको छ ।

सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी परिचालन गरिनेछ । 

त्यसका लागि प्रदेशभर १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६ हजार १९३ महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकताभन्दा बढी आवेदन परे पनि बाँकी पाँच जिल्लामा आवश्यकताभन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ । 

यसैबीच, प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । 

कार्यालय प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जानकारी दिए । 

सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएकासमेत गरेर कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।   

salt training

कमेन्ट गर्नुहोस्