
भारतीय नौसेनाको हातले सिलाइ गरिएको काठे पालजहाज INSV ‘कौण्डिन्य’ बुधबार ओमान पुगेको छ, जुन झण्डै २ हजार वर्ष पुरानो प्रविधिमा तयार पारिएको हो । १७ दिनसम्म समुद्रमा यात्रा पूरा गरेपछि मस्कट बन्दरगाहमा प्रवेश गर्दा जहाजलाई पानीको सलामीसहित स्वागत गरिएको थियो।
भारतको पश्चिमी तटस्थित गुजरातको पोरबन्दरबाट डिसेम्बर २९ मा यात्रा सुरु गरेको ‘कौण्डिन्य’ ले हजारौं वर्षदेखि भारतलाई विश्वका अन्य भूभागसँग जोड्ने प्राचीन समुद्री व्यापार मार्ग पुनः यात्रा गर्दै ओमान पुगेको हो।
दक्षिण–पूर्वी एसियासम्म समुद्र यात्रा गरेका एक पौराणिक भारतीय नाविक कौण्डिन्यको नामबाट नामकरण गरिएको यो जहाज परम्परागत प्रविधिबाट निर्माण गरिएको हो। काठका फल्याकहरू नारिवलको रेशाबाट बनेको कोइर डोरीले सिलाइ गरिएको छ र प्राकृतिक राल प्रयोग गरेर जोड मजबुत बनाइएको छ।
जहाजमा कुनै इन्जिन छैन। अनुकूल हावाको सहायतामा चौकोर पालमार्फत मात्र यो अघि बढ्छ। कुनै धातुका उपकरण प्रयोग नगरी बनाइएको यो निर्माण शैली एक समय भारतीय महासागर क्षेत्रभर प्रचलित थियो।
जहाजको डिजाइन भारतको पश्चिमी क्षेत्रमा रहेको अजन्ता गुफाको पाँचौँ शताब्दीको भित्तेचित्रमा देखाइएको जहाजबाट प्रेरित छ, जसलाई प्रारम्भिक भारतीय समुद्री यात्राको दुर्लभ दृश्य अभिलेखका रूपमा लिइन्छ। त्यतिबेलाका प्रस्त नक्सा उपलब्ध नभएकाले नौसेनाका डिजाइनरहरूले ऐतिहासिक सन्दर्भ र प्रतीकात्मक चित्रहरूको आधारमा जहाजको स्वरूप तयार गरेका थिए।
नवप्रवेश गरिएको यो जहाजमा सांस्कृतिक महत्त्व बोकेका विभिन्न प्रतीकहरू समेटिएका छन्। भारतीय नौसेनाको वेबसाइटका अनुसार जहाजका पालमा गण्डभेरुण्ड र सूर्यका आकृति, अगाडिको भागमा सिंह–यालीको मूर्ति र डेकमा हडप्पा शैलीको ढुंगाको लंगर राखिएको छ, जसले प्राचीन भारतको समृद्ध समुद्री परम्परालाई झल्काउँछ।
जहाज निर्माण सन् २०२३ सेप्टेम्बरमा शुरू भएको थियो भने सन् २०२५ फेब्रुअरीमा गोवामा जलावतरण गरिएको हो।
प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषद्का सदस्य सञ्जीव सान्याल पनि चालकदलका सदस्यका रूपमा यात्रामा सहभागी थिए। उनले सामाजिक सञ्जालमार्फत नियमितरूपमा यात्राका अनुभव सार्वजनिक गरेका थिए। उनले साझा गरेको एक तस्बिरमा मुसलधारे वर्षाका बीच समुद्रमा अघि बढिरहेको जहाज देखिन्छ।
ओमानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जहाजका इन्चार्ज कमान्डर हेमन्त कुमारले यात्रालाई “रोमाञ्चक र साहसिक” अनुभवका रूपमा वर्णन गरे। उनका अनुसार १७ दिनको समुद्री यात्रामा थुप्रै चुनौती थिए, न सुत्ने राम्रो व्यवस्था, न त गर्मीमा एयर कन्डिसन। चालकदललाई समुद्री बिरामीपनले पनि सताएको थियो। यद्यपि जमिनमा फर्किन पाउँदा सबै राहत महसुस गरिरहेका छन्।