![सुनसरी-मोरङमा कांग्रेस उम्मेदवार: विजय गच्छदारले टिकट पाएनन्, शेखर, गुरूराज र मिनेन्द्र मैदानमा [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/collage_xVm3Edh5DE.jpg)
नेपाली कांग्रेसले मोरङका सबै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मोरङ-६ मा कांग्रेसले डा. शेखर कोइरालालाई उम्मेदवार बनाएको हो । कोइराला अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।
कांग्रेसले मोरङ क्षेत्र नं १ मा पार्टीका प्रदेश सहमहामन्त्री खड्ग फागोलाई उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट चुनाव जितेका पार्टीका जिल्ला सभापति डिकबहादुर लिम्बूले यसपालि टिकट पाएनन् ।
मोरङ क्षेत्र-२ मा कोइराला समूहकै डा. मिनेन्द्र रिजालले टिकट पाए । उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भने सो क्षेत्रमा उम्मेदवार भएकी सुजाता कोइराला पराजित भएकी थिइन् ।
मोरङ-३ मा सुनिल शर्मा उम्मेदवार बनेका छन् । उनले अघिल्लो निर्वाचन सोही क्षेत्रबाट जितेका थिए ।
क्षेत्र-४ बाट महामन्त्री गुरूराज घिमिरेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । मोरङ ४ बाट यसअघि लगातार २ निर्वाचन जितेका अमनलाल मोदी नेकपाका उम्मेदवार छन् भने नेकपा एमालेले जीवन घिमिरेलाई उम्मेदवार बनाएको छ ।
मोरङ-५ बाट फुलकुमार लालबानी उम्मेदवार भएका छन् ।
यसैगरी, कांग्रेसले सुनसरीका चार वटै निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सुनसरी क्षेत्र -१ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ उम्मेदवार बनेका छन् ।
क्षेत्र- २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोशी प्रदेश संसदीय दलको नेता भएका कोइराला २०७९ को प्रदेश सभा निर्वाचनमा २(२) मा पराजित भएका थिए । शेखर कोइराला समूहका उनी कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।
सुनसरी क्षेत्र-३ मा दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदारलाई कांग्रेसले उम्मेदवार बनाएको छ । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौंपटक उम्मेदवार हुने इच्छा व्यक्त गरेको भए पनि कांग्रेसले बेदलाई टिकट दिएको हो ।
बेद दुहबी नगरपालिकामा करिब दोस्रो कार्यकालको लागि प्रमुख छन् । सो क्षेत्रबाट नेकपा एमालेले भगजति चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा विजय गच्छदारलाई पराजित गरेकी थिइन् ।
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । सो क्षेत्रबाट उनी अघिल्लो निर्वाचनमा विजयी भएका थिए । उनी शेरबहादुर देउवा पक्षका हुन् ।