२९ असार २०८३, सोमबार
महिला टी–२० विश्वकपको ग्लोबल छनोट

नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा

माघ ८, २०८२
काठमाडौं
नेपालको लगातार दोस्रो हार, तेस्रो जितसँगै नेदरल्यान्ड्स ‘सुपर–६’ मा

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको हो । 

लगातार तेस्रो जीत हात पारेको नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रनमात्र बनाउन सक्यो ।

अघिल्लो खेलजस्तै नेपाली ब्याटरले निराशाजनक प्रदर्शन गरे । कुनै पनि ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन् । छैटौं नम्बरमा क्रिज समाल्न आएकी रुविना क्षेत्रीले सर्वाधिक अविजित ३७ रन बनाइन् । उनले ३२ बलको सामना गरी पाँच चौका पनि हिर्काइन् ।

ओपनर बिन्दू रावल केवल १८ रन बनाउँदै दूर्भाग्यपूर्ण तारिकाले रन आउट हुँदै पेभेलियन फर्किइन् । उनले १५ बलमा चार चौका पनि हिर्काइन् ।

अर्की ओपनर सम्झना खड्का पनि आठ बलमा तीन चौकाको मद्दतले १४ रन बनाउँदै आउट भइन् । उप–कप्तान पूजा महतो पनि आठ रनभन्दा अगाडि बढ्न सकिनन् ।

कप्तान इन्दू बर्मा ६ र काजल श्रेष्ठ चार रनमै आउट भए । कविता जोशीले १८ बलमा दुई चौकाको मद्दतले १३ रन बटुलिन् ।

कविता कुँवर भने एक रनभन्दा अगाडि बढ्न सकिनन् । सीता रानामगरले अविजित २७ रन बनाइन् । खेलको अत्यतिर, रुविना र सीताले आक्रामक पाली खेल्दै टोलीलाई जितसम्म पुर्‍याउने प्रयास गरेका थिए । तर, त्यो सफल हुन सकेन । नेपालले अतिरिक्त रूपमा १० रन पायो । नेदरल्यान्ड्सका बलर इसाबेल भान डर वनिङले तीन विकेट लिइन् ।

त्यसअघि, दुवै ओपनरलाई सस्तैमा गुमाएको नेदरल्यान्ड्सका लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएकी कप्तान बाबेट डे लिडले उत्कृष्ट पाली खेलेकी थिइन् ।

उनी केवल एक रनका कारण अर्धशतक पूरा गर्नबाट चुकिन् । उनले टोलीका लागि ४९ रनको योगदान गरिन् । यसक्रममा उनले ४७ बलको सामना गरी ६ चौका पनि हिर्काइन् ।

चौथो नम्बरकी ब्याटर स्टेर कालिसले पनि टोलीको खातामा महत्वपूर्ण ३० रन थपिन् । पेभेलियन फर्किनुअघि उनले ३४ बलमा दुई चौका प्रहार गरिन् ।

नेदरल्यान्ड्सले १५ रनको कुल स्कोरमै दुवै ओपनरलाई गुमाएको थियो । त्यसपछि कप्तान बाबेट डे लिड र स्टेर कालिसले टोलीको स्कोरलाई ९४ रनको सम्मानजनक स्थितिसम्म पूर्‍याएका थिए ।

ओपनर हिथर सिजर्स १३ रन बनाउँदै आउट भएकी थिइन् भने अर्की ओपनर फेब मोल्केनबोयरले खातासम्म खोल्न सकिनन् ।

पाँचौं नम्बरमा क्रिज समाल्न आएकी रोबिन रिजकेले अविजित १९, फ्रेडरिक ओभरडिकले पाँच र आइरिस ज्विलिङले अविजित १४ रन बनाए ।

नेदरल्यान्ड्सले अतिरिक्त रुपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रुविना क्षेत्रीले दुई विकेट लिइन् । सुमन बिष्ट, पूजा महतो र रिया शर्माले पनि एक–एक विकेट हात पारे ।

salt training

कमेन्ट गर्नुहोस्