
न्युजिल्यान्डका प्रभावशाली तीव्र गतिका बलर एडम मिल्नेले आगामी आईसीसी टी–२० विश्वकप नखेल्ने भएका छन् ।
ह्यामस्ट्रिङ समस्याका कारण उनी टोलीबाट बाहिरिएका हुन् । दक्षिण अफ्रिका भ्रमणका क्रममा उनी घाइते भएको समाचारमा जनाइएको छ ।
एडम मिल्नको स्थानमा न्युजिल्यान्डको विश्वकप टोलीमा काइल जेमिसनलाई स्थान दिइएको छ । ३१ वर्षीय जेमिसन दायाँ हाते मध्यम तेज गतिका बलर हुन् ।
उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको क्रिकेट खेल्दै एक सय ३० भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिइसकेका छन् । जेमिसनले २४ टी–२० अन्तर्राष्ट्रियमा २३ विकेट लिएका छन् ।
‘मिल्नेले आगामी विश्वकपको लागि गतिलो तयारी गरेका थिए । उनी घाइते हुनु हाम्रा लागि दु:खद पक्ष हो,’ न्युजिल्यान्डका प्रमुख प्रशिक्षक रब वाल्टरले भनेका छन् ।
आईसीसी टी–२० विश्वकपको १०औं संस्करण आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म श्रीलंका र भारतमा संयुक्त रुपमा आयोजना हुँदैछ ।
न्युजिल्यान्ड विश्वकपको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा अफगानिस्तान, क्यानडा, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) पनि छन् ।