२० असार २०८३, शनिबार
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट

जित्नै पर्ने दबाबबीच अफ्रिकी च्याम्पियन जिम्बाब्वेसँग भिड्दै नेपाल

माघ १०, २०८२
काठमाडौं
जित्नै पर्ने दबाबबीच अफ्रिकी च्याम्पियन जिम्बाब्वेसँग भिड्दै नेपाल

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा लगातार दुई खेल हारेपछि दबाबमा परेको नेपाली टोलीले शनिबार आफ्नो तेस्रो खेल खेल्दैछ ।

नेपालले तेस्रो खेल जिम्बाब्वेसँग खेल्न लागेको हो । नेपाल र जिम्बाब्वेबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे शुरू हुनेछ ।

जारी प्रतियोगितामा जिम्बाब्वेले आफ्नो चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेपाल र जिम्बाब्वे दुवै हालसम्म अंकविहीन अवस्थामा छन् ।

समूह ‘बी’ तालिकाको पहिलो स्थानमा आसिन नेदरल्यान्ड्सले लगातार तीन खेल जित्दै ६ अंक बटुलेको छ । नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ ।

दुई खेलबाट चार अंक जोडेको थाइल्यान्ड तालिकाको दोस्रो स्थानमा आसिन छ । थाइल्यान्डले अझै दुई खेल खेल्न बाँकी छ ।

दुई खेलबाट दुई अंक हात पारेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा आसिन छ । दुई खेल खेलेको आयोजक नेपाल र तीन खेल खेलेको जिम्बाब्वेले अंक बटुल्न सकेका छैनन् ।

त्यसैले प्रतियोगिताको ‘सुपर–६’ चरणमा स्थान बनाउने सम्भावना जिवित राख्न जिम्बाब्वेविरुद्धको खेलमा नेपाली टोलीसँग जितको विकल्प छैन ।

छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान रहेको छ ।

हालसम्मको स्थितिमा समूह ‘बी’ बाट नेदरल्यान्ड्स ‘सुपर–६’ चरणमा पुगिसकेको छ भने नेपालभन्दा थाइल्यान्ड र स्कटल्यान्ड बलियो स्थितिमा रहेका छन् ।

नेपाली टोली आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

जिम्बाब्वेको टोली भने आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सले २२ रनले, थाइल्यान्डसँग एक रनले र स्कटल्यान्डसँग पाँच विकेटले पराजित भएको थियो ।

जारी प्रतियोगितामा नेपाली टोलीको ब्याटिङ र बलिङ दुबै पक्ष फितलो देखिएको छ । त्यसमध्ये पनि माथिल्लो क्रमका ब्याटरहरू चल्न नसक्नु नेपालका लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनेको छ ।

छनोट प्रतियोगिताको थाइल्यान्डविरुद्धको खेलमा नेपाली टोलीका लागि बिन्दू रावलवाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । बिन्दूले ५६ बलमा ६ चौकाको मद्दतले ४४ रन बनाएकी थिइन् ।

अर्की ओपनर सम्झना खड्का (२६ रन), उप–कप्तान पूजा महतो (१२ रन) र रुविना क्षेत्री (१७ रन) ले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २२ रनमात्र बनाउन सकेको थियो । थाइल्यान्डले १६.५ ओभरमै दुई विकेट गुमाएर विजयलक्ष्य पार गरेको थियो ।

null

नेदरल्यान्ड्सविरुद्धको खेलमा भने नेपाली टोली थोरै अन्तरले जितबाट चुकेको थियो । उक्त खेलमा माथिल्लो क्रमका नेपाली ब्याटरहरुको प्रदर्शन बिर्सनलायक थियो ।

एक सय ४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले एकपछि अर्को गर्दै शुरूआती विकेटहरू गुमाएको थियो ।

ओपनर बिन्दू रावल १८ र सम्झना खड्का १४ रनमै आउट भएका थिए । पूजा महतो (८ रन), कप्तान इन्दू बर्मा (६ रन) र काजल श्रेष्ठ (४ रन) पनि एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए ।

छैटौं नम्बरमा क्रिज समाल्न आएकी रुविना क्षेत्री (अविजित ३७ रन) र नवौं नम्बरकी ब्याटर सीता रानामगर (अविजित २७ रन) ले अन्तिम समयमा सक्दो प्रयास गरे नेपालले हार टार्न सकेन ।

ग्लोबल छनोट शुरू हुनुअघि खेलिएको औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीको प्रदर्शन सन्तोषजनक थिएन । नेपाली टोली दुबै अभ्यास खेलमा पराजित भएको थियो ।

पहिलो खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकासँग ६ विकेटले हारेको थियो । दुबै अभ्यास खेलमा नेपाली टोलीको ब्याटिङ र बलिङ कमजोर देखिएको थियो ।

आयरल्यान्डविरुद्धको अभ्यास खेलमा दुई सय एक रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीका केवल तीन ब्याटरले दोहोरो अंकमा रन बनाएका थिए ।

सातौं नम्बरमा क्रिज समाल्न आएकी कविता जोशीले सर्वाधिक २८, ओपनर बिन्दू रावलले २५ र कप्तान इन्दू बर्माले १२ रन बनाएका थिए । अन्यले त पाँचभन्दा बढी रनसम्म बनाउन सकेनन् ।

यसैगरी, अमेरिकाविरुद्धको दोस्रो औपचारिक अभ्यास खेलमा पनि नेपाली टोलीका ब्याटरको प्रदर्शन निराशाजनक थियो । ओपनर बिन्दू रावलले सर्वाधिक २७ रन बनाएकी थिइन् ।

सम्झना खड्काले २४, पूजा महतोले १७, कविता जोशीले २० र रोमा थापाले १९ रन बनाएका थिए । अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

त्यसैले शनिबार हुने जिम्बाब्वेविरुद्धको खेलमा नेपाली टोलीले ब्याटिङ र बलिङमा सुधार ल्याउनुको विकल्प देखिँदैन । यद्यपि, जारी प्रतियोगितामा जिम्बाब्वे सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ ।

नेपाल एसियाली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वस्तरीय छनोटमा उपस्थित भएको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगितामा थाइल्यान्ड पहिलो र नेपाल दोस्रो भएका थिए ।

यसैगरी, जिम्बाब्वे अफ्रिकी क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय छनोटमा प्रवेश गरेको हो । अफ्रिकी क्षेत्रको छनोट प्रतियोगितामा जिम्बाब्वे पहिलो भएको थियो ।

छनोट चरणमा युगान्डा, तान्जिनिया, केन्या, रुवान्डाजस्ता बलिया प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै नेपालको यात्रा पक्का गरेकोले विश्वस्तरीय छनोट प्रतियोगितामा जिम्बाब्वेलाई कमजोर आँक्नु भुल हुनेछ ।

जारी ग्लोबल छनोट प्रतियोगिताबाट चारवटा टोली आगामी आईसीसी महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

प्रारम्भिक चरणको खेलपछि दुईवटै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी विश्वकपमा स्थान बनाउने छन् ।

यद्दपि, ‘सुपर–६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छ ।

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप–कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना कुमारी चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनिषा उपाध्याय रहेका छन् ।

यसैगरी जिम्बाब्वेको टोलीमा चिपो मुगेरी–टिरीपानो (कप्तान), बिलभ्ड बिजा, क्रिस्टेबेल चाटोन्ज्वा, चिएड्जा धुरुरु, न्याशा ग्वान्जुरा, लिन्डोकुहले माभेरो, अड्रे माज्विशाया, मोडेस्टर मुपाचक्वा, क्रिस्टिन मुटासा, केलिस एनधोलु, जोसेफिन एनकोमो, लोरिन फिरी, नोम्भेलो सिबान्डा, लारेन सुमा र एडेल जिमुनु रहेका छन् ।

शनिबारका अन्य तीन खेल

ग्लोबल छनोट प्रतियोगितामा शनिबार अन्य तीन खेल पनि हुनेछन् । समूह ‘बी’ मै रहेका स्कटल्यान्ड र थाइल्यान्ड पनि आसिमा भिड्ने छन् ।

थाइल्यान्ड र स्कटल्यान्डबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । उक्त खेलमा विजयी भए थाइल्यान्ड प्रतियोगिताको ‘सुपर–६’ चरणमा पुग्नेछ ।

उक्त खेलमा स्कटल्यान्ड विजयी भए नेपालमाथि थप दबाब पर्नेछ । थाइल्यान्ड र स्कटल्यान्डले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् ।

यसैगरी, समूह ‘ए’ मा रहेका नामिबिया र पपुवा न्यू गिनी (पीएनजी)बीच पनि शनिबार नै खेल हुनेछ । उक्त खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे शुरू हुनेछ ।

सोही समूहको अर्को खेल बंगलादेश र आयरल्यान्डबीच खेलिने छ । आयरल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो १ बजे मुलपानी क्रिकेट मैदानमै शुरू हुनेछ ।

जारी प्रतियोगितामा नामिबिया र पीएनजीले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । बंगलादेशले चौथो र आयरल्यान्डले तेस्रो खेल खेल्न लागेका हुन् ।

तीनवटै खेलमा विजयी भएको बंगलादेश ६ अंकसहित यसअघि नै ‘सुपर–६’ चरणमा प्रवेश गरिसकेको छ । अघिल्ला दुवै खेलमा विजयी भएको आयरल्यान्ड चार अंकसहित दोस्रो स्थानमा छ ।

यसैगरी, तीन खेलबाट दुई अंक हात पारेको अमेरिका तालिकाको तेस्रो स्थानमा छ । पीएनजी र नामिबियाले भने अंक जोड्न सकेका छैनन् ।

शनिबारको खेलमा विजयी भए आयरल्यान्ड पनि ‘सुपर–६’ चरणमा पुग्नेछ । बंगलादेशसँग पराजित भए आयरल्यान्डले ‘सुपर–६’ चरणमा पुग्न थप संघर्ष गर्नु पर्नेछ । पीएनजी र नामिबियाको पनि अगाडि बढ्ने सम्भावना जीवितै छ ।

salt training

कमेन्ट गर्नुहोस्