
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापालाई उत्कृष्ट मिडिया समन्वय पुरस्कार प्रदान गरिएको छ।
माघ ९ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित प्रभातकालीन विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रशंसापत्र प्रदान गरेका हुन्। यससँगै थापा संगठनबाट चौथोपटक पुरस्कृत भएका छन्।
संगठनका गतिविधि छिटो, छरितो र सहज ढंगले सञ्चारमाध्यमसम्म पुर्याई प्रचार–प्रसारमा प्रभावकारी भूमिका निर्वाह गरेबापत सशस्त्र प्रहरी नायब उपरीक्षक थापालाई उक्त पुरस्कार प्रदान गरिएको हो। हाल उनी सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्ताको जिम्मेवारीमा कार्यरत छन्।
यसअघि थापालाई २०७७ सालमा २०औँ सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धित उजुरी तथा गुनासो समाधान र व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेको भन्दै पुरस्कृत गरिएको थियो। त्यस्तै, २१औँ सशस्त्र प्रहरी दिवस २०७८ मा स्टाफ ड्युटीमा उत्कृष्ट कार्य गरेबापत र २४औँ सशस्त्र प्रहरी दिवस २०८१ मा आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको थियो।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)सहित थापा चौथोपटक संगठनबाट पुरस्कृत भएका हुन्। आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका थापाले करिब सात वर्ष मूलधारको मिडियामा पत्रकारिता गरेपछि २०६४ सालमा सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षक पदमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेका थिए।
सञ्चारमाध्यमसँग समन्वय गर्न उनी दक्ष र अनुभवी मानिन्छन्।