
भारतले ४० करोडभन्दा बढी ५जी प्रयोगकर्ता पुगेको घोषणा गरेको छ, यससँगै चीनपछि विश्वको दोस्रो ठूलो ५जी बजार भारत बनेको छ ।
भारतले अमेरिका, युरोपेली संघ (ईयू) र जापानलाई पछाडि पार्दै छिटो ५जी विस्तार गर्ने मुलुकमध्ये अग्रस्थान हासिल गरेको हो ।
यस उपलब्धिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सञ्चार तथा उत्तर–पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धियाले भारतले 'मापन, गति र डिजिटल रूपान्तरणमा नयाँ विश्वव्यापी मापदण्ड स्थापना गरिरहेको' बताएका छन् ।
मन्त्रीले उद्धृत गरेको तथ्याङ्कअनुसार भारतको ५जी प्रयोगकर्ता संख्या अमेरिकाको करिब ३५ करोड, युरोपेली संघको २० करोड र जापानको १९ करोडभन्दा बढी छ । चीन भने एक अर्बभन्दा बढी ५जी जडानसहित विश्वको अग्रणी बजारका रूपमा कायम छ ।
भारतमा व्यावसायिक ५जी सेवा अक्टोबर २०२२ मा शुरू गरिएको हो । शुरूआतमा केही शहरमा सीमित रूपमा शुरू भएको सेवा छोटो समयमै देशभर विस्तार गरिएको छ । निजी दूरसञ्चार सेवा प्रदायक भारती एयरटेल र रिलायन्स जियो इन्फोकम पहिलो रूपमा ५जी सेवा शुरू गर्ने कम्पनी हुन्, जसले पहिलो वर्षमै ५–५ करोड प्रयोगकर्ता पुगेको बताएका थिए ।
भोडाफोन आइडियाले भने २०२५ मा केही सहरबाट ५जी सेवा शुरू गरेको हो । त्यस्तै, सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी बीएसएनएलले पनि यसै वर्ष ५जी सेवा शुरू गर्ने अपेक्षा गरिएको छ । सरकारी अधिकारीहरूका अनुसार बीएसएनएलको ५जी विस्तार भारतमै विकसित स्वदेशी दूरसञ्चार प्रविधि (C-DOT, तेजस नेटवर्क्स र टाटा कन्सल्टेन्सी सर्भिसेस–TCS) मा आधारित हुनेछ ।
सरकारी तथ्याङ्कअनुसार २०२५ को अन्त्यसम्म भारतभर सञ्चालनमा रहेका ५जी बेस स्टेसनको संख्या ५ लाख १८ हजार ८५४ पुगेको छ । यो संख्या वर्षको शुरूआतमा करिब ४ लाख ६४ हजार ९९० थियो ।
डिसेम्बर २०२५ मा मात्रै स्थानीय अपरेटरहरूले थप ४ हजार ११२ वटा ५जी बेस ट्रान्ससिभर स्टेसन (BTS) स्थापना गरेका थिए, जसले देशभरको कुल संख्या ५ लाख १८ हजार ८५४ पुर्याएको दूरसञ्चार विभाग (DoT) ले जनाएको छ ।