२० असार २०८३, शनिबार
कोशीमा रमिता

काठमाडौंमा रहेका सांसदको नामबाट कोशीमा ‘फर्जी मत’ खसेपछि...

माघ ११, २०८२
काठमाडौं
काठमाडौंमा रहेका सांसदको नामबाट कोशीमा ‘फर्जी मत’ खसेपछि...

आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशी प्रदेशमा जुन दृश्य देखियो, त्यसले नेपालको निर्वाचन प्रणाली र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।

एकातिर काठमाडौंमा बसिरहेका सांसदको नाममा विराटनगरमा फर्जी मत खसालिएको छ भने, अर्कातिर नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरूको बलियो भनिएको गठबन्धनलाई लत्याउँदै जनप्रतिनिधिहरूले नै खुल्लमखुला फ्लोर क्रस गरेका छन् ।

यो निर्वाचनको सबैभन्दा कलंकित पक्ष भनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेश सभा सदस्य प्रेमराज थाम्सुहाङको नाममा खसेको फर्जी मत हो । सांसद थाम्सुहाङ विगत तीन दिनदेखि काठमाडौंमा छन् ।  

उनी भौतिक रूपमा विराटनगरको मतदान स्थलमा उपस्थित नै थिएनन् । तर, निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतदान गर्नेहरूको सूचीमा उनको नाम समावेश छ ।

सांसद थाम्सुहाङले काठमाडौंबाट आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘म तीन दिनदेखि काठमाडौंमा छु, आज पनि यतै छु । मैले मतदान गरेको छैन, तर मेरो नाममा कसले भोट हाल्यो ? यो सरासर अपराध हो ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत आफ्ना सांसद काठमाडौंमै रहेको र उनले मतदान नगरेको पुष्टि गरिसकेका छन् । तर, मुख्य निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले भने उनीहरूको नाममा मतदान भएको देखिएको भन्दै लाचारी प्रकट गरेका छन् । उनले भने, ‘कागजात सिलबन्दी भइसकेकाले अब हस्ताक्षर रुजु गर्न सकिने अवस्था छैन, अदालतमा मुद्दा परे मात्र छिनोफानो होला ।’

अर्कातर्फ, कांग्रेस–एमाले गठबन्धनको भोट क्रस भएको देखिएको छ ।

कोशीमा नेकपाको कुल मतभार मात्र १५८५ थियो ।  तर, परिणाम सार्वजनिक हुँदा नेकपाका उम्मेदवारहरूले आफ्नो वास्तविक मतभार भन्दा निकै बढी मत ल्याएका छन् ।

नेकपाकी महिला उम्मेदवार नमिता न्यौपानेले गठबन्धनका ५ प्रदेश सांसद र २२ स्थानीय तहका पदाधिकारीको मत चोर्न सफल भइन् । उनले ६८३ थप मतभार बटुलिन् ।  

त्यस्तै, दलिततर्फका उम्मेदवार खेम सुन्दासले पनि १ प्रदेश सांसद र २१ स्थानीय तहका पदाधिकारीको मत तान्न सफल भए । उनले ४५२ थप मतभार बटुलेका छन् ।  

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता समेत रहेका पार्टी सभापति उद्धव थापाले नै भोट पैँचो दिएको बताए ।

उनले नेकपाले कांग्रेसका सुनिल थापालाई निर्विरोध गराउन सहयोग गरेको बदलामा यताबाट भोट गएको हुन सक्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्