
पोखरामा जारी छैटौं एनसेल टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सोमबार सम्पन्न पुरुषतर्फको खेलमा गण्डकी प्रदेश भलिबल संघ विजयी भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको खेलमा गण्डकीले बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटले हराएको हो ।
नतिजा चौथो सेटमै आए पनि गण्डकी र आर्मीबीचको खेल अत्यन्तै प्रतिस्पर्धात्मक थियो । खासगरी पहिलो र तेस्रो सेटको खेल निकै रोमाञ्चक थियो ।
अत्यन्तै प्रतिस्पर्धात्मक पहिलो सेटमा गण्डकी प्रदेशको टोलीले विभागीय टोली आर्मीलाई ३३–३१ अंकले पछि पारेका थियो ।
आर्मीले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेटको नतिजालाई २५–१५ अंकले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट पनि निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो ।
तेस्रो सेटमा गण्डकी प्रदेशले आर्मीलाई ३३–३१ अंकले पछाडि पार्यो । चौथो सेटको खेल भने खासै प्रतिस्पर्धात्मक रहेन । चौथो सेटमा गण्डकीले आर्मीलाई २५–१९ अंकले पछि पार्यो ।
त्यसअघि, सोमबार नै खेलिएको पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले माल्दिभ्सलाई २५–२०, २५–१८ र २५–२० अंकले हराएको थियो ।
प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोलीको सहभागिता रहेको छ । महिलातर्फ न्यु डायमण्ड, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र थाइल्याण्ड क्विन्स सहभागी छन् ।
पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टोली सहभागी छन् ।