
निर्वाचनको सरगर्मी दिन प्रतिदिन बढ्दै जाँदा निकै पुरानो र विघटित प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसका उम्मेदवार तथा नेता-कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् ।
२७-३० पुसमा भएको विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा कार्यसमिति चयन गरेपश्चात् कांग्रेसभित्र नयाँ ऊर्जा भरिएको विश्लेषण गर्न थालिएको छ । समानुपातिक र प्रत्यक्षतर्फ बढीभन्दा बढी नयाँ अनुहारलाई समेटेर निर्वाचनमा होमिएको कांग्रेस आसन्न निर्वाचनका लागि बढी नै उत्साहित देखिएको छ ।
एकातिर सिङ्गो संरचना बदलेको, पुराना अनुहारलाई पाखा लगाएर नयाँलाई स्थान दिएको तथा विशेष महाधिवेशनले नयाँ ऊर्जा भरेको दाबी गरिरहँदा के कांग्रेसले आफ्नो पुरानो रोग (अन्तर्घात)बाट मुक्ति पाउँछ त ? भन्ने उत्तिकै अहम् प्रश्न तेर्सिएको छ ।
निर्वाचनको समयमा कांग्रेसभित्रको ऐजेंरू भनेको ‘अन्तर्घात’ नै हो । ‘आफूले टिकट पाए ठीक, अरूले पाए चुनाव हराइदिन्छु’ भन्ने अन्तर्घातको रोग कांग्रेसभित्र दशकौंदेखि स्थापित छ ।
यही अन्तर्घातकै रोगका कारण ५० कै दशकमा सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले चुनाव हार्नुपर्यो । त्यसबेला गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई चुनाव हराएको भनेर आजसम्म विश्लेषण हुने गरेको छ । त्यसअघि र पछि पनि अन्तर्घातका कारण धेरै नेताले चुनाव हार्नुपरेको छ ।
नेपाली कांग्रेसलाई नजिकबाट बुझेका वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल २०४८ सालदेखि गिरिजाप्रसाद कोइरालाले रोपेको अन्तर्घात नामक वृक्षका जराहरू झन्-झन् फैलिँदै र हाँगाहरू झाँगिदै गएको टिप्पणी गर्छन् ।
‘पार्टीमा गिरिजाप्रसादले रोपेको अन्तर्घातको वृक्ष फैलिँदै गएको छ,’ दाहालले लोकान्तरसँग भने, ‘यसलाई हटाउने तागत र नियन्त्रण गर्ने सामर्थ्य अहिलेसम्म कुनै कांग्रेसीसँग देखिएको छैन ।’
गुट-उपगुटले जकडकिएको कांग्रेसभित्र केन्द्रदेखि वडा तहसम्म त्यसको असर छ । एक समूहले अर्कोलाई नरुचाउने पुरानो प्रचलन कांग्रेसमा हाबी हुँदै आएको हो । जस्तो कि, सुर्खेतमा पूर्णबहादुर खड्का र हृदयराम थानी समूहबीच ठूलो लडाइ छ । भलै यी दुवै यसपटक चुनाव लड्दै छैनन् ।
नुवाकोटमा अर्जुन नरसिंह केसी भर्सेस रामशरण महत फाइट पुरानै हो । उनीहरूको भाइहरूको समयमा पनि समस्या उस्तै रह्यो । धनुषामा महेन्द्र यादव भर्सेज डा. चन्द्रमोहन यादव समूहको लडाईं छ ।
‘तपाईंहरूलाई थाहै छ नि, जिल्लामा केसी भर्सेज महतको लडाईं । जसले पायो एक अर्कालाई हराउने खेल चल्छ,’ केही दिनअघि अनुपम फूडल्यान्डमा नुवाकोटका एक नेताले सुनाए, ‘दुवै उठेका छन् । कसले अरूको कति मत चोर्न सक्छन् भन्ने मात्र न हो ।’
यसबाहेक कांग्रेसभित्र देशका अन्य जिल्ला र निर्वाचन क्षेत्रमा परिस्थिति सहज छैन । सोलुखुम्बुमा बलबहादुर केसी र आंगेलु शेर्पा पक्ष उस्तै लडाइँमा छन् । केसीले २०७९ को निर्वाचन हारेपश्चात् आफ्नै दलभित्रको मान्छेले चुनाव हराएको आरोप लगाएका थिए ।
यसपटक अन्तिम अवस्थामा ओखलढुङ्गामा रामहरि खतिवडाको टिकट खोसिनु, दोलखामा चुनाव लड्न भन्दै कुन्दन काफ्लेले प्रदेशबाट राजीनामा दिनुजस्ता 'फ्याक्टर'ले कांग्रेस अन्तर्घातको कथा यसपटक पनि झन् संस्थागत भएर अगाडि बढ्छ भन्ने मतलाई बलियो बनाउँछ ।
विश्लेषक दाहाल भने आगामी निर्वाचनमा कांग्रेसभित्र अन्तर्घातको शिलशिलामा कसरी अघि बढ्छ भनेर विश्लेषण गर्न हतारो हुने तर्क गर्छन् । ‘हप्ता दिनपश्चात परिस्थिति कता जान्छ, थाहा हुन्छ । अहिले विश्लेषण गर्न हतारो हुन्छ,’ दाहाल थप्छन् ।
के छ कांग्रेसभित्रको तयारी ?
२१ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसले १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ । विगतमा जस्तो यसपटक पार्टीले गठबन्धनको टेको समाएर ‘चुनाव नामक वैतरणी तर्न’ चाहेन ।
३५ वर्ष मुनिका ४ जना तथा देशभर ११ जना महिला उम्मेदवारलाई प्रत्यक्षमा टिकट दियो । विशेष महाधिवेशनले तत्कालीन महामन्त्रीद्वय गगन थापालाई सभापति तथा विश्वप्रकाश शर्मालाई उपसभापतिको जिम्मेवारी दिएसँगै उनीहरूले देशभर टिकट बाँडे । यी दुईले बाँडेको टिकटमा न्याय नपाएका नेताहरूले मात्र होइन, सम्भव भए जति समावेशी र युवा पुस्तालाई अवसर दिने प्रयास पनि गरियो ।
सभापति थापाको हस्ताक्षरमा चुनाव नलड्ने भन्दै तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट लिएनन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का मात्र होइन, देउवाका विश्वास पात्र रमेश लेखकले समेत टिकट पाएनन् । एनपी साउदले टिकट लिए पनि नेताहरू वीरबहादुर बलायरले चुनाव नलड्ने अडान लिए । अर्थात्, देउवाको गृह प्रदेश सुदूरपश्चिम प्रदेशमै देउवा समूहको उपस्थिति कमजोर देखियो ।
यतिमात्र होइन, संस्थापक नेता बीपी कोइराला पुत्र शशांक कोइराला तथा गणेशमान सिंह पुत्र प्रकाशमान सिंहले टिकट पाएनन् । वर्षौंदेखि अवसर खाँदै आएका अर्जुनरसिंह केसीले समानुपातिक सीट पक्का गरे । पटक-पटक भ्रष्ट भन्दै आलोचनाको शिखरमा रहेका विजयकुमार गच्छदार, ज्ञानेन्द्रबहादुर कार्कीसहित केही नेताले अपवादमा टिकट पाए । तर, हिजो विशेष महाधिवेशनको विपक्षमा उभिएका र गुटगत छलफल गर्दै विशेष हुन रोक्ने अधिकांश नेताहरूले टिकट पाएनन् । बालकृष्ण खाँण, रामहरि खतिवडा, गुरू बराल, मीन विश्वकर्मा, राजीव ढुंगाना, कुन्दन काफ्लेजस्ता धेरै केन्द्रीय नेताहरू टिकट पाउनबाट वञ्चित रहे ।
वर्तमान संस्थापन पक्षले असन्तुष्ट समूहलाई टिकटमा र अन्य चुनावी प्रक्रियामा रिझाउन नसक्दाको असर आगामी निर्वाचनको मतदान प्रक्रियामा पर्छ कि भन्ने भय कांग्रेसभित्र छ । बागी र विद्रोही उम्मेदवार नउठाए पनि देउवा समूहले माथिबाटै निर्णय गरेर समस्या खडा गर्छन् कि भन्ने भय पार्टीभित्र छ ।
असन्तुष्ट समूहले राष्ट्रिय सभा निर्वाचनपश्चात राजधानी काठमाडौंमा भेला गर्ने तयारी गरिरहेको चर्चा यसबीचमा चलेको थियो । देउवा समूहका नेता गुरू बराल सबै आरोपहरूको खण्डन गर्छन् । उनी आसन्न निर्वाचनमा कांग्रेसको रूख र चारतारे झन्डामुनिका सबै उम्मेदवारलाई जिताउने उद्देश्य रहेको बताउँछन् ।
‘विषय व्यक्तिको होइन, विषय हो पार्टी र आम उम्मेदवारको । हाम्रो दायित्व रूख र चार तारे झन्डालाई जिताउनु हो,’ बरालले लोकान्तरसँग भने, ‘हामी छलफल गर्छौं, असन्तुष्टि त्यहीँ अन्त्य गर्छौं र एक ढिक्का भएर कांग्रेस जिताउने निर्णयसहित लागिपर्छौं ।’
देउवा पक्षका अर्का नेता मीन विश्वकर्माले पनि रूख चिह्नमा बहुमत ल्याउनेमा आफूहरू केन्द्रित रहेको बताएका छन् ।
'अहिले हाम्रो पार्टीभित्र कुनै मतभेद छैन र सबैको ध्यान निर्वाचन र रूख चिह्नमा बहुमत ल्याउनमै केन्द्रित छ । राष्ट्रिय सभा निर्वाचनलगत्तै देउवा–खड्का पक्षले पार्टीको राष्ट्रिय भेला बोलाउने भन्ने समाचार कपोलकल्पित हल्ला मात्र हो,' विश्वकर्माले फेसबूकमा लेखेका छन् ।
के भन्छ संस्थापन पक्ष ?
एकातिर विशेष महाधिवेशनले उत्साह थपिरहँदा अर्कोतर्फ भने विषय निर्वाचन आयोग हुँदै अदालत पुगेको छ । यसले पनि पार्टीभित्र दुई ध्रुव खडा गरेकै छ । देउवा समूहले आधिकारिकताको विषयमा अदालतले दिने निर्णय स्वीकार्य हुने भनी दाबी गरिरहँदा त्यस अनुसारको व्यवहार र आचरण प्रस्तुत हुन्छ त ? भन्ने प्रश्न पनि छ ।
अझ गाउँ-गाउँमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने र नगर्नेबीचमा पनि कित्ताकाटमा कमी आएकै छैन । विगतमा भएका निर्वाचनमा कांग्रेसभित्र हुने राजनीतिलाई विश्लेषण गर्दा पनि सहज रूपमा ‘मन माझेर कांग्रेसीहरू’ एक ढिक्का भएर अघि बढ्छन् भनिहाल्न सकिँदैन ।
संस्थापन समूहकी नेतृ प्रतिमा गौतम हुन सक्ने क्षति कम गर्नका लागि आफूहरूले प्रयास र पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन कामहरू गरिरहेको बताउँछिन् ।
उनी विशेष महाधिवेशनपश्चात् अन्योलको अवस्था र असन्तुष्टिको अवस्था रहे पनि ती सबै न्यूनीकरणको बाटोमा लागेको दाबी गर्छिन् ।
‘जब सबै नेताहरू सभापतिजीको हातबाट टिकट लिएर निर्वाचनमा होमिनुभयो, तब परिस्थिति क्रमशः स्पष्ट हुँदै गयो,’ उनी भन्छिन्, ‘प्रायः टिकट पाउने र उम्मेदवार बन्नुपर्ने सबै नेताहरू स्वयं उम्मेदवारका रूपमा मैदानमा उत्रिनुभएको छ । यसले पार्टीभित्र एकताको अवस्था देखाएको छ ।’
टिकट वितरण र अवसर दिँदा पनि हस्ताक्षर गरेको वा नगरेको नहेरी, सबैलाई मिलाउन अधिकतम लचकता अपनाइएको उनको भनाइ छ ।
‘लचिलो भएर टिकट वितरण गर्ने क्रममा हिजो विशेष अधिवेशनमा सभापतिजीलाई दृढ सहयोग गरेका केही साथीहरू समेत प्रभावित भएका छन्,’ उनी थप्छिन्, ‘सबै कुरा बिर्सेर पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा लैजान सकिन्छ भन्ने बुझाइका साथ सबैले त्यो अवस्थालाई स्वीकार गर्दै अगाडि बढ्नु सुखद पक्ष हो ।’
हिजो अन्तर्घातको चर्चा भए पनि आजको अवस्था र परिस्थिति फरक भएको दाबी उनको छ । ठूलो र पुरानो पार्टीमा स-साना असन्तुष्टि रहनु स्वभाविक हुने र त्यसलाई ब्यालेन्स गर्दै लैजाने दिशामा नेतृत्व अघि बढिसकेको भनाइ उनको छ ।
हुन पनि कांग्रेसलाई अन्तर्घात गरेर पार्टी हराउने भए त्यसले फाइदा अरूलाई नै पुग्ने हो भन्नेमा नेताहरू देखिएका छन् । पुराना दलको विकल्पमा वैकल्पिक शक्तिहरू उदाइरहेकै छन् ।
पुराना दल देशका शत्रु हुन् र यिनीहरूले देश सिध्याए भन्ने भाष्य बनाउन सिङ्गो सोसल मिडिया क्याम्पेनिङ भइरहेको अवस्थामा मिल्नुको विकल्प नरहेको कांग्रेसकै एक नेता बताउँछन् ।