
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि प्रमुख राजनीतिक दलका उम्मेदवारबीच कडा टक्कर हुने गरेको भए पनि यसपटक नागरिकमा देखिएको परिवर्तनको लहरले प्रतिस्पर्धा विस्तार हुने देखिएको हो।
गुल्मी-२ मा नेकपा (एमाले)का उपाध्यक्ष गोकर्ण विष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का श्रीराम महतलगायत चुनावी मैदानमा छन्।
२६ वर्षअघिदेखि निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका पूर्वमन्त्री विष्टलाई यही क्षेत्रले संसदीय र पार्टी राजनीतिको ‘करियर’ बनाउने अवसर दिइरहेको हो। २०५६ सालदेखि चुनाव लड्दै आएका उपाध्यक्ष विष्टले २०६४ को संविधानसभाबाहेक यसअघिका अन्य चुनावमा जीत निकालेका छन्। प्रभावशाली नेता विष्ट २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर थापा ‘सागर’सँग झिनो मतले पराजित भएका थिए।
अघिल्लो निर्वाचन (२०७९) मा कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादी (नेकपा एस)को संयुक्त गठबन्धनबाट महिला नेतृ रामकुमारी झाँक्रीसँग कडा प्रतिस्पर्धा भए पनि विष्टले जीत निकालेका थिए। विष्टले २८ हजार ४७६ मत प्राप्त गरेका थिए भने झाँक्रीले २६ हजार ४४१ मत ल्याएकी थिइन्। अघिल्लो निर्वाचनमा उनकी प्रतिस्पर्धी झाँक्री पनि एमालेमै फर्किसकेकी छन्।
झाँक्री एमालेबाट राष्ट्रियसभामा निर्वाचित भएसँगै विष्टलाई ठूलो सहयोग र साथ मिल्ने र जीत सुनिश्चित रहेको एमाले नेता बालसिंह काउछा दाबी गर्छन्। राष्ट्रिय राजनीतिमा विष्टको प्रभावकारी उपस्थिति र मन्त्री तथा सांसद हुँदा जिल्लामा गरेका विकास निर्माणका कामले उनलाई मत माग्न सहज देखिएको उनको भनाइ छ।
विकास निर्माणका योजनामा बजेट विनियोजन गर्नेदेखि जनतासँगको सहज घुलमिलले विष्टलाई मतदातासम्म पुग्न सजिलो छ। गुल्मीका जनताले विष्टलाई विकासप्रेमी नेताका रूपमा चिन्ने गर्छन्। यद्यपि, उनलाई रोक्ने प्रयासमा कांग्रेसका नेता श्रेष्ठ र रास्वपाका पन्थीले आफ्नो सक्रियता बढाएका छन्। उपाध्यक्ष विष्टसँग हाल चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार नयाँ अनुहार हुन्।
कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ कांग्रेसका पूर्वजिल्ला सभापति हुन्। जिल्लामा परिचित नेता श्रेष्ठ २०७४ सालको स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको प्रमुख पदमा पराजित भएका थिए भने २०७९ को लुम्बिनी प्रदेशसभा निर्वाचनमा गुल्मीको क्षेत्र नम्बर–२ (क) बाट पनि हार व्यहोरेका थिए। श्रेष्ठले जनतामाझ सरल र मिलनसार नेताको पहिचान बनाएका छन्। पुरानो र अनुभवी नेता भएकाले यसपटक श्रेष्ठले मत बढाउने मात्र नभई विजयी हुने कांग्रेसको दाबी छ।
कांग्रेस जिल्ला सभापति तथा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले गुल्मी–२ मा यसपटक कांग्रेसले कम्युनिस्टको गढ तोड्ने दाबी गरे। ‘गोकर्णजी लामो समय जित्नुभयो,’ सभापति पन्थीले भने, ‘यसपटक कांग्रेसले गुल्मीका दुई क्षेत्रमा आफ्नो झन्डा फहराउने गरी लागेको छ, जित्छ पनि। भुवन श्रेष्ठ जनतामा भिजेका तथा नागरिकका चाहना र आवश्यकता चिनेर काम गर्ने नेता भएको गुल्मी–२ बासीले बुझिसकेका छन्।’
यता, रास्वपा घरदैलोमा निस्किसकेको छ। गुल्मी–२ मा रास्वपाले गुल्मी–१ का उम्मेदवार इन्जिनियर सागर ढकाललाई चुनावी प्रचारमा हिँडाएको छ। रास्वपाका उम्मेदवार पन्थी अधिवक्ता तथा पूर्वडीएसपीसमेत हुन्।
नेकपाबाट उम्मेदवार बनेका महत जुझारु, मिलनसार र कर्तव्य पालना गर्नेमध्येका एक मानिन्छन्। पूर्वएमाले उनी पार्टी विभाजन हुँदा रामकुमारी झाँक्रीसँगै नेकपा एसमा लागेका थिए। झाँक्री एमालेमा फर्किए पनि उनी नेकपामा रहेर उम्मेदवार बनेका हुन्।
जिल्लाको विकास निर्माणको अवस्था र जनताका आवश्यकतासहित भूगोल राम्रोसँग बुझेका नेताका रूपमा उनको चर्चा हुन्छ। एमाले र कांग्रेसको मत तानेर जित हात पार्न भने महतलाई चुनौती देखिन्छ। गुल्मी–२ परम्परागत रूपमा नेकपा एमालेको आधार क्षेत्रका रूपमा चिनिन्छ। यसपटक भने कांग्रेस, रास्वपा र अन्य दलका उम्मेदवारले कडा चुनौती प्रस्तुत गर्ने देखिन्छ।
एकातिर विष्ट आफ्नो पुरानो पकड कायम राख्न प्रयासरत छन् भने अर्कोतिर नयाँ दल र उम्मेदवारहरूले परिवर्तनको एजेन्डा अघि सार्दै चुनावी प्रतिस्पर्धा तीव्र बनाइरहेका छन्।
विष्ट, श्रेष्ठ, पन्थी र महतसँगै यो क्षेत्रबाट उज्यालो नेपाल पार्टी (उनेपा)का कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालका पदम थापा मगर, मङ्गोल नेशनल अर्गनाइजेसनका बेदबहादुर थापा, राष्ट्रिय जनमोर्चाका ताराबहादुर थापा क्षेत्री, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सन्त नेपाली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जनक सेन उम्मेदवार छन्।
त्यसैगरी भागिरथ थापा, भूमिराज सापकोटा, महेश्वर घिमिरे, मालता घिमिरे, रामप्रसाद घिमिरे, खुबीराम आचार्य, लोकबहादुर पुन, सरस्वती लम्साल, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र फर्सुराम कडेल गरी १२ जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन्।
गुल्मीमा भइरहेको तीव्र बसाइँसराइ रोक्ने योजना, विकास, सडक, रोजगारी र सुशासन प्रायः सबै उम्मेदवारका चुनावी मुद्दा बनेका छन्। यस क्षेत्रमा कूल १ लाख ७ हजार ३६३ जना मतदाता छन्। जसमध्ये पुरुष ५४ हजार ४२३, महिला ५२ हजार ९३८ र अन्य २ जना मतदाता छन्। यो क्षेत्रमा ६२ वटा मतदान स्थल र १२९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।