
छन्द कविताप्रेमीका निम्ति पलेँटीले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सात वर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् ।
छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्व कालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सीमित लयप्रेमी साहित्यिक अनुरागीको रुचिमा बचेको छ ।
स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायाँमा पर्दै गएको हो । खासमा यो विधा वाचन परम्परामा जीवित बन्ने विधा हो । भाकामै छन्दको जीवन्तता छ । भाकाले छन्दलाई बचाउने र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने दुवै कर्म एकसाथ गर्न सक्छ ।
पलेँटी नेपाली मौलिक गायन परम्पराहरूको अभिलेख राख्न सधैँ उत्साहका साथ क्रियाशील रहेको मञ्च हो । यसपालिको पलेँटीमा भूषिताले आफ्नो छन्द वाचनलाई नवरसमा आधारित गरेको जानकारी गराएकी छन् ।
उनले विभिन्न कविका भिन्न रसका रचना छान्दै अभ्यास गरिरहेकी छन् । नेपाली साहित्यका अग्रज कविका कविताका साथै पछिल्लो पुस्ताका रचना समावेश पलेँटीमा भूषिताले आफैंले रचेको कविता पनि प्रस्तुत गर्नेछिन् ।
केहीवर्ष पहिले अमेरिकाबाट ‘क्रिएटिभ राइटिङ’को अध्ययन सकेर आएकी भूषिता हाल धरानमा बस्छिन् । अंग्रेजी भाषाका साथै संस्कृतमा पनि रुचि राख्ने उनी पलेँटीका निम्ति काठमाडौं आइपुगेकी छन् । नेपालयमा पलेँटीका सङ्गीतकर्मीहरूसँग उनको सहकार्य चलिरहेको छ ।
छन्द-पलेँटीलाई नेपालयले एउटा उत्सवका रूपमा लिएको जनाएको छ । यसपालीको छन्द वाचनमा लेखनाथ पौडेल, सोमनाथ सिग्ध्याल, मोतीराम भट्ट, भैरव अर्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, लोकप्रिया देवकोटा, नयराज पन्त, मनोज भण्डारी, भरतमणि भट्टराईका साथै भूषिताका रचनाहरू समावेश हुनेछन् ।
‘आर’शालामा आएर यस कार्क्रमको प्रत्यक्ष आनन्द लिन असमर्थ संसारभरका पलेँटीप्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न, लाइभ हेर्ने व्यवस्था पनि गरिएको छ । पलेँटीकै वेब साइटमार्फत ‘पे पर भ्यु’को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।
छन्द पलेँटीको प्रस्तुति यही जनवरी महिनाको ३० र ३१ तारिख साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा हुनेछ ।