३१ जेठ २०८३, आइतबार
आलेख

सपना देख्न नरोकौं– युवा स्पर्धाले बदल्न सक्छ राष्ट्रको परिभाषा

माघ १४, २०८२
काठमाडौं
सपना देख्न नरोकौं– युवा स्पर्धाले बदल्न सक्छ राष्ट्रको परिभाषा

विश्वविद्यालयबाट कहिल्यै दीक्षित हुन नपाएका एप्पल तथा पिक्सार एनिमेसनका प्रमुख कार्यकारी स्टीभ जब्स स्टान्फोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा विशिष्ट वक्ताका रूपमा निम्त्याइए । दीक्षित युवामा भविष्यप्रति आशा र प्रेरणा जगाउन उनले आफ्नै कथा ‘कनेक्टिङ द डट’लाई मार्मिक ढङ्गले प्रस्तुत गरेका थिए । भविष्य निर्माण भनेको छरिएका बिन्दुहरूबीच सम्भावना खोजेर सरल रेखा बनाउनु जस्तै हो । दु:खद् अवस्थालाई पृष्ठभूमिमा राखेर, परिस्थितिमा सम्भावना खोजेर, तिनलाई आशामा जोडेर एउटा वृत्तिपथ बनाउन सकिन्छ, बिन्दुहरू जोडेर सरल रेखा बने जस्तै । विश्वविद्यालयहरू त भविष्य निर्माणको गर्ने औपचारिक प्रतिष्ठान नै भए, तर मष्तिष्कको प्रयोगशाला र मनको भावनालाई जोड्ने युवाहरू आफ्नो भविष्य निर्माण गर्दागर्दै समाजको पुन:निर्माण पनि गरिरहेका हुन्छन् । सामाजिक प्रजननशीलता युवाहरूको कर्म हो, जसरी स्टीभ जब्सको दिमागी उत्पादनको उपभोगबाट अहिले विश्व रमाइरहेको छ । भविष्य भावना होइन, तर कतिपय भावनाहरू सपना बन्दै सामर्थ्यका सीमामा पुगेर भविष्य बनाउन पुग्छन् ।​

टेक्सास विश्वविद्यालयकी एन्थोनी ग्याल्सावाका अनुसार युवाभित्र उनीहरूले चाहेको विश्व हुन्छ, उनीहरूलाई सशक्तीकृत गरेर नै त्यो विश्व प्राप्त गर्न सकिन्छ । मष्तिष्कमा लुकेको विम्बलाई बाहिर ल्याउन प्रेरणा र वातावरण चाहिन्छ, संस्था र सरकारले गर्नुपर्ने त्यही हो । स्टीभ्स जब्सको मष्तिष्कमा रहेको विश्व (विम्ब) आजका युवाले उपभोग गरिरहेका डिजिटल ग्याजगेट्समा देखिएको छ । जब्स प्रतिनिधि पात्र मात्र हुन्, सबै युवाहरूमा सपना हुन्छ, सबैका सपना अर्थ खोजिरहन्छन् । एउटा सफलताले अर्को सफलतालाई आमन्त्रण गर्छ, त्यसले अर्कोलाई । गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाइ वा इमेल सर्जक साविर भाटियाले देखेको सपना र सपना प्राप्तिको कथा जब्सका जस्तै छन् । नेपालका महावीर पुनको सपनाले इनोभेसन दियो, सन्दुक रुइतका सपनाले जीवन ज्योति । महावीर पुनको सपनाले स्वदेशमै आविष्कार केन्द्र बन्यो । युवा वय सपना र साधनाको उर्वर अवस्था हो । 

सन् २००० पछि विश्वका प्रमुख व्यापारिक घरानाले प्रमुख कार्यकारी नियुक्तिमा युवालाई प्राथमिकतामा राखे । महाप्रबन्धक भनिने पदलाई प्रमुख कार्यकारी अधिकृतले विस्थापन गर्‍यो । महाप्रबन्धकहरू सेवाको उत्पादनको प्रबन्ध र बजारको व्यवस्थापनमार्फत नाफा कमाउँथे । तर, प्रमुख कार्यकारी अधिकृतहरूले त्यति गरेर नपुग्ने भयो । परम्परागत प्रविधिमाथि चुनौती दिई निरन्तर नवप्रवर्त्तन परिवर्तन गरी उपभोक्ता स्वाद र सन्तुष्टि विस्तार गर्नुपर्ने दायित्व थपियो । प्रतिस्पर्धात्मक वातावरणमा आफैँसँग पनि स्पर्धा गरी औचित्य सिद्ध गर्नुपर्ने भयो, जसका लागि युवाहरू नै कार्यकारी जिम्मेवारीमा पुग्नुपर्ने भएको छ । सपना देख्ने सोच र सपना पूरा गर्ने सामर्थ्यमा युवा शक्ति अब्बल मानिन्छ । लगानीकर्ताको चाखलाई भन्दा उपभोक्ताको विश्वासलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष १०० बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको डाभोस भेलाले गर्‍यो । अब प्रमुख कार्यकारी अधिकृत कर्मचारीको सामान्य भूमिका इनोभेसन, इथिक्स र इन्स्पाइरेसनको रोल मोडेलमा स्तरोन्नति भयो । समुदायका मानिसहरू मिलेर खोलिएको डेजार्डियन सहकारी युवा गाइ कोर्मिएरको नेतृत्वमा ‘आगामी पुस्ताका लागि हाम्रो प्रतिबद्धता’ को आदर्श स्थापित गरी क्यानडाको ठूलो रोजगारदाता बनेको छ । केही अघि ओपन एआईको प्रमुख कार्यकारीमा साम अल्टम्यानको पुन:नियुक्तिले त्यो पनि पुष्टि गर्‍यो कि प्रमुख कार्यकारीले आफ्नो दृष्टिकोणमा काम गर्छ, जागिर खाँदैन ।

युवाशक्तिको उन्नयनका लागि घर, समुदायदेखि राष्ट्रिय तहसम्मको रचनात्मक विनिर्माण आवश्यक छ । बुझ्नु पर्ने के हो भने युवाशक्तिलाई धेरैबेर ढाकेर राख्नुहुन्न, आशा र सपनाहरू थुनिनु हुन्न । प्रेरणा र प्रोत्साहन गर्नुपर्छ । नेतृत्वको अर्को नाम नै आशाको निर्माण हो ।

गुगलका सुन्दर पिचाइ, फेसबूकका मार्क जुकरवर्ग, माइक्रोसफ्टका सत्य नादेला, ओराकलकी साफ्रा काज, सेल्सफोर्सका मार्क विनिएफ, रिजेनेरनका लियोनार्ड स्लाइपर्ड, नेटफ्लिक्सका रिड ह्यास्टिङ, एन्भेडियाका जेनसेन हुआङ, एप्पलका टीम कूक, टेस्ला–स्पेस एक्सका एलोन मस्क उत्कृष्ट सीईओ आफ्ना युवाकालका सपना र त्यसलाई पूरा गर्ने अथक प्रयासका कारण बनेका हुन् ।

अमेजनका जेफ विजोसको दिमागी नतिजाले उनलाई ई–कमर्सको पायोनिएर बनायो । किताब बेच्ने कामबाट शुरू गरेको व्यवसायलाई किन्डल प्रविधिले भौतिक किताब नै विस्थापित गरिदिए । फायर फोनमा उनको सपना नभत्किएको भए थ्रीडी प्रविधि मानिसका हातहातमा हुने थियो । तर, असफलताबाट सिक्दै सफलता विस्तार गर्ने अभियानले युवाहरूलाई प्रेरणाको बाटो देखाइरहेका छ । त्यसैले युवाहरू शिक्षालाई सोच, सीप र सामर्थ्य विकासको आधार मानिरहेका छन्, आफूहरूलाई त्यो सामर्थ्यमा पुर्‍याउने शिक्षा मागिरहेका छन् । ठूलो उपाधिको शिक्षाभन्दा सीप र सिर्जना दिने शिक्षा मागिरहेका छन् ।

साठीको दशकमा ली क्वान युले ‘टिच लेस लर्न मोर’ को शिक्षा नीति लिएर सिंगापुर निर्माणको इतिहास रचेथे । कोरियामा पार्क चुङ हीले १९६५ को दशकमा, चीनका देङ सियाओ पेङले १९७८ को दशकमा र २००० को दशकमा भारतीयले यो कुरा राम्ररी बुझे र युवा उपयोगको नीति ल्याए । परिणामत: यी मुलुकहरू घताङ्कीय आर्थिक वृद्धिमा छन् । जुन मुलुक युवालाई सपना देख्न प्रेरित गर्छ, त्यहाँका युवाले त्यो देशको पहिचान र परिभाषा नै बदलिन्छन् ।

स्टीभ जब्सले स्टानफोर्डमा दिएको युगान्तकारी दीक्षान्त भाषणको सार विद्यार्थीहरू समय खेर नफाल, आफ्नै सोचमा बाँच, आफ्नै अन्तरात्माको आवाज सुन, त्यसैलाई माया गर र कर्मबाट वृत्तिको फराकिलो मार्ग बनाऊ भन्ने हो । संयुक्त राज्य अमेरिकाले समुदायको परिवर्तनका लागि युवा परिचालन नीति लिएर लोकतन्त्रलाई धरातलमा संस्थागत गरेको कुरा सन् १८३२ मा नै फ्रेन्च नियात्राकार आलेक्सी डे टुकेभेलीले बताएका थिए । अमेरिकी बहुराष्ट्रिय कम्पनीहरू युवा सोचको परिणाम हुन् । तिनै बहुराष्ट्रिय कम्पनीका कारण अमेरिका शक्तिराष्ट्र बन्यो । युवा सोचलाई कसरी प्रोत्साहन दिनुपर्छ भन्ने बुझेकै कारण अमेरिका अवसरको भूमि बन्यो । नेक्स्ट जेनेरेसन कोएलिसन, स्टेम एजुकेसन, इनोभेटिभ गभर्नमेन्टजस्ता रणनीतिमार्फत २५ वर्ष मुनिका युवाहरूलाई त्यहाँ प्रोत्साहन गरिँदै छ । 

नेपालले पनि युवा शक्तिलाई उपयोग गर्ने अभीष्ट नराखेको होइन । पञ्चायतकालमा युवा शक्ति उपयोग गर्ने परस्पर प्रतिस्पर्धी दुई रणनीति थिए । प्रतिबन्धित लोकतान्त्रिक र वामपन्थी दलहरूले विद्यालय, विश्वविद्यालय, कारखाना र पेशा व्यवसाय स्थलहरूका युवाहरूमार्फत राजनीतिक शक्ति गोलबन्द गरी लोकतन्त्र स्थापना गर्ने सोचका साथ संगठन गरे । पञ्चहरूको भने युवा परिचालन नीति चीनका देङको जस्तै थियो । पञ्चायत युवा विश्वास जित्न सक्षम भएन, युवा शक्ति उपयोगका नाममा राज्य स्रोतको दुरूपयोग गरियो ।

प्रतिबन्धित दलहरू लोकतन्त्र स्थापनाको पहिलो लक्ष्य पूरा गर्न सफल भए तर त्यसपछि युवा परिचालनभन्दा उपयोग गर्न उद्यत देखिए । परिणामत: युवाशक्तिको पहिचान नै भएन, युवाहरू स्पर्धाशील बन्न पाएनन् । अहिले पनि राजनीतिक दलहरूसँग ठूलो युवा जमात छ, जुन सामर्थ्य पहिचानमा भन्दा दलीय स्वार्थ रक्षामा उपयोग छ । राजनीतिमा लागेको यो जमात भविष्य निर्माणको उत्साहमा होइन, गतावधिक नेताका अनुचर बनेर आफ्नो र राष्ट्रको भविष्य निर्माणमा अल्मलिएका छन् । यसले परम्परा र विकृतिप्रति आक्रामक बन्ने युवा चरित्र नै उल्ट्याइदियो ।

जेनजी आन्दोलनपछि युवाहरू बदलिएर आफ्नै भविष्य निर्माणका लागि कार्यसूची बनाउन पहरेदारी र साझेदारी गर्लान् भन्ने आमबुझाई पनि गलत सावित हुँदैछ । सोचविहीन युवाहरू एजेन्डाविहीन राजनीतिक दल र उसका कार्यकर्तामा त्यत्तिकै पछि लागिरहेको छन् । सूचना–सञ्जाल, सम्भाषण–सेलिब्रेसनका सानातिना तिरिमिरीमा रमाएका छन् । मानौं, पछि लाग्नबाहेक युवाहरूले जानेकै छैनन् । राजनीतिक दलहरू युवाका सपना बेच्न रोकिएका छैनन्, सपना व्यापारका नयाँ–नयाँ शैली देखिएको छ । थाहा छैन कहिलेसम्म गलत फहमी र भाष्यका पछि लागेर संयमता, शिष्टता र सोचलाई पाखा पार्नेछन्  । नकारात्मक सोच छ, गलत पात्रमा अन्धान्ध भएर परिणाम चाहिँ सही खोजिरहेका छन् । सही सोच, सही पात्र र उपयुक्त कार्यबाट अपेक्षित परिणाम आउँछ भन्ने किन भुलिएको होला ?

यसमा शिक्षाको पनि दोष छ । नेपालको शिक्षामा तहसोपान छ, शिक्षा आफैँ विभाजक बन्यो । शिक्षा, श्रम, सीप र समृद्धिको रचनात्मक सम्बन्धबाट बाहिरियो । सामर्थ्य नदिने शिक्षा व्यक्तिको लागि भार बन्ने नै भयो । ठूलो गर्भबाट जन्मेका, प्लेस, बर्थप्लेस र वंश प्रिमियम पाएकाहरू शासक र त्यो नपाएका सर्वसाधरणका सन्तान शासित र श्रमिक वर्गमा परेपछि स्वतन्त्रता र लोकतन्त्र देखावटी बन्न पुग्छ । नेपाली समाजमा अहिले पनि जातीय, वर्गीय, लिङ्गीय, भाषिक, साम्पत्तिक र वंशगत तहसोपानले जरा गाडेको छ, जन्मदै भूमिकाको सीमाङ्कन देखिन्छ । आमजनताको अवसर लिएर अव्वल बन्दै देशदेशावर लागेर समृद्धि कमाउन सकेकाहरू मान, पहिचान र अवसरको खोजीमा फेरि यतै फर्किने शिक्षा र संस्कृतिका कारण शिक्षा विभाजक बन्यो । यसले सम्भावना ठूलामा छ, बाहिर छ, धनीमा छ भन्ने देखायो । पञ्चायतका बेलामा राजाले यसरी नै उताबाट मानिस भित्र्याएर मातृभूमिको माटोमा धुलोमैलो गर्दै रमाएकालाई मानमर्दन गरियो । लोकतन्त्र आएपछि पनि यसै गरियो । पटक–पटक एकै व्यक्ति अवसरको खातमा पुगे, तर जिम्मेवारी निर्वाह गर्न परेन । उसका लागि संरक्षणको राजनीतिक छाता छ, विश्वभरि नै अवसर छ, किन भूमिका निर्वाह गर्नुपर्‍यो ? यस खाले प्रवृत्तिले बाहिरतिर सम्भावना देख्ने संस्कृति नै बन्यो । यस अवस्थामा युवाहरूले आफूभित्रको सपना पूरा गर्न ठूलो सङ्घर्ष गर्नुपर्छ, जुन स्टीभ जब्स, सुन्दर पिचाई, जेफ विजोसको सङ्घर्षभन्दा कैयन गुण ठूलो हुन्छ । यस अवस्थामा युवा शक्ति खेर जान्छ, पलायनको बाटो रोज्छ, कुण्ठा र विग्रह जन्माउँछ, अराजक बन्न बेर लगाउँदैन । त्यसैले युवाशक्तिको उन्नयनका लागि घर, समुदायदेखि राष्ट्रिय तहसम्मको रचनात्मक विनिर्माण आवश्यक छ । बुझ्नु पर्ने के हो भने युवाशक्तिलाई धेरैबेर ढाकेर राख्नुहुन्न, आशा र सपनाहरू थुनिनु हुन्न । प्रेरणा र प्रोत्साहन गर्नुपर्छ । नेतृत्वको अर्को नाम नै आशाको निर्माण हो ।

ठूला राजनैतिक दलहरूको सांठनिक पृष्ठभूमि नै युवाशक्ति हो । वैकल्पिक शक्तिका नाममा उदाउँदा दलहरू युवाहरूकै बाहुल्यमा छन् । तर, सबै दलहरूको संस्थापित सोच शास्त्रीय छ, तथ्य, सिद्धान्त र सूत्रमाभन्दा कथामा ध्यान दिनु र आरोप संस्कृति विकास गर्नु उनीहरूको प्रवृत्ति हो । सबै नराम्रो होइन, एउटा राजनैतिक दलको युवा नेतृत्वको अगुवाईमा केहीअघि १८–४० वर्षका युवा लक्षित पोलिसी ह्याक्थन आयोजना गरी सानो शुरूआत भयो । ह्याक्थनमा गीग इकोनोमी र जलवायु परिवर्तन दुई विषय समावेश थिए । ‘गीग वर्कर’ युवाहरूलाई परेको बाधा फुकाउन र जलवायु परिवर्तनसँग जुध्ने क्षमताका लागि स्थानीय, वित्तीय तथा नीति आधारहरू पहिचान गर्न ह्याक्थनले केही शुरूआत गर्‍यो । अन्य दलहरूबाट पनि यस्तै नीतिशालाहरू आयोजना गरेर रोजगारी र उत्पादनका लागि सम्भावनाका क्षेत्रहरू उघार्ने काम हुनुपर्छ ।  

युवा परिचालनमा नेपाल पोलिसी इन्स्टिच्युटजस्ता अनौपचारिक प्राज्ञिक मञ्चहरू परिचालित हुन थालेका छन् । युवाहरूको चाख, चाहना र प्राथमिकताले उनीहरू नेपालमा मात्र बसिरहेका छैनन् । बाध्यताका र प्रदर्शन प्रभावले पनि नेपाल बाहिर बस्ने युवाको सङ्ख्या निरन्तर बढेर नेपाली मन मुटुहरू १७८ मुलुकमा पुगिसक्यो । बाध्यता आफ्नो ठाउँमा छ, व्यक्तिको स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ । नेपाल आमाले जन्माएका, हुर्काएका, सीप शिक्षामा लगानी गरेका, अझ कति त नेपालको सार्वजनिक सेवामा रहेर दक्षता कमाएका मानिसहरू बाहिरिएका छन् । यो उचित थियो वा थिएन भन्ने बहसभन्दा भएको अवस्थालाई स्वीकारेर कसरी फाइदा लिने भन्ने विषयमा ध्यान दिनु जरुरी छ । निरन्तर फैलिएको भर्चुअल नेपालबाट भौगोलिक नेपालले लाभ लिनुपर्छ । बाहिरिएको क्षमता र ज्ञान पनि नेपालकै हो, यसलाई नेपालको हितमा प्रयोग गर्न नेपाल पोलिसी इन्स्टिच्यूटले विश्वव्यापी ज्ञान सञ्जाल खडा गरेको छ । जहाँ रहे पनि नेपाली मनले नेपालको लागि काम गर्नसक्छ र गर्नुपर्छ भन्ने अभिप्रायले सुशासन, शिक्षा, समावेशिता विकास र जलवायु परिवर्तनका क्षेत्रमा ज्ञानको सहजीकरण गर्ने कामहरू शुरू भएको छ । सानो भएता पनि यस्ता अभियानले राष्ट्र र डायस्पोराबीच सम्बन्धसूत्रको काम गर्न सक्छन् ।

नेपालका केही युवाहरूले स्वस्फूर्त रूपमा स्टार्टअप व्यवसाय शुरू गरेर समाजलाई उदाहरण दिएका छन् । हिमालयन जाभाका गगन प्रधानले अर्को साथीसँग मिलेर शुरू गरेको कामले उपत्यकामा कफी चेन र वरिष्ठ कफी स्कूललाई निरन्तर विस्तार गरिरहेका छन् । केही हजार व्यक्ति कफी व्यवसायबाट लाभान्वित छन् । यसैको प्रभावस्वरूप कफी संस्कृति र चिया संस्कृति विकास भएको छ । एउटा आइडिया विकास भएपछि त्यसको पछि लाग्नु राम्रो हो/होइन, बहसको विषय हो, तर भुल्न के चाहिँ भएन भने केही हजारले स्वरोजगारी पाएका छन् ।

युवावय आफैँमा अवसर खोज्ने, नयाँ जान्ने, उत्सुकता, कौतुहल हुर्काउने, परिवर्तनप्रति चाहना राख्ने र आक्रोशको आगो ओकल्ने समय हो । यी स्वभावजन्य चुनौतीलाई सकारात्मक रूपमा सम्बोधन गरेर नै युवाशक्तिको उपयोग गर्न सकिन्छ । उनीहरूको इमोसनलाई दुरूपयोग गरेर होइन, एटिच्यूड सिफ्ट हुने अवस्थालाई बुझेर व्यक्तित्व विकास र उत्साहलाई प्रेरणा दिने कार्य गर्न सकिए युवाशक्तिले समाज र राष्ट्रको परिभाषा बदलिदिन्छ ।

असीको दशकतिर जापान पढ्न गएका एक युवा वैज्ञानिकको परिकल्पनाबाट नेपालमा ट्राउट भित्रियो, त्यसपछि पूर्णबहादुर लामाले रेन्वो ट्राउटलाई व्यावसायिक रूप दिए । अहिले यस व्यवसायबाट केही हजारले रोजगारी पाएका छन् ।

बिहान गफ गरेर चिया पिउने साथीहरूले आधा कप चिया खाएर आधा बचत गर्ने अभियान चलाएका गैँडाकोटका सापकोटा र उनका साथीहरूले सानो शुरूआतबाट ठूलो उपलब्धि बिकूको नाममा दिएका छन् । क्रेडिट युनियनका नाममा बचत ऋण कारोबार गर्न धेरै सहकारीहरू नराम्रो मनसायले बिग्रिए पनि बिकू अपवादै छन् ।

सञ्जीव राजभण्डारीको एफवनले फिनटेकमा देखाएको उत्साह र पाएको सफलताले सूचनाप्रविधिमा काम गर्ने धेरै युवाहरूलाई प्रेरणा हुनसक्छ । चारदशक अघिबाट बैंक व्यवसायमा रमाएका रमाएका चन्द्र ढकाल, भाटभटेनीका मीनबहादुर गुरुङ आइडिया, प्यासन र समर्पणमा अहिलेको स्थानमा मात्र पुगेनन्, केही हजार युवाहरूका रोजगारदाता बने ।

यी प्रतिनिधि उदाहरणमात्र हुन् । आइडिया र उद्यम सँगसँगै लैजाने, आफैँसँग स्पर्धा गर्ने पचासौँ युवा नेपालमा छन्, तर यहीँ सम्भावना नदेखेर लाखौं युवाहरू बाहिरिएका छन् । युवाहरू रेडिमेड व्यवसायमा लाग्न रमाउने, प्रणाली बनेको ठाउँमा काम गर्ने, तर आफैँभित्रको सम्भावना नदेख्ने प्रवृत्तिबाट अलग हुनुपर्छ । राजनीतिभन्दा व्यवसाय, पलायनभन्दा प्रतिस्पर्धा भएमा आफू र समाज बदल्न सकिन्छ । स्रोत र सम्भावना अझै भर्जिन भएको मुलुकमा हाम्रै प्रयत्नबाट, हाम्रो विचारबाट गर्न सकिन्छ । साँचो अर्थमा स्टार्टअप त्यही हो । पचहत्तर, पचास वर्षअघि ओम बुढा र इन्द्र क्याछाकीले गरेको काम एआई युगमा युवाहरूले गर्न सकिहाल्छन् । सरकारले चाहिँ राजनीति होइन, वातावरण बनाइदिनुपर्छ । युवाहरू त्यही मानचित्रमा रहेर देशको परिभाषा बदल्न सक्छन् तर, आफैँभित्रको सम्भावना दिने आइडिया, प्यासन र समर्पणचाहिँ राख्नुपर्छ । नेपालमा नभएको सम्भावना अन्यत्र कहाँ हुनसक्छ ?

युवावय आफैँमा अवसर खोज्ने, नयाँ जान्ने, उत्सुकता, कौतुहल हुर्काउने, परिवर्तनप्रति चाहना राख्ने र आक्रोशको आगो ओकल्ने समय हो । यी स्वभावजन्य चुनौतीलाई सकारात्मक रूपमा सम्बोधन गरेर नै युवाशक्तिको उपयोग गर्न सकिन्छ । उनीहरूको इमोसनलाई दुरूपयोग गरेर होइन, एटिच्यूड सिफ्ट हुने अवस्थालाई बुझेर व्यक्तित्व विकास र उत्साहलाई प्रेरणा दिने कार्य गर्न सकिए युवाशक्तिले समाज र राष्ट्रको परिभाषा बदलिदिन्छ । (@mainaligopi)

salt training

कमेन्ट गर्नुहोस्