
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमसम्बन्धी सम्झौताका लागि वार्ता गर्न अब धेरै समय बाँकी नरहेको चेतावनी दिएका छन् ।
खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति क्रमशः बढ्दै गएको सन्दर्भमा ट्रम्पले ‘समय सकिँदै गएको’ भन्दै इरानमाथि दबाब बढाएका हुन् ।
ट्रम्पले अमेरिकाको ठूलो नौसैनिक फौज इरानतर्फ ‘तीव्र गति, शक्ति, उत्साह र स्पष्ट उद्देश्यसहित’ अघि बढिरहेको दाबी गरेका छन् । उनले यसलाई ‘विशाल आर्माडा’को संज्ञा दिएका छन् ।
यसको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बलहरू ‘औँला ट्रिगरमा राखेर’ स्थल वा समुद्रमार्गबाट हुने कुनै पनि आक्रमणको ‘तत्काल र शक्तिशाली’ जवाफ दिन तयार रहेको बताएका छन् ।
इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । अमेरिकालगायत उसका सहयोगी राष्ट्रहरूले इरानले परमाणु हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएका भए पनि तेहरानले ती आरोपहरू बारम्बार अस्वीकार गर्दै आएको छ ।
ट्रम्पको पछिल्लो चेतावनी यसअघि इरानमा भएको प्रदर्शनमाथिको कठोर दमनपछि आएको हो । इरानी मुद्राको मूल्य तीव्र रूपमा घटेपछि शुरू भएका प्रदर्शन क्रमशः धार्मिक नेतृत्वको वैधतामाथि प्रश्न उठ्ने गम्भीर संकटमा परिणत भएका थिए ।
‘मद्दत आउँदैछ’, ट्रम्पले शुरूमा भनेका थिए । तर पछि उनले भरपर्दो स्रोतबाट प्रदर्शनकारीहरूको मृत्युदण्ड रोकिएको जानकारी पाएको दाबी गर्दै आफ्नो भनाइ संशोधन गरेका थिए ।
अमेरिकास्थित मानवअधिकार संस्था ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (HRANA) का अनुसार गत डिसेम्बरको अन्त्यदेखि शुरू भएको अशान्तिपछि हालसम्म ६ हजार ३ सय १ जनाको मृत्यु पुष्टि भएको छ । तीमध्ये ५ हजार ९ सय २५ जना प्रदर्शनकारी रहेको उक्त संस्थाले जनाएको छ ।
इन्टरनेट बन्द रहेको अवस्थामा प्राप्त १७ हजार थप मृत्युसम्बन्धी सूचनाको अनुसन्धान भइरहेको पनि संस्थाले जनाएको छ । नर्वेमा आधारित ‘इरान ह्युमन राइट्स’ संस्थाले मृतक संख्या २५ हजार नाघ्न सक्ने चेतावनी दिएको छ ।
ट्रम्पका पछिल्ला टिप्पणी मुख्यतया इरानको परमाणु कार्यक्रममै केन्द्रित देखिन्छन् । उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै इरानले ‘छिट्टै वार्ताको टेबलमा आएर न्यायोचित र समान सम्झौता गर्नुपर्ने’ बताएका छन् । उनले स्पष्ट रूपमा ‘परमाणु हतियार कुनै हालतमा स्वीकार्य नहुने’ उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार खाडी क्षेत्रमा पठाइएको अमेरिकी नौसैनिक फौज उनले यसअघि भेनेजुएलामा पठाएको भन्दा ठूलो छ । उनले उक्त फौज ‘आवश्यक परेमा तीव्र र हिंसात्मक रूपमा पनि आफ्नो मिशन पूरा गर्न तयार’ रहेको चेतावनी दिएका छन् ।
गत जुनमा इजरायलसँग इरानको १२ दिने युद्धका क्रममा अमेरिकी सेनाले इरानका परमाणु स्थलमा आक्रमण गरेको स्मरण गराउँदै ट्रम्पले ‘अबको आक्रमण झनै भयावह हुने’ चेतावनी दिएका छन् ।
यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिनेटको विदेश सम्बन्ध समितिमा बोल्दै इरानी शासन अहिलेसम्मकै कमजोर अवस्थामा रहेको बताएका छन् । उनका अनुसार इरानको अर्थतन्त्र धराशायी हुँदै गएको छ र प्रदर्शनकारीका मूल माग सम्बोधन गर्ने कुनै उपाय सरकारसँग छैन ।
इरानका उप–विदेशमन्त्री काजेम घारिबाबादीले अमेरिका–इरानबीच औपचारिक वार्ता नभए पनि सन्देशहरूको आदान–प्रदान भइरहेको बताएका छन् ।
बीबीसी भेरिफाइका अनुसार अमेरिकाले जोर्डन, कतार र हिन्द महासागरको डिएगो गार्सियालगायत क्षेत्रमा सैन्य गतिविधि बढाएको छ । जोर्डनको मुवाफ्फाक एयरबेसमा कम्तीमा १५ वटा लडाकु विमान पुगेको उपग्रह तस्वीरले देखाएको छ ।
अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस अब्राहम लिंकन’ नेतृत्वको नौसैनिक फौज पनि मध्यपूर्व पुगेको पुष्टि भएको छ ।
यसैबीच इरानले आफ्नो तट नजिकै ड्रोन वाहक जहाज ‘आईआरआईएस शाहिद बाघेरी’ तैनाथ गरेको उपग्रह तस्वीरले देखाएका छन् ।

सन् २०१५ मा भएको परमाणु सम्झौताअनुसार इरानलाई ३.६७ प्रतिशतभन्दा बढी युरेनियम संवर्धन गर्न प्रतिबन्ध लगाइएको थियो । तर ट्रम्पले सन् २०१८ मा उक्त सम्झौता त्याग्दै इरानमाथि कडा प्रतिबन्ध लगाएपछि तेहरानले सम्झौताका सीमाहरू उल्लंघन गर्न थालेको थियो ।
गत जुनमा अमेरिकाले फोर्डो, नताञ्ज र इस्फाहानस्थित युरेनियम संवर्धन केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी अधिकारीहरूले त्यसले इरानको परमाणु हतियार निर्माण क्षमतामा ठूलो धक्का दिएको दाबी गरेका थिए ।
तर इरानी सरकारी सञ्चारमाध्यमका उप–राजनीतिक निर्देशक हसन आबेदिनीले आक्रमणअघि नै सामग्री हटाइएको भन्दै ठूलो क्षति नभएको दाबी गरेका छन् ।
उक्त आक्रमणको जवाफमा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेको थियो, जसलाई ट्रम्पले ‘कमजोर र अपेक्षित’ प्रतिक्रिया भनेका थिए ।