
पछिल्लो तीन महिनायता काठमाडौँका विभिन्न प्रहरी युनिटमा दैनिकजसो लुटपाटका घटनाको उजुरी दर्ता हुन थालेका थिए। दैनिक दर्जनौँ उजुरी आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौँ चिन्तित बनेको थियो।
बढ्दो लुटपाट नियन्त्रण गरी समाजमा शान्ति र अमनचयन कायम गर्न काठमाडौँ प्रहरीले ‘अपरेसन स्न्याचिङ’ सञ्चालन गर्ने निर्णय गर्यो। त्यसअनुसार काठमाडौँ र भक्तपुरका विभिन्न शङ्कास्पद क्षेत्रमा चेकप्वाइन्ट राखी निगरानी कडा पारियो। सोही क्रममा लुटपाट आतङ्क मच्चाइरहेको विनय तामाङ समूहलाई प्रहरीले गएराति काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी समूहका नाइके विनय तामाङसहित १० जनालाई बरामद सामग्रीसहित सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोकका २३ वर्षीय विनय तामाङ, २० वर्षीय सलोन तामाङ, १८ वर्षीय राजीव भण्डारी, २९ वर्षीय पेमा तामाङ, सिन्धुलीका २४ वर्षीय आयन माझी र ३२ वर्षीय सविन माझी, मोरङका २३ वर्षीय मनिस रसाइली, रामेछापका २२ वर्षीय विशाल तामाङ, खोटाङका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका २९ वर्षीय फुर्वा तामाङ पक्राउ परेका छन्। उनीहरूका साथबाट बा १२ च ७७०१ नम्बरको कार, बागमती प्रदेश ०१०० ज ८७६६ नम्बरको ट्याक्सी र ६ थान मोटरसाइकल बरामद गरिएको छ। उनीहरूलाई पक्राउ गर्न बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहान ३ बजेसम्म अपरेसन चलाइएको थियो।
सिसीटिभी फुटेजका आधारमा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। जाँचका क्रममा प्रहरीमाथि जाइलाग्न खोजेपछि गोली प्रहार गरेर समूहलाई नियन्त्रणमा लिइएको स्पष्ट पारिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार जेनजी आन्दोलनपछि सो समूह सक्रिय बनेको देखिएको छ।
अनुसन्धानका क्रममा विनय तामाङ समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा मध्यरातको समयमा महिला तथा पुरुषलाई लक्षित गरी सुनका गरगहना र नगद लुटपाट गर्ने गरेको खुलेको छ। उनीहरूले मध्यराति १२ बजेदेखि बिहान ४ बजेसम्म काम विशेषले हिँडिरहेका सर्वसाधारणलाई कुटपिट गरी लुटपाट गर्ने गरेका थिए।
लुटपाटका लागि समूहले तीन–तीन जनाको टोली बनाएर मोटरसाइकल प्रयोग गर्ने गरेको पाइएको छ। समूहका सदस्यहरूले दिउँसो ट्याक्सी चलाउने, रेकी गर्ने, राति ९ बजेतिर एकै ठाउँमा भेला भई खाना खाने र राति १२ बजेदेखि बिहान ४ बजेसम्म लुटपाट गर्ने शैली अपनाएका थिए। लुटपाटपछि उनीहरू पुनः ट्याक्सी वा निजी कार प्रयोग गरी सामान्य दैनिकीमा फर्कने गरेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार समूहका नाइके विनय जेनजी आन्दोलनका क्रममा महाराजगन्ज वृत्तको हिरासतबाट फरार भएका थिए। फरार भएपछि उनले आफ्नै नेतृत्वमा लुटेरा समूह सक्रिय बनाएको देखिएको छ। प्रहरीले सो समूह स्वयम्भूमा सात, बूढानीलकण्ठ, बौद्ध र गौशालामा तीन–तीन तथा भक्तपुरको ठिमीमा १३ वटा लुटपाट घटनामा संलग्न रहेको जनाएको छ। गएराति पनि समूह मूलपानी क्षेत्रमा लुटपाटका लागि निस्किएको थियो। मूलपानी क्रिकेट मैदान नजिकैको चेकप्वाइन्टमा नरोकी प्रहरीमाथि नै जाइलाग्ने प्रयास गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।
प्रहरीको गोली लागेका समूहका केही सदस्यको उपचार भइरहेको छ। अनुसन्धान अनुसार समूहका कमाण्डर आयन माझी लुटपाटका क्रममा मोटरसाइकल चलाउने जिम्मेवारीमा थिए। विनय यसअघि २०७९ मा चोरी र २०८२ मा डाँका चोरी मुद्दामा संलग्न रहेको खुलेको छ। आयनविरुद्ध भने २०७९ पुस २६ गते प्रहरी परिसर भक्तपुरमा डाँका चोरी मुद्दा दर्ता भएको थियो।
प्रहरीका अनुसार लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि आपराधिक रहेको छ। पेमा र सलोन दाजुभाइ भएको पनि खुलाइएको छ। प्रहरीबाट जोगिन समूहले मोटरसाइकलको नम्बर प्लेटमा हिलो छ्यापी पहिचान नखुल्ने बनाउने गरेको तथ्य पनि अनुसन्धानबाट खुलेको छ।