
विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङले आफ्नो आगामी फ्ल्यागसिप स्मार्टफोन 'ग्यालेक्सी एस२६' सिरिजमा ठूलो अपग्रेड गर्ने भएको छ। सार्वजनिक भएको नयाँ 'लीक' र सर्टिफिकेसन डकुमेन्टअनुसार यो सिरिजमा स्याटेलाइट कनेक्टिभिटीको सुविधा उपलब्ध हुनेछ।
यो फिचरको मद्दतले प्रयोगकर्ताले मोबाइल नेटवर्क नभएको ठाउँमा वा आपतकालीन अवस्थामा पनि स्याटेलाइटमार्फत म्यासेज पठाउन, आपतकालीन कल गर्न र एसओएस सन्देश पठाउन सक्नेछन्। विवरण अनुसार यो सिरिजका सबै मोडलहरू स्याटेलाइट सञ्चारका विभिन्न मापदण्डहरूसँग मिल्दोजुल्दो हुने गरी डिजाइन गरिएका छन्।
यसअघि एप्पलले आइफोन १४ सिरिजदेखि र गुगलले पिक्सेल ९ लाइनअपमा यो फिचर उपलब्ध गराइसकेका छन्। अब सामसङले पनि यो प्रविधि अपनाएसँगै ग्यालेक्सी फोन प्रयोगकर्ताहरूले पनि दुर्गम क्षेत्रमा नेटवर्क नहुँदा पनि सञ्चार सम्पर्क कायम राख्न सक्नेछन्।
सामसङले ग्यालेक्सी एस२६ सिरिजलाई आगामी फेब्रुअरीको अन्तिम साता सार्वजनिक गर्ने र मार्चदेखि बिक्री सुरु गर्ने तयारी गरेको छ। यो सिरिजमा न्यूनतम २५६ जीबी स्टोरेज उपलब्ध हुने बताइएको छ।
ग्यालेक्सी S26 र S26+ मोडलहरू २५६ जीबी र ५१२ जीबी स्टोरेजमा आउनेछन् भने 'अल्ट्रा' मोडल १ टिबीसम्मको स्टोरेजमा उपलब्ध हुनेछ। यी फोनहरू कालो, सेतो, कोबाल्ट भायोलेट र स्काई ब्लु रंगहरूमा बजारमा आउने अपेक्षा गरिएको छ।