
नेकपा (एमाले)का नेता ठाकुर गैरे र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सोमप्रसाद पाण्डेय २०७४ सालसम्म एकअर्काका सहयोगी र सहयोद्धा थिए, एउटै पार्टी, सिद्धान्त र संगठन । तर, एमाले विभाजनपछि दुई नेता दुईतिर लागे । अनि पूर्वसहयोद्धाहरू नै एक–अर्काविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिए। गत चुनावमा गैरे एमाले र पाण्डेय नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका थिए, जसमा गैरेले बाजी मारे। उनीहरू यसपटक फेरि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। पाल्पा–२ मा गैरे फेरि पनि एमालेबाटै र पाण्डेय नेकपा (एस) बाट उम्मेदवार बनेका हुन्।
गैरे नेपाली कांग्रेसका नेता गगन थापासँगै विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता हुन्। थापाले पार्टी र संसदीय राजनीतिमा ठूलो छलाङ मारे पनि गैरे धेरै अगाडि बढ्न सकेका थिएनन्। जिल्लामा पाण्डेय र केन्द्रमा पार्टी नेतृत्वको गुटबन्दीले उनी अवसरबाट वञ्चित हुनु परेको स्थानीय नेताहरू बताउँछन्। पार्टी विभाजनपछि पाण्डेय समाजवादीमा लागेसँगै गैरेले तीन वर्षअघि पहिलोपटक चुनाव लड्ने अवसर पाएका थिए। योपटक पनि गैरेले अन्तिममा टिकट खोसेका हुन्।
एमालेबाट गैरे दोस्रोपटक र पाण्डेय जिल्लामा सातौंपटक उम्मेदवार बनेका हुन्। अघिल्लो निर्वाचनमा पाण्डेयलाई गैरेले नै पराजित गरेका थिए। पाण्डेय र गैरेसँगै कांग्रेसबाट युवा नेता हिमालदत्त श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट माधवबहादुर थापा पनि उम्मेदवार छन्। पार्टीको पदाधिकारी बन्न गत मंसिरमा भएको एमाले महाधिवेशनमा सचिवमा उम्मेदवारी दिएका गैरे पराजित भएका थिए।
२०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए। २०५१, २०५६, २०६४ र २०७० मा पाण्डेय पाल्पा–२ बाट उम्मेदवार भएका थिए। स्थानीय तह पुनर्संरचनापछि जिल्लामा २ निर्वाचन क्षेत्र कायम भए। पाण्डेय २०७० मा पनि पाल्पा–२ बाट विजयी भएका थिए। उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए।
पाण्डेयले पाल्पामा चारपटक जीत हासिल गरेका छन्। चार दशकदेखि राजनीतिमा सक्रिय पाण्डेय मन्त्रीसमेत भइसकेका नेता हुन्। पाण्डेय योपटक पाल्पालीले आफूलाई विजयी गराउने दाबी गर्छन्। ‘अहिलेसम्मको आँकडा हेर्दा हामी उत्साहित छौं,’ पाण्डेयले भने, ‘मैले आफ्नो प्रतिस्पर्धी एमाले नभई कांग्रेस ठानेको छु। समृद्ध पाल्पा बनाउने योजना र मुद्दा लिएर चुनावमा उठेको छु, यसलाई जनताले विश्वास गर्नुहुनेछ।’ उनले ऐतिहासिक शहर तानसेनलाई लुम्बिनीसँग जोड्ने र अधुरा पुराना योजना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
यता गैरेको दाबी पनि उस्तै छ। पाल्पा–२ विगतदेखि एमालेको पकड क्षेत्र रहेको र गैरे युवा उम्मेदवार भएकाले उनको जीत सहज रहेको एमाले नेता गुराँस आत्रेय बताउँछन्। ‘हाम्रा उम्मेदवार गैरे युवा र लोकप्रिय हुनुहुन्छ। उहाँले जनतालाई छुने चुनावी मुद्दा अगाडि सार्नुभएको छ,’ आत्रेयले भने, ‘हाम्रो सांगठनिक आधार पनि बलियो छ। अघिल्लो निर्वाचनमा हामीविरुद्ध गठबन्धन हुँदा पनि राम्रो मतसहित जीत निकालेका थियौं। योपटक एक्लाएक्लै चुनाव लड्दा एमालेलाई धेरै सहज छ।’
२०७४ अघि ३ वटा क्षेत्र हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो। त्यसबाहेक २०५१ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी र २०६४ मा कुलप्रसाद नेपालले निर्वाचन जितेका थिए। तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए।
साविकको पाल्पा–३ कांग्रेस र एमालेबीच झिनो मतान्तरमा जीत–हार हुने क्षेत्र हो। संघीयतापछि भने जिल्लाको साविक पाल्पा–२ को केही भागलाई १ मा र केही भागलाई साविक पाल्पा–३ मा मिसाएर नयाँ क्षेत्र बनाइएको हो।
पाण्डेय गत निर्वाचनमा कांग्रेस, तत्कालीन माओवादी र नेकपा (एस) को गठबन्धन हुँदासमेत पराजित भएका थिए। त्यसकारण योपटक एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दा उनलाई जीत निकाल्न त्यति सहज भने पक्कै हुनेछैन। संगठनात्मक भोट पनि कम रहेकाले पाण्डेयलाई जित्न व्यक्तिगत प्रभावले साथ दिनुपर्ने देखिन्छ।
गत चुनावमा गैरेले २७ हजार ८१७ मत ल्याएर विजयी हुँदा पाण्डेयले २३ हजार ८५१ मत प्राप्त गरेका थिए। पाण्डेयले पाएको मत कांग्रेससहितको थियो। समानुपातिकतर्फ एमालेले २२ हजार ५२९ मत ल्याएको थियो। कांग्रेसले २० हजार १५४ मत ल्याउँदा ८ हजार ३७८ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो बनेको थियो। तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ५ हजार ९९४ र एकीकृत समाजवादी पार्टीले १ हजार ३०६ मत प्राप्त गरेको थियो।
यता, रास्वपाका उम्मेदवार नयाँ हुन्। उनी केही दिनअघि मात्र कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका हुन्। उनलाई भूगोलमा काम गरेको लामो अनुभव छैन। यस्तै, कांग्रेसका उम्मेदवार श्रेष्ठ पार्टीका जिल्ला सभापतिसमेत हुन्। युवा उम्मेदवार रहेका श्रेष्ठको प्रभाव क्षेत्रमा राम्रै देखिन्छ। श्रेष्ठ महासमिति सदस्य, नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियु सभापति भई सामाजिक क्षेत्रबाट आएकाले परिचित र लोकप्रिय मानिन्छन्।
पाल्पाका सबै राजनीतिक दलहरूले 'मृत्युमार्ग'को उपमा पाएको सिद्धबाबा सडक खण्डलाई चुनावी एजेन्डा बनाए पनि अहिलेसम्म यो सडकलाई सुरक्षित बनाउन नसकेको भन्दै जनता रुष्ट छन्। तर, अहिले सुरुङमार्ग निर्माणको काम करिब सम्पन्न हुने चरणमा पुगेको छ।