
गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हरायो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिसँगै गेटवेले ३० हजार र नेक्ससले २० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । पिस प्वाइन्टले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५–१ गोलले हराउदै तेस्रो स्थान हासिल गर्यो ।
पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त गर्यो । गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी र गेटवेकै सौगात कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई नेपाल प्रहरीका पूर्वमहानिरीक्षक धीरजप्रताप सिंह, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना रानामगर, क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रिता राई दाहाललगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा २१ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।