
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६–०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर ८ सय करोड भारतीय रुपैयाँ (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो ।
भारतको संघीय बजेट २०२६–२७ मा छिमेकी मुलुकमा भुटानलाई विकास सहायताको रूपमा सबैभन्दा बढी २,२८८ करोड भारतीय रुपैयाँ दिइएको छ । यस्तै माल्दिभ्स र मौरिससलाई ५५० करोड भारतीय रुपैयाँ छुट्याइएको छ ।
बंगलादेशलाई अर्को आर्थिक वर्षका लागि ६० करोड छुट्याइएको छ । २०२५–२६ मा बंगलादेशका लागि विनियोजन १२० करोड भारतीय रुपैयाँ दिएको थियो । बंगलादेश र भारतबीचको सम्बन्ध चिसिएपछि विकास सहायता कटौती भएको हो ।
अफगानिस्तानका जनतासँग भारतको विशेष सम्बन्धलाई निरन्तरता दिँदै २०२६–२७ का लागि १५० करोड रुपैयाँको सहयोग प्रदान गरिएको छ । यो रकम २०२५–२६ मा १०० करोड रुपैयाँ थियो ।
श्रीलंकाका लागि ४०० करोड रुपैयाँ र म्यानमारका लागि ३०० करोड रुपैयाँको व्यवस्था गरिएको छ ।