१२ असार २०८३, शुक्रबार

कङ्गोमा पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का

माघ १८, २०८२
काठमाडौं
कङ्गोमा पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

सन् २०२१ मा एम–२३ भनिने स्रोत–समृद्ध पूर्वको विशाल भूभाग कब्जा गरेको एक सशस्त्र समूहले सन् २०२४ अप्रिलमा रुवान्डाको सहयोगमा उत्तरी किभु प्रान्तको रुबाया खानी कब्जा गरेको थियो ।

राजधानीबाट निकै टाढा रहेको खानी नजिकै रहेको सुरक्षा निकायका अनुसार पहाडको एक भाग बुधबार दिउँसो भत्किएको र त्यहाँको अर्को भागमा बिहीबार बिहान दोस्रो पहिरो गएको थियो ।

एम–२३ का गभर्नर इरास्टन बाहाटी मुसाङ्गाले आइतबार एएफपीसँग भने, “पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का गरिएको छ।”

त्यहाँ धेरै दिनदेखि फोन नेटवर्क बन्द छ । कङ्गोका अधिकारी र नागरिक समाज समूहहरू एम–२३ लडाकू समूह घटनास्थलमा आइपुगेपछि क्षेत्र छोडेर भागेका थिए ।

“यस क्षेत्रमा सक्रिय मोटरसाइकल यात्रीहरूले घटनास्थलबारे सूचना ल्याइरहेका छन् तर फरक–फरक सूचकहरूले मृतक सङ्ख्याको फरक–फरक विवरण ल्याएका छन् । यसको स्वतन्त्र पुष्टि गर्न विद्रोहीले नियन्त्रित क्षेत्रमा सञ्चारकर्मी पुग्न कठिन भएको किन्सासास्थित एक सरकारी अधिकारीले बताए ।

रुबाया खानीले ल्यापटप र मोबाइल फोन जस्ता इलेक्ट्रोनिक्सको उत्पादनमा प्रयोग हुने कोल्टनको विश्वव्यापी आपूर्तिको १५ देखि ३० प्रतिशत उत्पादन गर्छ ।

विज्ञहरूको अनुमान अनुसार एम–२३ ले कोल्टनको उत्पादन र बिक्रीबाट प्रति किलो सात डलर कर लिने गरेको छ र खानिबाट प्रति महिना करिब आठ लाख अमेरिकी डलर कमाउने गरेको छ ।

विश्वव्यापी कोल्टनको कम्तीमा ६० प्रतिशत हिस्सा ओगटेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोको फराकिलो पूर्वी क्षेत्र सुन र टिनको विशाल भण्डार क्षेत्र पनि हो ।

salt training

कमेन्ट गर्नुहोस्