
भारत र अमेरिकाबीच एक महत्त्वपूर्ण व्यापारिक सम्झौताअनुसार अमेरिकाले भारतीय सामानमा लाग्दै आएको आयात शुल्क (ट्यारिफ) ५० प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो निर्णयलाई दुई देशबीचको आर्थिक सम्बन्धमा एउटा ठूलो उपलब्धिका रूपमा हेरिएको छ। यसअघि भारतबाट आयात हुने सामानमा चर्को कर लाग्दा भारतीय निर्यातकर्ताहरूले ठूलो नोक्सानी व्यहोर्नु परिरहेको थियो।
यसअघि अमेरिकाले भारतीय उत्पादनमा कुल ५० प्रतिशत ट्यारिफ असुल गरिरहेको थियो, जसमा २५ प्रतिशत परम्परागत शुल्क र २५ प्रतिशत अतिरिक्त शुल्क समावेश थियो। भारतले रुसबाट कच्चा तेल खरिद गरेको भन्दै अमेरिकाले उक्त अतिरिक्त शुल्क लगाएको थियो। तर, नयाँ सम्झौताअनुसार भारतले रुसबाट तेलको आयात कम गर्ने र अमेरिकासँग बढी तेल खरिद गर्ने सहमति गरेपछि रुसी तेलसँग जोडिएको उक्त अतिरिक्त कर हटाइएको हो। अब भारतीय उत्पादनमा केवल १८ प्रतिशत मात्र आधारभूत ट्यारिफ लाग्नेछ।
यो कटौतीपछि अमेरिकी बजारमा भारतको स्थिति अन्य प्रतिस्पर्धी देशहरूको तुलनामा निकै बलियो भएको छ। हाल अमेरिकाले चीनमा ३७ प्रतिशत, ब्राजिलमा ५० प्रतिशत र दक्षिण अफ्रिकामा ३० प्रतिशत ट्यारिफ लगाइरहेको छ। त्यस्तै, छिमेकी देशहरू बंगलादेश र भियतनाममा २० प्रतिशत तथा पाकिस्तान र मलेसियामा १९ प्रतिशत ट्यारिफ रहेको छ। यी सबै देशको तुलनामा भारतको ट्यारिफ दर १८ प्रतिशतमा झरेकाले अब 'मेड इन इन्डिया' उत्पादनहरू अमेरिकी बजारमा थप सस्तो र प्रतिस्पर्धी हुनेछन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानी सकारात्मक भएको जानकारी दिएका छन्। उनीहरूबीच व्यापारका साथै रुस–युक्रेन युद्धका विषयमा पनि छलफल भएको थियो। प्रधानमन्त्री मोदीले यस ऐतिहासिक फैसलाको स्वागत गर्दै यसले भारतीय उद्योगहरूलाई ठूलो राहत दिने र रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।