
नेपाल तेक्वान्दो संघका राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा विश्व तेक्वान्दो महासंघबाट ‘वर्षको सर्वोत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक–२०२५’ अवार्डबाट सम्मानित भएका छन् ।
नेपाल तेक्वान्दो संघका अनुसार, विश्व तेक्वान्दोको प्राविधिक कमिसनको छनोट र सिफारिसका आधारमा नेगीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
प्रशिक्षक नेगी सन् २०१५ देखि नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय पारा तेक्वान्दो टिमको प्रशिक्षकका रुपमा कार्यरत छन् । उनको प्रशिक्षकत्वमा नेपालले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पारेको छ ।
नेगीकै प्रशिक्षकत्वमा नेपालले वर्ल्ड पारा तेक्वान्दो ग्राँ पी फाइनल (जी १०)–२०२२ मा स्वर्ण पदक र हाङजाउ एसियन पारा गेम्स–२०२२ मा कांस्य पदक जितेको थियो ।
यसैगरी, उनकै प्रशिक्षकत्वमा नेपालले पेरिस पारा ओलम्पिक गेम्स (जी २४)–२०२४ मा ऐतिहासिक कांस्य पदक पनि जितेको थियो । उनको प्रशिक्षकत्वमा नेपालले एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।