२७ जेठ २०८३, बुधबार

मोमोको लोभमा नाबालिगले ८५ लाखका गहना सुम्पिएपछि...

माघ २०, २०८२
काठमाडौं
मोमोको लोभमा नाबालिगले ८५ लाखका गहना सुम्पिएपछि...

भारतको उत्तर प्रदेशको देवरिया जिल्लामा कक्षा ७ मा अध्ययनरत एक नाबालिगले मोमोको लोभमा घरमा राखिएका करिब ८५ लाख रुपैयाँ मूल्यका गहना मोमो बेच्नेलाई दिएको परिवारले दाबी गरेको छ ।

परिवारका अनुसार यो घटना नाबालिगकी बुआ माइत आएर आफ्ना गहना लिन घरको आलमारी खोलेपछि सार्वजनिक भयो । आलमारी खोलेपछि त्यहाँ राखिएका सबै गहना हराइएको पाइएको थियो ।

परिवारजनले नाबालिगसँग सोधपुछ गर्दा सम्पूर्ण घटना बताए ।

रामपुर कारखाना थानाका एसओ देवेन्द्र कुमार सिंहका अनुसार मोमो खुवाउने बहानामा तीन युवकले १४ वर्षीय नाबालिगलाई फकाएका थिए । आरोप अनुसार उनीहरूले पहिले उससँग मित्रता गरे भने पछि बिस्तारै बहकाउँदै घरबाट गहना ल्याउन उक्साउन थाले ।

मुद्दा दर्ता, एक अभियुक्त पक्राउ

यस घटनामा प्रहरीले बीएनएसको धारा ३०५ (ए)अन्तर्गत मुद्दा दर्ता गरेको छ । यसमा नाबालिगसहित चार अभियुक्तको नाम उल्लेख छ । भारतीय न्याय संहिताको धारा ३०५ चोरीसम्बन्धी अपराधसँग सम्बन्धित छ । यसमा दोषी ठहरिए सात वर्षसम्म कैद र जरिवानाको व्यवस्था छ ।

प्रहरीले कारबाही गर्दै अभियुक्त राकेशलाई पक्राउ गरेको छ । यसबाहेक एक महिलालाई पनि हिरासतमा लिइएको छ । केही गहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

देवरिया सदरका क्षेत्राधिकारी सुनील रेड्डीले पक्राउको पुष्टि गर्दै बाँकी अभियुक्तहरूको खोजी भइरहेको र बाँकी गहना पनि छिट्टै बरामद गरिने जानकारी दिए ।

कसरी खुल्यो घटना ?

नाबालिगकी बुआ गहना लिन घर आएपछि आलमारीमा राखिएका सबै गहना हराएको थाहा भएको थियो । नाबालिगका बाबुका अनुसार  बहिनीले गहना माग्दा आलमारी खाली भेटिएपछि छोरामाथि शंका गरियो ।

सोधपुछका क्रममा नाबालिगले मोमो खानका लागि डुमरी चौराहेका पसलेहरूलाई गहना दिएको स्वीकार गरेका थिए ।

नाबालिगका बाबुले आफू वाराणसीको एक मन्दिरमा पुजारीको रूपमा काम गर्ने बताए । उनका अनुसार छोरा गाउँमै बसेर पढ्दै आएका थिए भने उनलाई मोमो खाने बानी थियो । यही कमजोरीको फाइदा उठाउँदै देवरिया–कसया मार्गस्थित डुमरी चौराहामा मोमोको पसल लगाउने तीन युवकले नजिकिएर मित्रता गरेका थिए ।

घरमा रहेका नाबालिगका काकाका अनुसार परिवारका सबै दाजुभाइ तथा दिदीबहिनीका गहना घरमै राखिएको थियो ।

नाबालिगका बाबुको दाबी अनुसार हराइरहेका गहनामा एक जोडी सुनको हार, नौ वटा सुनका औंठी, दुई सुनका मांगटीका, दुई जोडी सुनका कंगन, १३ चाँदीका बिछिया, २२ सुनका नथका किला, चार सुनका बिछिया, पाँच अन्य सुनका औंठी तथा चार जोडी सुनका कानका बाला समावेश छन् । यी गहनाको अनुमानित मूल्य करिब ८५ लाख रुपैयाँ रहेको बताइएको छ ।

अभियुक्त पक्षको दाबी
प्रहरी अनुसन्धानमा अभियुक्तहरूले पहिले नाबालिगलाई निःशुल्क मोमो खुवाएर मित्रता गरेको र पछि बिस्तारै घरबाट गहना ल्याउन उक्साएको खुलेको छ ।

एसओ देवेन्द्र कुमार सिंहका अनुसार नाबालिगले मोमो खानका सट्टा घरबाट गहना निकालेर डुमरी चौराहेका पसलेहरूलाई दिँदै आएका थिए । यो क्रम करिब चारदेखि ६ महिनासम्म चलेको र यस अवधिमा उनले प्रायः दैनिक रूपमा आलमारीबाट एक–एक गरी गहना निकालेर मोमो खाएको बयान दिएका छन् ।

प्रहरीका अनुसार उमेर र समझदारीको कमीका कारण नाबालिग अभियुक्तहरूको झाँसामा परेका हुन् ।

यस घटनामा दीपक कुमार, राकेश र पिन्टुविरुद्ध मुद्दा दर्ता गरिएको छ । नाबालिगका परिवारले सबै गहनाको सूची प्रहरीलाई बुझाइसकेका छन् ।

यद्यपि, अभियुक्तका परिवारजनले गहना फिर्ता गरिसकेको दाबी गरेका छन् । अभियुक्त राकेशका परिवारजनका अनुसार लिइएका गहना प्रहरीलाई बुझाइसकिएको छ । उनीहरूले परिवारले चार कंगनको कुरा गरिरहेको भए पनि वास्तवमा दुई कंगन मात्र लिइएको दाबी गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्