
इरानले अमेरिकासँग आगामी केही दिनभित्र वार्ता सुरु हुने दाबी गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका र ईरानबीचको वार्ता आगामी केही दिनमै तय हुने बताएका हुन् ।
इस्माइल बकाईले इरानको सरकारी समाचार संस्था ‘इरना’सँग कुरा गर्दै ओमान, टर्की तथा केही अन्य देशहरूले उक्त वार्ताको आयोजना गर्न इच्छा व्यक्त गरेको जानकारी दिए । तर अहिलेसम्म वार्तास्थल तय भइनसकेको र यसबारे चाँडै निर्णय हुने उनले बताए ।
यसैबीच मंगलबार साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग वार्ताको प्रक्रिया अगाडि बढिरहेको पुष्टि गरेका थिए ।
यसअघि ह्वाइट हाउसका एक प्रवक्ताले इरानी अधिकारीहरूसँग वार्ता गर्न अमेरिकी विशेष दूत स्टिभ विटकॉफको कार्यक्रम यथावत् रहेको स्पष्ट पारेका थिए ।
यसअघि अमेरिकी युद्धपोत अब्राहम लिंकनले एक इरानी ड्रोन खसालेपछि वार्तामा अवरोध आउन सक्ने आशंका गरिएको थियो ।