
भारतीय सिनेमाका दिग्गज निर्देशक एसएस राजामौली हाल आफ्नो बहुप्रतीक्षित फिल्म ‘वाराणसी’को छायांकनमा व्यस्त छन् । यो फिल्म सन् २०२७ मा रिलिज हुने तय भए पनि राजामौलीले यसबारे अहिलेदेखि नै विभिन्न खुलासा गर्न थालेका छन् । हालै उनले फिल्मकी प्रमुख अभिनेत्री प्रियंका चोपडासँग जोडिएको रोचक प्रसंग सार्वजनिक गरेका छन् । साथै, ‘वाराणसी’ दुई भागमा रिलिज हुन्छ कि हुँदैन भन्ने विषयमा पनि उनले स्पष्ट पारेका छन् ।
एक अन्तर्वार्तामा राजामौलीले प्रियंका चोपडालाई लिएर सुरुमा आफू अलिकति डराएको बताएका छन् । लामो समयसम्म विदेशी प्रोजेक्ट र हलिउडको माहौलमा काम गरिसकेपछि प्रियंका पुनः भारतीय सिनेमाको ढाँचामा घुलमिल हुन सक्छिन् कि सक्दिनन् भन्ने चिन्ता उनलाई थियो ।
राजामौलीलाई किन लागेको थियो शंका ?
राजामौलीका अनुसार प्रियंकाले लामो समयदेखि बलिउड फिल्ममा काम गरेकी थिइनन् । यस अवधिमा उनले निरन्तर हलिउड प्रोडक्सनमा अभिनय गरिन् । यसले उनको काम गर्ने शैली र तरिकामा ठूलो परिवर्तन ल्याएको हुनसक्ने उनको अनुमान थियो । त्यसैले प्रियंका फेरि आफ्नो ‘भारतीय जड’मा फर्कन सक्लिन् कि सक्लिनन् भन्ने विषयमा उनलाई शंका थियो ।
तर छायांकन सुरु हुनासाथ प्रियंकाले आफ्ना सबै शंका एकै क्षणमा हटाइदिएको राजामौलीले बताए । उनले भनेका छन्, ‘सेटमा प्रियंकाको काम र तालमेल देखेर म आफैं चकित भएँ । उनी करिब तुरुन्तै माहौलमा घुलमिल भइन्, ठीक पानीमा माछा जस्तै।’
मन्दाकिनीको भूमिकाका लागि किन रोजिइन् प्रियंका ?
फिल्म ‘वाराणसी’मा प्रियंका चोपडाले ‘मन्दाकिनी’ नामक पात्रको भूमिका निर्वाह गर्नेछिन् । राजामौलीका अनुसार यस पात्रका लागि प्रियंकाभन्दा उपयुक्त अभिनेत्री अरू कोही हुनै सक्दैनथ्यो । उनका अनुसार प्रियंकामा एउटा दुर्लभ गुण छ । उनी पर्दामा जति शक्तिशाली र प्रभावशाली देखिन सक्छिन् । त्यत्तिकै निर्दोष र कमजोर पनि देखिन सक्छिन् । यही बहुआयामिक अभिनय क्षमताका कारण उनी यस उच्च बजेटको परियोजनाको पहिलो रोजाइ बनेकी हुन् ।
के ‘वाराणसी’ दुई भागमा रिलिज हुनेछ ?
फिल्मको लम्बाइ र संरचनाबारे पनि राजामौलीले ठूलो खुलासा गरेका छन् । सुरुमा ‘वाराणसी’लाई दुई भागमा रिलिज गर्ने योजना बनाइएको थियो । तर पछि यो योजना परिवर्तन गरियो । अब फिल्म एकै भागमा रिलिज हुनेछ । तर यसको अवधि निकै लामो रहनेछ । राजामौलीका अनुसार फिल्मको रनटाइम करिब २०० मिनेट अर्थात् झण्डै ३ घण्टा २० मिनेट हुनेछ । उनी दर्शकलाई एकै पटक सम्पूर्ण कथाको अनुभव गराउन चाहन्छन् ।
कहिले रिलिज हुनेछ ‘वाराणसी’ ?
‘वाराणसी’लाई लिएर देशभर व्यापक उत्साह देखिएको छ । गत वर्ष हैदराबादमा भएको यसको मेगा लन्च कार्यक्रमले पहिले नै चर्चा बटुलिसकेको छ । फिल्म ७ अप्रिल २०२७ मा रिलिज हुने तय गरिएको छ । महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारनजस्ता चर्चित कलाकारहरूको अभिनय रहेको यो पौराणिक कथामा आधारित फिल्मले भारत मात्र नभइ विश्वभर तहल्का मच्चाउने अपेक्षा गरिएको छ ।