
इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
तस्निम समाचार एजेन्सीका अनुसार इरान र संयुक्त राज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुनेछ । वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित रहने जनाइएको छ ।
इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्नेछन् । प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञ माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि सहभागी रहनेछन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुन सक्ने अमेरिकी कूटनीतिज्ञ स्टिभ विटकोफले जनाएका छन् ।
तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने अडान लिँदै आएको छ ।
अराघची र विटकोफले गत वर्ष इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गरेका थिए । त्यसपछि इजरायलले छैटौँ चरणको वार्ताअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो ।
तेहरान र वाशिङटनबीच बढ्दो तनावको बीचमा शुक्रबारको वार्ता हुन लागेको हो । संयुक्त राज्य अमेरिकाले हालै इरानमा भएका सरकारविरोधी प्रदर्शन दमनपछि मध्यपूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ ।
तेहरानले गत महिना भएको आन्दोलनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ । इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनका रूपमा सुरु भएको आन्दोलन संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएको आरोप इरानी अधिकारीहरूले लगाएका छन् ।
अमेरिकास्थित गैरसरकारी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’का अनुसार आन्दोलनका क्रममा ६ हजार ८७२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ ।