२७ जेठ २०८३, बुधबार
प्यूठानको चुनावी विश्लेषण

'वाम गढ' प्युठानमा कांग्रेस–एमाले भिडन्त : थापा र पोखरेललाई रास्वपा र जनमोर्चाको चुनौती

माघ २३, २०८२
बुटवल
'वाम गढ' प्युठानमा कांग्रेस–एमाले भिडन्त : थापा र पोखरेललाई रास्वपा र जनमोर्चाको चुनौती

पत्रकारिता हुँदै नेकपा (एमाले)को राजनीतिमा उदाएका युवा नेता सूर्य थापा कम्युनिस्टको ‘गढ’का रूपमा पहिचान बनाएको प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा दोहोरिने दाउमा छन्। धेरै कम्युनिस्ट नेता जन्माएको जिल्ला प्यूठानमा थापासँग योपटक कांग्रेसका बलिया उम्मेदवार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल प्रतिस्पर्धी छन्।

अघिल्लो निर्वाचन (२०७९) मा कांग्रेससहितको गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई थापाले पराजित गरेका थिए। फेरि २०७४ को निर्वाचनमा एमालेसहितको गठबन्धनबाट डा. पोखरेललाई उपाध्यक्ष पौडेलले पराजित गरेकी थिइन्।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा थापा र पोखरेलसँगै नेकपा (माओवादी केन्द्र)ले कृष्णध्वज खड्कालाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशान्त वैदिक, राष्ट्रिय जनमोर्चाले तिलक बहादुर जिसीसहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

योपटक जिल्लामा सबै उम्मेदवार एक्ला–एक्लै चुनावी मैदानमा छन्, अर्थात् कुनै गठबन्धन छैन। हरेक पार्टीको वास्तविक शक्ति परीक्षण हुँदैछ। अहिले जिल्लामा थापा, पोखरेल, वैदिक, खड्का र जिसीबीच प्रतिस्पर्धा हुने अनुमान छ।

तर, अघिल्ला दुई वटा चुनावभन्दा योपटक प्यूठानमा फरक दृश्य देखिन्छ। पछिल्लो समय स्थापित राजनीतिक दलप्रति नागरिकमा देखिएको निराशाले चुनावी परिणाम समेत फरक पार्ने अडकलबाजी हुन थालेका छन्। थापा, पोखरेलसँगै सबै उम्मेदवार चुनावी अभियानमा जिल्लामा केन्द्रित छन्। आफूलाई जिताउन जनतालाई विनम्रतापूर्वक आग्रह गर्दै राति अबेरसम्मै नेताहरू गाउँगाउँ पुगिरहेका छन्। थापा दोस्रो जित निकाल्ने दाउमा छन् भने पोखरेल थापालाई रोकेर जित निकाल्न चाहन्छन्। सँगै नयाँ शक्तिहरू चुनावी अभियानमा उत्साहसाथ मैदानमा उत्रिँदा स्थापित दलका उम्मेदवारमा त्रास पनि देखिन्छ।

कुनै बेला जनमोर्चाको किल्ला मानिने प्यूठानमा उसको पनि राम्रो मत छ। जिल्लामा थापा र पोखरेल बढी पकड भएका नेता मानिन्छन्। उम्मेदवार थापाले योपटक पनि विगतजस्तै नतिजा दोहोर्‍याउने दाबी गरेका छन्। ‘मेरो जितको आधार संगठन हो, सँगै जिल्लामा अहिले एक्ला–एक्लै चुनावी प्रतिस्पर्धा पनि छ, बाहिर हल्ला गरिएजस्तै भूगोलमा जनताले एमालेलाई नै विश्वास गरेको पाएँ,’ उम्मेदवार थापाले लोकान्तरसँग भने।

२०७९ को निर्वाचनमा दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका थिए। थापाले ४१ हजार ११८ मत ल्याउँदा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिइन्। त्यस्तै, २०७४ को निर्वाचनमा उपाध्यक्ष पौडेलले कांग्रेसका उम्मेदवार डा. पोखरेललाई १६ हजार २८६ मतान्तरले पराजित गरेकी थिइन्। पौडेलले ४७ हजार ५१४ मत ल्याउँदा पोखरेलले ३१ हजार २८६ मत ल्याएका थिए।

जनताले योपटक पनि आफूलाई विजयी गराउने थापाले दाबी गरे। नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु गिरीले योपटक प्यूठानीले डा. गोविन्द पोखरेललाई जिताउने दाबी गरे। जिल्लामा पछिल्लो समय नयाँ भनिने दलहरूको हल्ला आए पनि निर्णायक तहमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने गिरीको भनाइ छ।

धेरै कम्युनिस्ट नेताहरू जन्मिए पनि प्यूठानले विकासमा गति लिन नसकेको आमजनताको गुनासो छ। अहिलेसम्म जिल्लाबाट प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूले जिल्लाको विकासमा सोचेअनुसार योगदान दिन नसकेको उनीहरूको गुनासो छ।

रास्वपा प्यूठान सभापति विकास पोखरेलले यो पटकको चुनावमा प्यूठानका जनताले ठूलो परिवर्तन चाहेको बताए। ‘अहिलेको चुनावमा हामीले नतिजा उल्टाउँछौँ,’ पोखरेलले लोकान्तरसँग भने, ‘हामी नपुगेको र नदेखेको ठाउँमा पनि जनताले तपाईंहरूलाई मत दिन्छौँ, अब परिवर्तन चाहियो भनेका छन्। यसले हामीलाई उत्साहित बनाएको छ। योपटक हामी जित निकाल्छौँ।’

अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ एमालेले जिल्लामा सबैभन्दा धेरै ३३ हजार ८०४ मत ल्याएको थियो। कांग्रेसले १७ हजार ८५१, माओवादी केन्द्रले १३ हजार ३०३, जनमोर्चाले ९ हजार ९५९ मत र रास्वपाले समेत ५ हजार ८५१ मत पाएका थिए। यसपटकको चुनावमा सबै राजनीतिक दल एक्ला–एक्लै चुनावी प्रतिस्पर्धामा रहेकाले मत 'स्वीङ' हुने सम्भावना कम देखिन्छ। एक्ला–एक्लै चुनाव लड्दा एमालेको मत अरू दलको भन्दा बलियो देखिन्छ।

बहुदल आएपछि सुरुका २ निर्वाचनमा कांग्रेसले जिते पनि त्यसपछिका सबै निर्वाचन कम्युनिस्टले जितेका छन्। २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो। १ नम्बर क्षेत्रबाट कांग्रेसका शिवराज सुवेदी र २ नम्बर क्षेत्रबाट मुक्ति शर्माले जित निकालेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा १ नम्बर क्षेत्रबाट पुनः सुवेदी र २ नम्बर क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदीले जितेका थिए। २०५६ सालको निर्वाचनमा भने दुवै क्षेत्रमा जनमोर्चाले जित्यो। १ नम्बर क्षेत्रबाट हरि आचार्य र २ नम्बर क्षेत्रबाट नवराज सुवेदी नै दोहोरिए। २०६२/०६३ को परिवर्तनपछि भएको पहिलो संविधानसभा निर्वाचनमा दुवै क्षेत्रमा तत्कालीन नेकपा (माओवादी) ले जित निकाल्यो।

१ नम्बर क्षेत्रबाट नारायण अधिकारी र २ नम्बर क्षेत्रबाट दीपक केसीले जिते। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र एमालेले जित्यो। १ नम्बर क्षेत्रबाट तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतम र २ नम्बर क्षेत्रबाट हिरा केसीले जितेका थिए। २०७४ मा एउटा निर्वाचन क्षेत्र भएपछि जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र २०७९ को निर्वाचनमा एमालेका नेता सूर्य थापाले जित निकालेका छन्।

प्यूठानमा २ नगरपालिका र ७ गाउँपालिका छन्। प्यूठान र स्वर्गद्वारी नगरपालिकाका साथै गौमुखी, नौबहिनी, झिमरुक, मल्लरानी, ऐरावती, सरुमारानी र माण्डवी गाउँपालिका छन्। जिल्लाका ९ स्थानीय तहमा गरी कूल १ लाख ६१ हजार ६८० मतदाता रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्