
भारत-अमेरिका व्यापार सम्झौता घोषणापछि नयाँ दिल्लीले दक्षिण र दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्यात प्रतिस्पर्धीहरूभन्दा कम भन्सार महसुलको अवसर पाएको छ ।
वासिङ्टनले भारतमाथिको भन्सार १८ प्रतिशतमा झारेसँगै भारतले यस क्षेत्रका प्रतिस्पर्धी निर्यात अर्थतन्त्रहरूमध्ये स्पष्ट फाइदा उठाएको हो, इन्डोनेसियाको १९ प्रतिशत तथा बंगलादेश र भियतनामको २० प्रतिशतको तुलनामा भारतमाथि कम भन्सार दरहरू लगाइएको छ ।
चीनको (३४ प्रतिशत)तुलनामा, भारतले अब उल्लेखनीय रूपमा कम भन्सार महसुलको आनन्द लिइरहेको इकोनोमिक टाइम्सले जनाएको छ। भारतले पाकिस्तानमाथि पनि थोरै अग्रता हासिल गरेको छ, इस्लामाबादमा हाल १९ प्रतिशत भन्सार लगाइएको छ।
यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको मित्रता र सम्मानको कारण वासिङ्टनले पारस्परिक भन्सार २५ प्रतिशतबाट १८ प्रतिशत कायम गरेर व्यापार सम्झौता गर्न सहमत भएको बताएका थिए । उनले यो सम्झौता तुरुन्तै लागू हुने बताएका थिए ।
आफ्नो ट्रुथ सोसल पोस्टमा, ट्रम्पले मोदी आफ्ना नजिकका साथीहरूमध्ये एक र भारतका एक शक्तिशाली, सम्मानित नेता भएको उल्लेख गरेका थिए । अमेरिकी राष्ट्रपतिले यो पनि दाबी गरेका थिए कि प्रधानमन्त्री मोदी रूसी तेल किन्न बन्द गर्न र अमेरिकाबाट धेरै कुराहरू किन्न सहमत भएका छन।
ट्रम्पको पोस्टपछि मोदीले एक्समा एक पोस्ट गर्दै प्रिय मित्र राष्ट्रपति ट्रम्पसँग कुरा गर्न पाउनु अद्भुत भएको बताएका थिए । भारतमा निर्मित उत्पादनहरूमा अब १८ प्रतिशतले कर हुने कुरामा खुशी व्यक्त गरेका थिए ।