
नेपालीमा एउटा भनाइ छ, लोग्ने स्वास्नीको झगडा परालको आगो । अनि, श्रीमान-श्रीमतीबीच सामान्य ठ्याकठुक पर्नु त ‘सामान्य’ नै भइहाल्यो ।
जब जब श्रीमती आफ्नो श्रीमानसँग रिसाउँछिन् अथवा उनीहरूबीच झगडा भयो भने पहिलो जाने ठाउँ नै माइती हो । श्रीमती माइती गएको बेला एउटा झोकी श्रीमानले के के गर्न सक्छ ? भारतको झारखण्डमा यस्तै एक घटना भएको छ ।
जमुआ थाना अन्तर्गत पर्ने चंगुलो गाउँ निवासी पिन्टु मण्डलले श्रीमतीमा माइती गएको बेला अस्वाभाविक हर्कत गरेका छन् । हालैको एक दिन पति-पत्नीबीच झगडा भयो । झगडापछि पिन्टुकी पत्नी माइती गइन् ।
पत्नी माइती गएको झोकमा पिन्टु जेसीबी मेसिन लिएर उहीँ पुग्छन् । र, ससुराली घरको चारैतिरको पर्खाल भत्काइदिन्छन् । घटनापछि पति–पत्नी दुवै पक्षले एक–अर्काविरुद्ध गम्भीर आरोप लगाएका छन् । महिलाको उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान शुरू गरेको छ ।
स्थानीय बासिन्दाहरू घटनास्थलमा जम्मा भएपछि पिन्टु जेसीबीसहित त्यहाँबाट फरार भएका थिए । पिन्टुका अनुसार उनको विवाह करिब साढे चार वर्षअघि भएको हो । उनले पत्नी पटक–पटक माइती जाने र सासु–ससुराले पनि उनलाई ससुराल पठाउने साटो समर्थन गर्ने गरेको आरोप लगाएका छन् ।
पटक–पटक पत्नीलाई फिर्ता ल्याउने प्रयास गर्दा पनि पत्नी र उनका परिवारजन तयार नभएपछि आफू मानसिक तनावमा परेको र त्यसै कारण यस्तो कदम चालेको उनको दाबी छ ।
यता पत्नी उर्मिला देवीले पतिका आरोपहरू निराधार भएको बताएकी छन् । उनका अनुसार पिन्टु मण्डल दैनिकजसो मदिरा सेवन गरी घर आउने र कुटपिट गर्ने गरेका कारण आफू दुई सन्तानसहित माइतीमा बस्न बाध्य भएको हो । कुनै अप्रिय अवस्था नआओस् भनेर माइतीमै बसिरहेको उनको भनाइ छ ।
उर्मिला देवीले आफू समय–समयमा ससुराल जाने गरेको पनि बताइन् । पारिवारिक विवाद समाधानका लागि पञ्चायतस्तरमा समेत छलफल भएको तर त्यसक्रममा पनि पतिले हंगामा मच्चाएको र जबर्जस्ती गरगहना लगेको आरोप उनले लगाएकी छन् ।
यस सम्बन्धमा जमुआ थाना प्रमुख विभूति देव कुमारले उर्मिला देवीको लिखित उजुरीका आधारमा मुद्दा दर्ता गरिएको जानकारी दिए ।
उनका अनुसार दुवै पक्षका बयान र उपलब्ध प्रमाणका आधारमा घटनाबारे अनुसन्धान भइरहेको छ र त्यसपछि आवश्यक कानू नी कारबाही अघि बढाइनेछ ।