
अमेरिकी प्रख्यात स्की खेलाडी लिन्डसे भोनको ओलम्पिक सपना कोर्टिना हिउँदे ओलम्पिक २०२६ मा एक दुःखद दुर्घटनासँगै टुंगिएको छ। घुँडाको लिगामेन्ट च्यातिएको ९ दिनमै उच्च जोखिम मोलेर 'डाउनहिल' स्पर्धामा उत्रिएकी ४१ वर्षीया भोन सन्तुलन गुमाएर लड्न पुगेकी थिइन्।
उनलाई मैदानबाटै हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल लगिएको छ। सन् २०१० की स्वर्ण विजेता भोनले यसअघि नै सन्यास फिर्ता लिएर पुनरागमन गरेकी थिइन् । तर यो पछिल्लो चोटले उनको शानदार खेल जीवनको अन्त्य हुन सक्ने देखिएको छ।
भोन दुर्घटनामा परेपछि उनका सहकर्मी र समर्थकहरू स्तब्ध बनेका छन्। सोही स्पर्धामा अमेरिकाकै ३० वर्षीया ब्रीजी जोनसनले स्वर्ण पदक जित्दै इतिहास रचेकी छन् भने जर्मनीकी एम्मा आइचरले रजत र इटालीकी सोफिया गोजियाले कास्य पदक हात पारेका छन्।
स्वर्ण पदक विजेता जोनसनले आफ्नी आदर्श खेलाडी भोनको यस्तो पीडादायी बिदाइले आफ्नो मन रोएको बताइन्। खेल विशेषज्ञहरूले भोनले यस्तो दुःखद अन्त्य भन्दा अझै सम्मानजनक बिदाइको हकदार रहेको भन्दै सहानुभूति व्यक्त गरेका छन्।