
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का सचिव देवजीत सैकियाले भारतीय टोलीका स्टार ब्याट्सम्यान विराट कोहली र मुख्य प्रशिक्षक गौतम गम्भीरबीच सम्बन्ध राम्रो छैन भन्ने अड्कलबाजीलाई पूर्णविराम दिएका छन् । सैकियाले दुवैबीचको सम्बन्ध पूर्ण रूपमा सौहार्दपूर्ण रहेको र टोलीभित्र कुनै पनि प्रकारको टकराव नरहेको स्पष्ट पारेका हुन् ।
सैकियाले भने,‘मैले उनीहरूलाई कहिल्यै झगडा गरेको देखेको छैन । उनीहरू देशको प्रतिनिधित्व गर्छन् । म उनीहरूसँगै हुन्छु, दुवैबीच अत्यन्तै राम्रो र सहज सम्बन्ध छ।’
भारतीय एकदिवसीय टोलीमा परिवर्तन र नयाँ युगको सुरुआतसम्बन्धी चर्चाबीच विभिन्न अड्कलबाजी चलिरहेका थिए । शुभमन गिललाई कप्तान बनाइनु र अस्ट्रेलिया भ्रमणअघि टोलीमा गरिएका परिवर्तनले व्यवस्थापन भविष्यको तयारीमा रहेको संकेत दिएका थिए ।
यसैबीच प्रमुख चयनकर्ता अजित अगरकरको बयानले पनि चर्चालाई थप बल दिएको थियो । उनले रोहित शर्मा र विराट कोहलीले सन् २०२७ को एकदिवसीय विश्वकपलाई लिएर अहिलेसम्म कुनै ठोस प्रतिबद्धता जनाएका छैनन् भनेका थिए । यी सबै कारणले टोली व्यवस्थापनले युवा खेलाडीहरूलाई अगाडि ल्याउन वरिष्ठ खेलाडीहरूको स्थानबारे विचार गरिरहेको भन्ने खबर बाहिर आएका थिए । तर, बीसीसीआई सचिवको पछिल्लो भनाइले यस्ता अड्कलबाजीलाई हदसम्म खारेज गरिदिएको छ ।
देवजीत सैकियाले विराट कोहलीलाई टोलीबाट बाहिर निकाल्ने प्रयास भइरहेको भन्ने रिपोर्टबारे पनि प्रतिक्रिया दिएका छन्। उनले स्पष्ट रूपमा भने, ‘विराट कोहलीजस्तो कदका खेलाडीलाई कुनै पनि संस्था वा व्यक्तिले उनको करियरबारे निर्णय लिन बाध्य पार्न सक्दैन।’
यो भनाइले बीसीसीआईले अहिले पनि विराट कोहलीको अनुभव र योगदानलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरेको स्पष्ट संकेत गर्दछ ।