०९ असार २०८३, मंगलबार

अन्तरिक्षमा बच्चा जन्माउनु कति सुरक्षित छ ? अध्ययनले यस्तो देखायो

माघ २६, २०८२
काठमाडौं
अन्तरिक्षमा बच्चा जन्माउनु कति सुरक्षित छ ? अध्ययनले यस्तो देखायो

अन्तरिक्षमा मानव सभ्यता बसाल्ने दिशामा वैज्ञानिकहरू तीव्र गतिमा काम गरिरहेका छन् । यस क्रममा विज्ञानले उल्लेखनीय सफलता पनि हासिल गरेको छ । तर यी सबै प्रयासबीच एउटा गम्भीर प्रश्न उठिरहेको छ—के अन्तरिक्षमा मानिसले सुरक्षित रूपमा बच्चा जन्माउन सक्छन् ? 

यसै प्रश्नको उत्तर खोज्न हालै एउटा अध्ययन गरिएको छ । रिप्रोडक्टिभ बायोमेडिसिन अनलाइन जर्नलमा प्रकाशित अध्ययनका अनुसार अन्तरिक्षमा बच्चा जन्माउनु हालको अवस्थामा सुरक्षित मानिँदैन ।

अहिलेसम्म अन्तरिक्षमा बच्चा जन्माउनु मानिसका लागि कति सुरक्षित छ भन्ने विषयमा पूर्ण पुष्टि भइसकेको छैन । तर वैज्ञानिकहरूका अनुसार अन्तरिक्षको वातावरण बच्चा जन्मका लागि जोखिमपूर्ण हुन सक्छ । अन्तरिक्षमा पाइने विकिरण (रेडिएसन) र माइक्रो–ग्राभिटीले मानव प्रजनन प्रणालीमा नकारात्मक प्रभाव पार्न सक्छ ।

विकिरणले डीएनएमा क्षति पुर्‍याएर शुक्राणु र डिम्ब (एग) कमजोर बनाउन सक्छ । यसका कारण भ्रूणको विकासमा अवरोध आउन सक्छ । साथै, विकिरणका कारण क्यान्सरको जोखिम पनि बढ्ने सम्भावना हुन्छ । माइक्रो–ग्राभिटीको सन्दर्भमा पनि यसले भ्रूणमा असर पार्न सक्छ । यद्यपि जनावरहरूमा गरिएका अध्ययनमा यसका नतिजा एकरूप देखिएका छैनन् । त्यसैले यस विषयमा थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

यस्तै अध्ययनले अन्तरिक्षमा लामो समय बिताउँदा महिला र पुरुष दुवैको प्रजनन प्रणालीमा नकारात्मक प्रभाव पर्न सक्ने देखाएको छ । यसको मुख्य कारणका रूपमा कोस्मिक विकिरण, गुरुत्वाकर्षणको अभाव, सर्केडियन रिदममा गडबडीका साथै शारीरिक र मानसिक तनावलाई मानिएको छ ।

यद्यपि, अध्ययनमा छोटो अवधिका अन्तरिक्ष मिसनले प्रजनन स्वास्थ्यमा खासै गम्भीर प्रभाव पार्दैनन् भन्ने पनि उल्लेख गरिएको छ । तर अन्तरिक्षमा दीर्घकालीन रूपमा मानव सभ्यता बसाल्ने लक्ष्य राखियो   भने यस विषयमा नतिजा अझै स्पष्ट छैनन् । अन्तरिक्षमा बच्चा जन्माउनु कति सुरक्षित छ भन्ने प्रश्नको ठोस उत्तर वैज्ञानिकहरूसँग अहिले पनि उपलब्ध छैन ।

 

salt training

कमेन्ट गर्नुहोस्