
स्पेसएक्सका संस्थापक एलन मस्कले चन्द्रमामा शहर बसाउने आफ्नो योजना पुनः सार्वजनिक गरेका छन् । उनले मंगल ग्रहको तुलनामा चन्द्रमामा कम समयमा शहर विकास गर्न सकिने बताएका छन् । यसअघि उनको मुख्य लक्ष्य मंगल ग्रहमा शहर बसाउने भएपनि अहिले चन्द्रमामै ध्यान केन्द्रित गर्न चाहन्छन् ।
यसअघि एलन मस्कले सन् २०५० सम्म मंगल ग्रहमा १० लाख मानिस बस्न सक्ने आत्मनिर्भर शहर विकास गर्ने योजना सार्वजनिक गरेका थिए । मंगल ग्रहको अत्यधिक चिसो र विषालु वातावरणबाट मानवलाई सुरक्षित राख्न उनले सुरुमा टेस्लाका अप्टिमस ह्युमानोइड रोबोट त्यहाँ पठाउने तयारी गरिरहेको बताएका थिए । यद्यपि, हाल उनले चन्द्रमामा शहर बसाउने घोषणा गरेका छन् ।
एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेख्दै भनेका छन्, ‘जसलाई जानकारी छैन, उनीहरूका लागि स्पष्ट पार्न चाहन्छु कि स्पेसएक्सले चन्द्रमामा ‘सेल्फ ग्रोइङ’ अर्थात् आफैं विस्तार हुने शहर निर्माणमा ध्यान केन्द्रित गरेको छ । हामी यो लक्ष्य १० वर्षभन्दा कम समयमा हासिल गर्न सक्छौं, जबकि मंगल ग्रहमा यसका लागि २० वर्षभन्दा बढी समय लाग्न सक्छ ।’
मस्कका अनुसार स्पेसएक्सको मिशन मानव जीवनलाई तारासम्म विस्तार गर्नु हो । उनले भने, ‘मंगल ग्रहको यात्रा केवल ग्रहहरू प्रत्येक २६ महिनामा एक रेखामा आउने बेला मात्र सम्भव हुन्छ, जसमा यात्रा अवधि करिब ६ महिना हुन्छ । तर चन्द्रमातर्फ हामी हरेक १० दिनमा प्रक्षेपण गर्न सक्छौं र यात्रा अवधि मात्र २ दिनको हुन्छ ।’
मस्कले आगामी केही वर्षमा चन्द्रमामा शहर बसाइसकेपछि मंगल ग्रहमा पनि शहर विकास गर्ने तयारी गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘मंगलको तुलनामा चन्द्रमामा शहर छिटो पूरा गर्न सकिन्छ । यद्यपि, स्पेसएक्सले मंगल ग्रहमा पनि शहर बसाउने प्रयास गर्नेछ र आगामी ५ देखि ७ वर्षभित्र त्यसको सुरुवात गर्ने योजना छ । तर हाम्रो पहिलो प्राथमिकता सभ्यताको भविष्य सुरक्षित गर्नु र चन्द्रमामा पुग्नु हो।’