
भारतीय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण अस्पताल भर्ना भएका छन्। यससँगै बिहीबार दिल्लीमा हुने नामिबिया विरुद्धको टी-२० विश्वकपको खेलमा उनको सहभागिता अनिश्चित बनेको हो ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा उपचाररत छन्। बीसीसीआई स्रोतलाई उद्धृत गर्दै पीटीआईले जनाए अनुसार, उनलाई पेटमा संक्रमण देखिएपछि दिल्लीस्थित एक निजी अस्पतालमा भर्ना गरिएको हो।
उनको स्वास्थ्य समस्या पहिचान गर्न केही परीक्षणहरू भइरहेका छन् र आजै डिस्चार्ज हुने वा नहुने भन्ने टुंगो छैन। त्यसैले नामिबिया विरुद्धको खेलमा उनी खेल्ने सम्भावना निकै कम छ।
यसअघि मुम्बईमा भएको अमेरिका विरुद्धको पहिलो खेलमा अभिषेक पहिलो बलमै आउट भएका थिए। सो खेलमा फिल्डिङ गर्न मैदानमा नआएपछि भारतीय टोलीका सहायक प्रशिक्षक रायन टेन डोस्चाटेले उनलाई पेट सम्बन्धी समस्या भएको पुष्टि गरेका थिए।
यदि अभिषेक खेल्न नसकेको खण्डमा भारतले सञ्जु सैमसनलाई ओपनिङमा ल्याउन सक्ने सम्भावना छ। यसअघि न्युजिल्यान्ड विरुद्धको शृंखलामा लगातार खराब प्रदर्शन गरेपछि सैमसनको स्थानमा इशान किशनलाई पहिलो रोजाइको विकेटकिपर-ब्याटर बनाइएको थियो।