२६ जेठ २०८३, मंगलबार
नैनसिंह महरसँग चुनावी संवाद

जनताका अपेक्षा पूरा गर्छु, डडेल्धुरावासीको शिर निहुराउने काम गर्ने छैन– नैनसिंह महर [भिडियो]

'शेरबहादुर दाइ एकपटक सुदूरपश्चिम आउनैपर्छ, उहाँ आउने कुरा छ'
माघ २९, २०८२
डडेल्धुरा
जनताका अपेक्षा पूरा गर्छु, डडेल्धुरावासीको शिर निहुराउने काम गर्ने छैन– नैनसिंह महर [भिडियो]

डडेल्धुरावासीले नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई जिल्लाबाट सातपटक संघीय संसद्को चुनाव जिताए। पाँचपटक त देउवा देशको प्रधानमन्त्रीसमेत बने। तर, देउवाले आठौँपटक चुनाव लड्ने अवसर पाएनन्। कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनले उनलाई चुनाव नलड्ने अवस्थामा पुर्‍याइदियो।

उनको विरासत धान्न कांग्रेसले नेपाल विद्यार्थी संघको अध्यक्ष र पार्टीको शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। विद्यार्थी कालदेखि नै राजनीतिक यात्रा सुरु गरेका महर अध्ययनशील नेताभित्र पर्छन्।

निर्धारित समयभन्दा अगाडि र फरक परिवेशमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा पाँचपटकका प्रधानमन्त्री देउवाको विरासत धान्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका महरका चुनावी प्रतिबद्धता के–के छन्? कस्ता एजेन्डा लिएर मतदाताकहाँ गइरहेका छन्? यसै विषयमा केन्द्रित रहेर लोकान्तरकर्मी रोशन राउतसुवास गोतामेले महरसँग कुराकानी गरेका छन् । प्रस्तुत छ महरसँग गरिएको कुराकानीको अंश :

चुनावी अभियान कसरी चलिरहेको छ?
संसद्ले मूलतः कानून निर्माण गर्ने हो। सांसदको काम पनि कानून बनाउने मात्रै हो। तर, हामी जनताका प्रतिनिधि भएकाले आफ्ना केही योजना छन्; जस्तै: पुल, सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आयोजनामा ध्यान दिनुपर्नेछ। सर्वसाधारणका आधारभूत आवश्यकतालाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ भनेर उनीहरूका गुनासो सुनिरहेको छु। मैले धेरै आश्वासन दिन्न। कति पूरा गर्न सक्ने हो, त्यति नै वाचा गर्छु। संविधानमा धेरै कुरा लेखियो, तर कति पूरा भए, कति बाँकी छन्, त्यसलाई ध्यान दिन्छु।

null

विगतका सरकारले जनताका कतिपय आवश्यकता पूरा गर्न सकेनन्। अहिले मैले घरदैलो सुरु गरेको छु। मतदाताको घरदैलोमा पुगेर आफ्नो कुरा राखिरहेको छु। हिजो नभएका काम पूरा गर्छु भनिरहेको छु। जनताका अपेक्षा पूरा हुनेसम्मका काम गर्छु।

गत भदौ २३ र २४ गतेपछि देशमा नयाँ परिवेश सिर्जना भएको छ। बदलिँदो परिस्थितिमा जनताको मनोभावना कस्तो छ?
मलाई याद छ, २०४८ सालदेखि डडेल्धुराको हरेक बस्तीमा कांग्रेसको झण्डा र चुनाव चिह्न लिएर शेरबहादुर देउवाको नेतृत्वमा हामीले सातपटक चुनाव जितेका छौँ। २०४८ सालमा हामी गाउँमा जाँदा स्कुल स्थापनाको चलन चलेको थियो। हामी स्कुलमा जान्थ्यौँ, कसैले बाटो चाहियो भन्थे, कसैले पुल चाहियो भन्थे, कसैले स्वास्थ्य चौकी चाहियो भन्थे, कसैले बिजुली त कसैले खानेपानी माग्थे। सर्वसाधारणले आफ्ना आधारभूत आवश्यकता माग्थे।

तर, अहिले केही फेरिएको छ। २० वर्षअघि गाउँभरि एउटा धारा भए पुग्छ भन्थे। पछि घरघरमा धारा चाहियो। अहिले युवायुवती विदेश गएर फर्किएपछि हरेक घरका कोठामा धारा चाहियो। त्यस कारणले नयाँ युवाको माग सम्बोधन गर्न विकासको लहर ल्याउनु छ।

हाम्रो नयाँ युवाको माग छ, स्वरोजगार र शिक्षाको कुरा छ। मैले १५ वर्षअघि देखि नै उठाउँदै आएको कुरा निःशुल्क शिक्षा र स्वास्थ्य नै हो। उद्यमशील रोजगार चाहिन्छ। यसपटक हामी गाउँबस्तीका कुरा सुन्दै छौँ।

यहाँका सर्वसाधारण भदौ २४ को घटनापछि आफ्नो स्वाभिमानमा केही आँच आउने हो कि भन्ने चिन्तामा छन्। एकताको प्रतीक सिंहदरबारदेखि लिएर खर्बौँको सम्पत्ति नष्ट हुनुहुँदैन थियो भन्ने चिन्तामा छन्। मतदानका माध्यमले यो घटना गर्ने र गराउनेलाई सबक सिकाउनुपर्छ भनिरहेका छन्।

तर, २३ गतेको घटनामा जेनजीका माग सत्य थिए। भ्रष्टाचार अन्त्य र सुशासनका लागि भएको आन्दोलनमा निहत्था जनताका छोराछोरीमाथि बन्दुक तेर्स्याइयो र १९ जनाभन्दा बढी मारिए। त्यसमा पनि सर्वसाधारण दुःखी छन्।

माओवादीले १७ हजार मार्दा पनि सर्वसाधारण मिलेरै बसेका हुन्। अहिले जति क्षति भए पनि अब चाहिँ हामी मिलेर बस्नुको विकल्प छैन। सबैले हिजोका पूर्वाग्रह त्यागेर अगाडि बढ्नुपर्छ। अतीतलाई इतिहासमा विश्लेषण गर्न दिनुपर्छ। ध्वंसात्मक प्रवृत्ति राम्रो होइन। नयाँ डडेल्धुराको सामाजिक र पूर्वाधार विकासमा योगदान दिन लाग्नुपर्छ।

डडेल्धुराले शेरबहादुर देउवालाई सातपटक जिताएर पठायो, पाँचपटक त प्रधानमन्त्री बनायो। अब त्यो विरासत तपाईंले धान्नुपर्ने देखिन्छ। कस्तो महसुस गरिरहनुभएको छ?
पहिलो, हामी देउवालाई अभिभावकत्व मानेरै चल्थ्यौँ। अभिभावक जहिले पनि अभिभावक नै हो। पहिला अभिभावकको छाताभित्र बस्ने बानी थियो। तर, अहिले अलिकति जिम्मेवारी बढी बोध भएको छ। अभिभावकको छातामा काम गरिरहेको बानीले थोरै असजिलो महसुस भएको छ।

तर, उहाँको अभिभावकत्व हामीलाई छ। डडेल्धुरावासी जो ६ हजारभन्दा बढी क्रियाशील साथीहरू हुनुहुन्छ, त्यो हाम्रो जित्ने प्रमुख आधार हो।

त्यसपछि डडेल्धुरा जिल्लामा कांग्रेसले गरेको परिवर्तन र विकासका पूर्वाधारमा प्रगति गरेका छौँ, त्यो हाम्रो जनताको साथ पाउने दोस्रो आधार हो। तेस्रो भनेको मैले राष्ट्रिय तहमा विकाससँगै स्थानीय सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका सवालमा अरूभन्दा बढी योजना बनाएर बसेको कारणले पनि युवाहरूको आकर्षण मसँग बढी छ।

मैले हिजोदेखि नै पुराना पुस्ताको विवेचना गर्दै आएको छु। अहिले जेन्जीसँगै अल्फा पनि सँगै आइसके। म पुरानो पुस्तासँग लामो समयदेखि काम गर्दै आइरहेको व्यक्ति हुँ। नेपाल विद्यार्थी संघदेखि काम गर्दै आएकाले दुईवटा पुस्ताको सहकार्यमा काम गरेको अनुभव मलाई छ।

अब ग्रामीण महाकालीको एउटा किनारमा अभावै अभावमा जन्मिएको मैले म्याराथन दौडिएर सबैसँग प्रतिस्पर्धाको माध्यमले नेविसंघको चुनाव जितेको छु। मलाई अभावको जिन्दगी पनि थाहा छ, गाउँको जिन्दगी थाहा छ, सहरको जिन्दगी पनि थाहा छ। मध्यम र गरिबको जिन्दगी पनि थाहा छ। देश र विदेशको कुरा पनि थाहा छ।

यी सबै अनुभवलाई सँगालेर म अगाडि बढ्छु। डडेल्धुरावासीले जस्तो नेता खोजेका छन्, त्यस्तै नेता बन्छु म। योसँगै राजनीतिक नेतृत्व इमानदार छ कि छैन भन्ने कुरा सर्वसाधारणले प्रश्न उठाउनेछन्, म इमानदार नेता हुँ। मैले केही बिगार्दिनँ, बरु सपार्छु।

null

डडेल्धुरावासीको शिर निहुराउने काम गर्दिनँ। यो नै मेरो पहिलो प्रतिबद्धता हो। इमानदारिताको खडेरी परेको र नैतिकताको खडेरी परेको अनि स्वच्छ र सत्य चरित्रको खडेरी परेको वर्तमान समाजमा म आफूलाई इमानदारिताको पक्षमा उभ्याउन चाहन्छु। इमानदारिता डगमगाउने काम मेरो हातबाट हुँदैन। त्यसमा डडेल्धुरावासीले मलाई साथ दिनुहुने नै छ।

डडेल्धुरा एनडी प्रकाश चटौत (कांग्रेसका संस्थापक नेता) को मिसनमा अगाडि बढेको जिल्ला हो। द्वारिकादेवी ठकुरानी (नेपालको पहिलो महिला मन्त्री) महिलाहरूलाई घरबाहिर आउनै दिनुहुँदैन भन्ने भाष्य बनेका बेला निर्वाचित भइन्। उनी दक्षिण एसियाकै पहिलो महिला मन्त्री बनेको जिल्ला हो डडेल्धुरा। किसानको पक्षमा बोल्ने क्रान्तिकारी नेता भीमदत्त पन्त, जसले धनीको कब्जामा रहेको गुड (सख्खर) र नुन जनतामा बाँडे।

२०३६ सालमा कांग्रेसकै नेतृत्वमा जनमत संग्रहबाट बहुदलका पक्षमा बहुमत दिने जिल्ला पनि डडेल्धुरा नै हो। अनि सातपटक देउवालाई विजयी बनाएर पाँचपटक प्रधानमन्त्री बनाउने जिल्ला डडेल्धुरा नै हो। अब मलाई पनि डडेल्धुरावासीले बहुमतका साथ विजयी गराउनुहुनेछ भन्नेमा म ढुक्क छु। हाम्रो विरासत जोगाउने आधार पनि यिनै हुन्।

शेरबहादुर देउवा तपाईंको मनोनयनपछि डडेल्धुरा आउनुभएको छैन, उहाँको आवश्यकता कत्तिको महसुस गर्नुभएको छ?
शेरबहादुर देउवालाई मैलेभन्दा पनि सुदूरपश्चिमका जनताले बिनासर्त ३४/३५ वर्षसम्म निरन्तर साथ दिएका हुन्। त्यो नेता जेनजी आन्दोलनमा समस्यामा परिसकेपछि आफ्नो नेतालाई एकपटक स्पर्श गर्न पाए हुन्थ्यो, माया गर्न पाए हुन्थ्यो, नेतासँग अन्तरक्रिया गर्न पाए हुन्थ्यो वा संवाद गर्न पाए हुन्थ्यो, अँगालो हाल्न पाए हुन्थ्यो भन्ने दिमाग बनाएर यहाँका जनता बसिरहेकै छन्।

त्यसको पूर्तिका लागि शेरबहादुर दाइ एकपटक सुदूरपश्चिम आउनैपर्छ। डडेल्धुरा पनि आउने कुरा भएको छ। उहाँको स्वास्थ्यले साथ दिएसम्म उहाँ आउने कुरा छ। उहाँको आवश्यकता महसुस भएको छ। यद्यपि, उहाँको अभिभावकत्व जस्तै ठाउँ-ठाउँमा समन्वय गर्ने कुरा होस् वा उहाँको सचिवालयले गर्ने फोन क्याम्पेनिङ भइरहेकै छ।

तर, उहाँको भौतिक उपस्थिति भइदियो भने सुनमा सुगन्ध हुन्थ्यो। सुन त यहाँका ६ हजार क्रियाशील सदस्य नै हुन्। यहाँको माटो नै हो। कांग्रेसका प्रतिबद्धताप्रतिको यहाँका जनताको लगाव नै सुन हो। तर, शेरबहादुर दाइको आगमन भयो भने सुगन्ध थप्ने काम हुन्छ। थप राम्रो गर्छ।

भिडियो

salt training

कमेन्ट गर्नुहोस्