
रूसले मेसेजिङ एपहरूमा कडाइ बढाउँदै लगेको आरोप लगाइएको छ । व्हाट्सएपले एक विज्ञप्ति जारी गर्दै रूसले देशभित्र व्हाट्सएपलाई पूर्ण रूपमा ब्लक गर्ने प्रयास गरेको जनाएको हो ।
मेटा स्वामित्वको व्हाट्सएपका अनुसार यस कदमको उद्देश्य रूसका १० करोडभन्दा बढी प्रयोगकर्तालाई सरकारद्वारा नियन्त्रित निगरानी एपतर्फ धकेल्नु हो ।
रूसी नियामकहरूले सुरक्षा कमजोरीको कारण देखाउँदै टेलिग्रामको पहुँच पनि थप सीमित गरेका बेला यो कदम चालिएको हो । रूसमा टेलिग्रामका प्रयोगकर्ताको संख्या पनि व्हाट्सएप बराबर नै रहेको अनुमान गरिएको छ ।
यस विषयमा बीबीसीले रूससँग प्रतिक्रिया मागेको भए पनि कुनै जवाफ प्राप्त भएको छैन ।
व्हाट्सएपले आफ्नो विज्ञप्तिमा भनेको छ,‘१० करोडभन्दा बढी प्रयोगकर्तालाई निजी र सुरक्षित संवादबाट अलग गर्ने प्रयास पछाडि फर्किने कदम हो र यसले रूसमा मानिसहरूको सुरक्षा घटाउनेछ ।’
कम्पनीले थपेको छ, ‘हामी प्रयोगकर्ताहरूलाई जोडिराख्न सम्भव सबै प्रयास जारी राख्नेछौँ ।’