
पूर्वमन्त्री डा. महावीर पुनले आफ्नो बारेमा गरिएको टिप्पणीका आधारमा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई गाली नगर्न आग्रह गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा रहेका उनले भिडियो सन्देशमार्फत नेतृ झाँक्रीलाई गाली नगर्न आग्रह गरेका हुन् । झाँक्रीले भने जस्तै आफू बेकुफ नै भएको उनले स्वीकार गरेका छन् ।
'उनले भनेको कुरा पनि ठीकै हो के, म बेकुफै हो के,' उनले भनेका छन्, 'अब बेकुफ नभएको भए कहाँ यसरी नेपालमा डुल्थेँ त नि? अब अहिलेसम्म जागिर गरेको छैन, यत्रो अमेरिकामा पढेको मान्छे। जागिर नगर्ने मान्छे बेकुफ नभएर के हुन्छ त? अनि केही व्यापार-व्यवसाय गर्न जान्दै जान्दैन यो बेकुफले । अनि चाहिँ अब खेती-किसान गर्न केही जानेकै छैन। त्यही डुल्न मात्रै जानेको छ। गाउँ-गाउँ डुल्ने, गाउँलेहरूलाई सघाउँछु भन्ने, गाउँलेहरूले जे दिन्छन् खाने, जहाँ सुताउँछन् सुत्ने। अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ?'
डा. पुनप्रति लक्षित झाँक्रीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । त्यही भिडियोका आधारमा कसैलाई पनि गाली नगर्न उनले आग्रह गरेका हुन् । 'ल है साथी हो, कसैले गाली नगर्नुहोला । मेरो विनम्र अनुरोध छ । साँच्चै हो, मैले ढाँटेको छैन,' उनले भनेका छन् ।
उनको आग्रह, उनकै शब्दमा
ल, नेपालभरिका, संसारभरिका दाजुभाइ, दिदीबहिनीहरू
सुन्नुहोस्, महावीर पुनको अनुरोध सुन्नुहोस् ।
अब रामकुमारी झाँक्री, सानो बहिनीले चाहिँ अब उनले चाहिँ मेरो बारेमा केही भनेकी थिइन् । अब उनलाई धेरै गाली नगर्नु बिचरा ! बिचरालाई चाहिँ फेरि चाहिँ अब तनाव होला। उनलाई चाहिँ माफ गर्नु। केही नभन्नु उनलाई।
उनी जानिनन् त अब, भनिन्। अब बोल्नु पर्ने कुरा के हो, कसो हो भन्ने कुरा नजानेपछि बोलिन्। जानिनन्। त्यसैले उनलाई चाहिँ कसैले गाली नगर्नुहोला बिचरालाई।
अब उनले भनेको कुरा पनि ठीकै हो के, म बेकुफै हो के।
अब बेकुफ नभएको भए कहाँ यसरी चाहिँ नेपालमा चाहिँ आएर डुल्थेँ त नि? अब अहिलेसम्म जागिर गरेको छैन, यत्रो अमेरिकामा पढेको मान्छे। जागिर नगर्ने मान्छे बेकुफ नभएर के हुन्छ त? अनि केही व्यापार-व्यवसाय गर्न जान्दै जान्दैन यो बेकुफले। अनि चाहिँ अब खेती-किसान गर्न केही जानेकै छैन। त्यही डुल्न मात्रै जानेको छ। है, गाउँ-गाउँ डुल्ने, गाउँलेहरूलाई सघाउँछु भन्ने, गाउँलेहरूले जे दिन्छन् खाने, जहाँ सुताउँछन् सुत्ने। अब यस्तो मान्छे बेकुफ नभएर के हुन्छ?
अनि अर्को कुरो, त्यत्रो सरकारले गर्नुपर्ने काम, राष्ट्रिय आविष्कार केन्द्र जस्तो अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र खोल्छु भन्ने उफ्रिने त्यो बेकुफ, महाको बेकुफ हो त्यो चाहिँ मान्छे। अनि त्यत्रो कवाडी भएको ३० वर्षको सम्म नचलेको कवाडी कारखाना, त्यो वीरगञ्जको कृषि औजार कारखानालाई किताब बेचेर चलाउँछु भन्ने मूर्खताका बेकुफ हो त त्यो त।
त्यो जस्तो बेकुफ मान्छेलाई बेकुफ भनिन्, एकदम ठीक भनिन् है! ल, हाम्रो झाँक्री बहिनीलाई कसैले केही नगर्नु है। अब हुँदा-हुँदा त अब, ल, केही राजनीति गर्न र पनि नजान्ने मान्छे, उहाँ सांसद भएर चुनाव उठेर सांसद हुन्छु भनेर उठेको छ यो। यस्तो बेकुफ मान्छे पनि, के रे यस्तो मान्छेलाई बेकुफ नभनेर के भन्ने त? एकदम ठीक भनेकी छिन्। है? उहाँ त, उहाँ त धेरै जान्ने, सुन्ने, जत्रो विद्वान बहिनी हुन् नि त। म जस्तो बेकुफ कहाँ छिन् र?
ल है साथी हो, कसैले गाली नगर्नुहोला। ल धन्यवाद छ। मेरो विनम्र अनुरोध हो है त। ल, ल साँच्चै हो, मैले ढाँटेको छैन।